शीर्षकहरू

साउनमा बाणिज्य बैंकको निक्षेप ५२ अर्बले घट्दा कर्जा ११ अर्बले घट्यो

साउनमा बाणिज्य बैंकको निक्षेप ५२ अर्बले घट्दा कर्जा ११ अर्बले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिला महिना साउनमा बाणिज्य बैंकहरुकोे हुने निक्षेप संकलनमा कमी आएको छ । गत असार महिनाको तुलनामा साउनमा महिनामा निक्षेप संकलन ५२ अर्ब रूपैयाँले घटेको छ ।

नेपाल बैकर्स संघले प्रकाशित गरेको तथ्यांक अनुसार साउन महिनामा २० वटा बाणिज्य बैंकमा ६४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । गत असार महिनामा भने बैंकहरुमा ६५ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । 

आर्थिक वर्षको सुरुवातमा निक्षेप संकलन स्वभाविक रुपमा कम हुने बैंकरहरु बताउँछन् । नेपालको असारे विकास प्रवृत्तिका कारण आर्थिक वर्षको अन्तिममा सरकारको पूँजीगत खर्च बढी हुन्छ । फलस्वरुप अन्य महिनाको तुलनामा असार महिनामा बैंकहरुमा निक्षेप संकलनको चाप बढी हुन्छ । तर, साउन महिना भने अघिल्लो आवमा निर्माण सम्पन्न भएका परियोजनाको भुक्तानी र राफसाफ गर्नुपर्ने भएकाले बैंकहरुबाट निक्षेप बाहिरिन्छ । यस्तै, साउन महिनामा सरकारको बजेट खर्च सुरु नै भएको हुँदैन । यो महिना योजना निर्माणमा नै वित्ने हुँदा निक्षेप संकलन घट्ने बैंकहरुको दाबी छ ।

साउन महिनाको पहिलो साता अर्थात् साउन दुई गतेसम्म बाणिज्य बैंकहरुमा १९ अर्ब ७० करोड रुपैयाँले निक्षेप संकलन घटेको थियो । दोस्रो साता अर्थात् साउनको ९ गतेसम्म ३७ अर्ब ५६ करोडले निक्षेप घटेको संघको तथ्यांकमा उल्लेख छ ।

साउनको १६ गतेसम्म आइपुग्दा निक्षेप संकलन एक अर्ब १७ करोडले बढेको थियो । साउनको २३ गतेसम्ममा १८ अर्ब ९० करोडले बढेको निक्षेप संकलन साउनको ३१ गतेसम्म १५ अर्ब तीन करोड रुपैयाँले घटेको थियो । 

यस्तै, साउनमा बाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि ११ अर्ब रुपैयाँले घटेको छ । संघको तथ्यांक अनुसार साउनमा बैंकहरुले ४९ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असारमा भने बैंकहरुले ४९ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

साउन महिनाको पहिलो दुई दिनमा कर्जा प्रवाह २३ अर्ब ७९ करोड रुपैयाँले घटेको थियो  । साउन ९ गतेसम्म ३७ अर्ब ५६ करोडले घटेको थियो । साउनको १६ गतेसम्म ६ अर्ब ३९ करोडले कर्जा प्रवाह बढेको तथ्यांकमा उल्लेख छ । साउनको २३ गतेसम्म भने १२ अर्ब ३९ करोडको बढेको बाणिज्य बैंकहरुको कर्जा साउनको ३१ गतेसम्म भने ४ अर्ब १९ करोडले बढेको थियो । 

बैंकहरुको सिडी रेसियो ७५.८३ प्रतिशत छ ।