शीर्षकहरू

बीवाईडी एट्टो २, हालसम्मकै सार्वजनिक पहुँचयोग्य एसयूभी

बीवाईडी एट्टो २, हालसम्मकै सार्वजनिक पहुँचयोग्य एसयूभी

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंकले अल–न्यु बीवाईडी एट्टो २ सार्वजनिक गरेको छ । सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रुपमा रहेको सो ईभीलाई नाडा अटो शो २०२५ मा भव्य समारोहका बीच सार्वजनिक गरिएको हो । 

उक्त अनावरण समारोह सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एमबेसडर हरिबंश आचार्य तथा ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

बीवाईडी एट्टो २ ले सहज र सबैका लागि उपयुक्त मूल्यमा उपलब्ध हुने र सडकमा एसयूभीका साथ उपस्थित हुन चाहने युवा व्यवसायी र परिवारको जीवनशैलीलाई लक्षित गरी कम्प्याक्ट डिजाइन, सहज ह्याण्डलिङ र एसयूभीको व्यवहारिकता संयोजन गरेको छ । यसमा बीवाईडीको प्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर उपलब्ध छ । जसले गर्दा यो गाडीले कम्प्याक्ट एसयूभी प्याकेजमा पनि ठूलो कारको अनुभूति दिलाउँने कम्पनीले जनाएको छ ।  

बीवाईडी एट्टो २ हाल नेपालमा ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध छ । जसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जर समेत समावेश छ । कम्प्याक्ट आकारमा दमदार एसयूभी डिजाइन कम्प्याक्ट र भर्सटाइल डिजाइनमा उपलब्ध बीवाईडी एट्टो २ मा दमदार एसयूभीको सुविधा उपलब्ध छ । 

४,३१० एमएम लम्बाइ, १,८३० एमएम चौडाई, १,६७५ एमएम उचाई र २,६२० एमएम ह्विलबेस सहित २०० एमएम ग्राउन्ड क्लियरेन्स भएकोले यो शहर तथा शहरोन्मुख सबै नेपाली सडकका लागि उपयुक्त छ । 

बीवाईडी एट्टो २ मा ५१।१३ किलोवाटको क्रान्तिकारी ब्लेड ब्याट्री छ, जसले सिंगल चार्जमा डब्लुएलटीपी अनुसार ३४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ। यसमा भएको १०० किलोवाटको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले २९० एनएम टर्क उत्पादन गर्छ र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै लिन्छ । 
 
यसमा भएको डायनामिक एक्स्टेरियर डिजाइनमा फुल एलईडी हेडलाइट, एलईडी डे टाइम रनिङ लाइट, फ्लोटिङ रूफलाइन र एलईडी टेललाइट बार समावेश छ। यसकारण नै यो गाडी सडकमा बोल्ड  र युथफुल देखिन्छ ।