शीर्षकहरू

अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक

अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक

काठमाडौं । सरोकारवालाहरूले अटोमोवाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक रहेको बताएका छन् ।  काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले कर्जा प्रवाह गर्न सबैभन्दा सुरक्षित क्षेत्र अटोमोबाइल क्षेत्र रहेको बताए । साथै, यस क्षेत्रको थप विकासका लागि स्थिर कर्जा नीति आवश्यक रहेको उनीहरुको भनाइ छ । 

नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक तथा नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष कृष्ण दुलालले स्थिर कर्जा नीति आवश्यक रहेको बताए । नाफिजकी अध्यक्ष मेनुका कार्कीले यो छलफलले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा  रहेको बताइन् । 

गुरु प्रसाद पौडेल, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताए । बैंक तथा वित्तिय संस्थाले मात्रै नभई हायर पर्चेज कम्पनीहरूले पनि यस क्षेत्रमा लगानी गर्ने गरेको उनको भनाइ छ । 

‘हामीले यो क्षेत्रलाई अनुत्पादक भनेका छैनौ । हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिनुले पनि एटोमोवाईल्स क्षेत्रलाई प्राथमिकतामा राखेको पुष्टी गर्छ,’ उनले भने  । उनले २०७० यता हायर पर्चेज कम्पनी मार्फत अटो क्षेत्रमा कर्जा प्रवाह गरिरहेको उल्लेख गरे । १० वटा हायर प्रचेज कम्पनीले २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको उनको भनाइ रहेको छ । 

‘अटो क्षेत्र अनुत्पादक क्षेत्र होइन । सरकारले अनुत्पादक क्षेत्र मानेको भए विशिष्टिकृत कम्पनी स्थापना गर्दैनथ्यो । कुनैपनि व्यक्तिले गाडी खरिद गर्दा ४० प्रतिशत नगद बुझाउँछ र ६० प्रतिशत ऋण पाउँछन् । विदेशमा समेत ६० देखी ८० प्रतिशतसम्म लोन टु पर्चेज (एलटिपी) रेसियो लगाएका छन्,’ उनले भने, ‘नेपालमा व्यक्तिगत र व्यवसायीक गाडीमा फरक एलटिपी लगाउन सकिन्छ । व्यक्तिगत गाडी खरिद गर्न जाँदा ब्याजदर कम छ । तर, सार्वजनिक यातायातमा बढी जोखिम रहेको हुन्छ । त्यसैले बैंकहरुले निजी गाडीको तुलनामा सार्वजनिक यातायातमा बढी व्याज लगाउँछन् ।’

नेपालमा ०४१÷०४२ अघि अर्थात् निजी बैंक स्थापना नहुँदासम्म अटो कर्जा प्रवाह हुने अवस्था नरहेको उनले स्मरण गरे । ‘गाडी खरिद गर्नको लागि त ऋण लिनै हुँदैन भन्ने थियो । अहिले त्यसको उल्टो भएको छ । गाडी किन्न पुरै नगद दिने होइन, किस्ताबन्दीमा दिनुपर्छ भन्ने मान्यता स्थापित भएको छ । कनेक्टीभिटी आावश्यकता नै छ भनेर बैंकहहरुलाई कर्जा प्रवाहमा सहज बनाएको छ,’ उनले भने, ‘अहिलेको मौद्रिक नीतिमा हायरपर्चेज कर्जा सहज बनाउने उल्लेख गरेको छ । हायरपर्चेज कर्जा दिने कम्पनीको विषयमा अध्ययन गरेर व्यवस्थित र प्रोत्साहन गर्छ । राष्ट्र बैंकले अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्र भनेको छैन ।’ 

नेपालमा उत्पादन गर्ने उद्योगहरुलाई बैंकहरुले सहजरुपमा कर्जा दिने गरेको उनले बताए । उत्पादनमुलक उद्योगले २ करोड रूपैेयाँसम्म कर्जा लिदाँ आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम थपेर व्याजदर लिने गरेको उनको भनाइ छ । उनले भने, ‘व्यवसायीले व्याजदर नबढाए हुन्थ्यो भन्ने जिज्ञासा देखिएको छ । नेपालमा फिक्स्ड र परिवर्तन हुने कर्जा रहेका छन् ।’

बाबुराम शर्मा,सीईओ, भेन्चर हायर पर्चेज
भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ( बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरुबाट अटोमोवाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताए ।  काठमाडौँमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर कर्जा प्रवाह गरेको उनको भनाइ छ । 

उनले हायर पर्चेज कम्पनीहरूलाई कर्जा प्रवाहमा सहजिकरण गरिदिन आग्रह पनि गरे । नेपालमा स्थापित कम्पनीले विक्री गर्ने गाडीमा ऋण दिदाँ समस्या कम आउने गरेको पनि उनले बताए । अहिले विद्युतीय गाडीको माग बढी भएकाले त्यसका लागि कर्जाको माग बढी हुने गरेको उनको भनाइ छ । 

अटो क्षेत्रमा कर्जा प्रवाह गर्दा विक्री पछिको सेवा र नेपालमा भएको सर्भिस लगायतका बिषयलाई पनि केन्द्रमा राखिने उनले बताए । यसैगरि हायर पर्चेज क्षेत्रमा खराज कर्जाको समस्या न्यून रहेको उनको भनाइ छ ।

कृष्ण दुलाल, पूर्व अध्यक्ष, नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल
नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक कृष्ण दुलालले अटो क्षेत्रको भविष्य उज्जवल रहेको बताए । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका दुलालले यस क्षेत्रमा लगानी गरेपछि चिन्ता लिनुनपर्ने बताए ।