काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा बाणिज्य बैंकहरुले शेयर कारोबार तथा विदेशी मुद्रा सटहीबाट नौ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ खुद कारोबार आम्दानी गरेका छन् । बाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आवको चौथौ त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५३.५७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकहरुले ६ अर्ब ११ करोड १ लाख रुपैयाँ यस्तो आम्दानी गरेका थिए ।
खुद कारोबार आम्दानी भनेको बैंकहरुले गरेको व्यापार र कारोबारबाट कमाएको कुल नाफाबाट लागत र खर्चहरू घटाएपछि बाँकी रहेको आम्दानी हो । बैंकहरुले स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको शेयर खरिद गरेर, विदेशी मुद्रा वा अन्य वित्तीय उपकरणहरूको किनबेच गरेर पनि यस्तो आम्दानी गर्न सक्छन् । यस्तो कारोबारबाट प्राप्त भएको कुल नाफाबाट कारोबार गर्दा लागेको लागत जस्तै, शुल्क, कमिशन, घाटा लगायतको खर्च घटाएपछि बाँकी बचेको रकमलाई खुद कारोबार आम्दानी भनिन्छ । बैंकहरुले व्यापार गरेर प्राप्त गरेको आम्दानी मापन गर्ने यो महत्वपूर्ण सूचक पनि हो ।
गत आवमा बैंकले प्राप्त गरेको खुद कारोबार आम्दानीको रकमको आधारमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै आम्दानीको गरेको तथ्यांकले देखाएको छ । बैकले गत आवमा ९१ करोड ६८ लाख रुपैयाँ खुद कारोबार आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.८५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ५८ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवमा ७६ करोड ६० लाख रुपैयाँ खुद कारोबार आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६३.१५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ४६ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
नबिल बैंकले ७६ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४३.१३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ५३ करोड ६६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।
यस्तै, स्टाण्डर्ड चार्टड बैंकले गत आवमा ७२ करोड १० लाख रुपैयाँ खुद कारोबार आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा यो रकम ६.०८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ६७ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै हिमालयन बैंकले ६३ करोड २५ लाख रुपैयाँ खुद कारोबार आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४९.९५ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४२ करोड १८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
अघिल्लो आवको तुलनामा गत आवमा खुद कारोबार आम्दानी वृद्धि भएको प्रतिशतको आधारमा कृषि विकास बैंक अग्रपंक्तिमा छ । गत आव बैंकको खुद कारोबार आम्दानी करिब १० गुणाले बढेको छ । गत आवमा बैंकले ५७ करोड ८४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ ।
राष्ट्रिय बाणिज्य बैंकको खुद कारोबार आम्दानी दुई गुणा भन्दा धेरैले बढेको छ । गत आवमा बैंकले १२ करोड ९४ लाख रुपैयाँ खुद कारोबार आम्दानी गरेको छ । यस्तै, सिटिजन बैंकको ९३.९९ प्रतिशत, सिद्धार्थको ७६.८६ प्रतिशत र नेपाल एसविआई बैंकको ७३ं.३९ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष वित्तीय प्रणालीमा तरलता अधिक भएपनि कर्जा विस्तार भने हुन सकेन । यद्यपी शेयर र विदेशी मुद्रा कारोबार गरेर बैंकहरुले राम्रो आम्दानी गरेका छन् । गत वर्ष विदेशी मुद्रा सटही मूल्य उच्च दरले वृद्धि भएपछि बैंकहरुको खुद कारोबार आम्दानी थप वृद्धि भएको हो ।

आर्थिकन्यूज