काठमाडौं । सरकारले हतारमा युरो ६ लागू गरेको अटो व्यवसायीहरूले गुनासो गरेका छन् । सरोकारवालाहरुसँग छलफल पनि नगरी र समय पनि नदिई युरो ६ लागू गरिएको गुनासो गरेका छन् ।
नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करन चौधरीले सरकारले युरो ६ लागु गर्न हतार गरेको बताएका छन । काठमाडौंको भृकुटीमण्डपमा मंगलबार देखि सुरु भएको नाडा अटो शोको उद्घाटन गर्दै अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । ‘सरकारले युरो ६ मापदण्ड लागू गर्नु पहिला केही समय दिएको भए हुन्थ्यो । उसो त युरो ६ मापदण्ड लागू गर्नु अनिवार्य नै थिएन । यद्यपि समय दिएको भए हुन्थ्यो,’ उनले भने । युरो ६ लागू हुनु सकारात्मक कुरा हो । तर, सरकारले व्यवसायीहरूसँग छलफल गर्नुपर्थ्यो ।
यसैगरी नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युरो ६ लागू गर्नु पहिला सरकारले व्यवसायीहरूसँग छलफल गर्नुपर्ने बताएका छन् । ‘सरकारले एक्कासि मापदण्ड लागू गर्दा गाडी अर्डर गरिसकेका व्यवसायी र नेपालमै एसेम्बलिङ गर्दै गरेका उद्योगलाई असर परेको छ,’ उनले भने ।
व्यवसायीले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कहि कतै चित्त नबुझ्ने खालको नरहेको बताए । उनका अनुसार कसैले सन्तुष्टि नहुने कसम खाएको भए सो व्यक्तिलाई मात्र सरकारको नीति चित्त नबुझेको उनको भनाई छ । उनले बजेट, मौद्रिक नीतिले व्यवसायमा सकारात्मक प्रभाव पार्ने विषय समेटिएको बताए ।
आर्थिकन्यूज