शीर्षकहरू

३ दिनमा ७८ हजारले अवलोकन गरे नाडा अटो शो

३ दिनमा ७८ हजारले अवलोकन गरे नाडा अटो शो

काठमाण्डौं । नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । भदौ ३ गतेदेखि सुरु भएको उक्त शोमा ३ दिनमै ७८ हजार ५१३ अवलोकनकर्ता सहभागी भइसकेको नाडाले जनाएको छ ।

यो तथ्यांकले नेपाली जनतामा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गर्दछ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिएको बताएका छन् । उनले भने, 'यसले हाम्रो अपेक्षा अझ उचालिएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ ।’

उनका अनुसार नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव हो ।

भदौ ८ गतेसम्म सञ्चालन हुने उक्त शोमा ७५ भन्दा धेरै ब्राण्डहरुले सहभागीता जनाएका छन् । जसमध्ये चारपांग्रेका १८ ब्राण्ड, दुईपांग्रेका ४ ब्राण्ड र कमर्सियल भेहिकलका १३ ब्राण्ड सहभागी छन् । अन्य अटोमोटिभ कम्पनेन्टका ४० ब्राण्डहरु सहभागी छन् ।