शीर्षकहरू

प्राधिकरणले शंसोधन सहित पुर्नलेखन गर्यो सम्पति शुद्धीकरण निर्देशन, बीमकको सञ्चालक र सिइओ पनि निगरानीमा

प्राधिकरणले शंसोधन सहित पुर्नलेखन गर्यो सम्पति शुद्धीकरण निर्देशन, बीमकको सञ्चालक र सिइओ पनि निगरानीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८२ शंसोधन सहित पुर्नलेखन गरेको छ । नेपाललाई फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) को ग्रे लिस्टबाट निकाल्न सहयोग पुग्ने गरी विश्व बैंक, अर्थमन्त्रालय र प्राधिकरणबीचको छलफल गरी निर्देशन शंसोधन सहित पुर्नलेखनगरिएको हो ।

राष्ट्रिय रणनीति, सम्पति शुद्धीकरण सम्बन्धी बनेको नयाँ ऐन र नियमावली अनुसार सम्पति शुद्धीकरण सम्बन्धी निर्देशन परिमार्जन गरिएको प्राधिकरणले जनाएको छ। निर्देशनलाई भदौ चार गते प्राधिकरणको सञ्चालक समितिले पारित गरेको हाे।

शंसोधन सहित शुद्धीकरण गरिएको निर्देशन बुँदा नम्बर ३, १५ र १८ मा फेरबदल गरिएको प्राधिकरणले जनाएको छ । निर्देशनको बुँदा नम्बर ३ मा नीति तथा कार्यविधि बनाई लागू गर्नुपर्ने भन्ने व्यवस्था गरिएको छ । बुँदा नम्बर १५ मा आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था गर्नुपर्ने भन्ने व्यवस्था छ भने बुँदा नम्बर १८ मा प्रतिवेदन पेश गर्नुपर्ने भन्ने व्यवस्था गरिएको छ । 

बीमकको सञ्चालकदेखि सिइओ पनि निगरानीमा

नेपाल बीमा प्राधिकरणले सम्पति शुद्धीकरण निर्देशन शंसोधन गर्दै बीमकको सञ्चालक देखि प्रमुख कार्यकारी अधिकृतलाई पनि निगरानीमा राख्ने भएको छ । निर्देशनको बुँदा नम्बर ३ मा बीमकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतसँग गर्ने कार्यसम्पादन सम्झौतामा सम्पति शुद्धीकरण निवारण सम्बन्धी प्रचलित कानुनको पालना गराउनु पर्ने व्यवस्था थपिएको छ । 

यस्तै, प्रमुख कार्यकारी अधिकृतले कार्यान्वयन अधिकारीसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ । कार्यान्वयन अधिकारीले बीमकका विभाग/शाखासँग विवरण उपलब्ध गराउने सम्बन्धमा सम्झौता गर्ने र विभाग/शाखाले समेत बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकसँग आफ्नो ग्राहकको विवरण सम्पुष्‍टि गर्ने कागजातबारे सम्झौता गर्ने व्यवस्था गरेको छ ।

उच्च पदस्थ व्यक्ति तथा सूचीकृत व्यक्तिको स्क्रिनिङ गर्ने व्यवस्था गर्नुपर्नेछ । बीमकको सञ्चालक, आधारभूत शेयरधनी र बीमकको प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीको उपयुक्तताको परीक्षण गर्ने पद्धति राख्नुपर्नेछ ।

सम्पति शुद्धीकरण निवारण सम्बन्धी संस्थागत क्षमता अभिवृद्धि गर्ने व्यवस्था, आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी नियन्त्रण सम्बन्धी व्यवस्था गर्नुपर्नेछ । ग्राहक पहिचान विवरण तथा बीमाशुल्क भुक्तानी गर्ने आर्थिक हैसियत पुष्टि हुने गरी पेश गर्नुपर्ने आम्दानीको श्रोत बारेको मापदण्ड बनाउनु पर्नेछ ।

सम्पति शुद्धीकरण सम्बन्धी छुट्टै विभाग खडा गर्नुपर्ने

बीमकहरुले सम्पति शुद्धीकरण सम्बन्धी छुट्टै विभाग खडा गर्नुपर्ने भएको छ । प्राधिकरणले सम्पति शुद्धीकरण निर्देशनको बुँदा नम्बर १५ मा थप गर्दै बीमकले व्यवस्थापनस्तरको कार्यान्वयन अधिकारी प्रमुख रहने गरी एक अलग्गै सम्पति शुद्धीकरण विभाग खडा गर्नुपर्ने व्यवस्था गरेको छ ।

कार्यान्वयन अधिकारीको विवरण प्राधिकरण तथा वित्तीय जानकारी इकाईमा पठाउनु पर्नेछ । यस्तो अधिकारी नियुक्ति गर्दा नियमनकारी निकायको वा बीमकको सञ्चालक वा आधारभूत शेयर धनी वा उच्च व्यवस्थापनका कर्मचारी वा निजको एकाघर परिवारको सदस्य नरहेको यकिन गर्नुपर्नेछ । 

कार्यान्वयन अधिकारीको काम, कर्तव्य तथा अधिकारी तोक्नुपर्नेछ । ऐन नियमावली र निर्देशन बमोजिमको कार्य प्रभावकारी बनाउन सम्पर्क व्यक्तिको रुपमा काम गर्नुपर्नेछ । ऐन, नियमावली र निर्देशन बमोजिमको कार्य प्रभावकारी रुपमा गर्न नीति, कार्यविधि र प्रणालीको मस्यौदा तर्जुमा गरी सञ्चालक समितिमा पेश गर्नुपर्नेछ ।

बीमकको पदाधिकारी तथा कर्मचारी, अन्य विभाग÷शाखा, मध्यस्थकर्ताबाट ऐन, नियमावली र यस निर्देशन बमोजिम प्राप्त अस्वभाविक वा शंकास्पद कारोबार सम्बन्धी सूचना विश्लेषण तथा जाँचबुझ गर्ने र आफ्नो कार्य सम्पादन गर्न अन्य विभाग वा अधिकारीसँग परामर्श लिन वा आवश्यक जुनसुकै कागजात, विवरण वा सूचना निर्बाध रुपमा जुनसुकै बखत प्राप्त गर्ने व्यवस्था गर्नुपर्नेछ ।

सरोकारवालाबाट ऐन, नियमावली तथा यस निर्देशन पालना भए नभएको अनुगमन गरी परिपालन प्रतिवेदनमा उल्लेख गर्नुपर्नेछ । कार्यान्वयन अधिकारीले ऐन नियमावली तथा यस निर्देशन बमोजिमको विषय कार्यान्वयन गर्ने सिलसिलामा माग गरेको आवश्यक सूचना, जानकारी, कागजात, अभिलेख वा विवरण उपलब्ध नगराएमा बीमकका त्यस्ता पदाधिकारी वा कर्मचारीलाई विभागीय कारबाहीको लागि सञ्चालक समितिमा सिफारिश गर्नुपर्नेछ ।

आवश्यक परे कारबाहीको गरी सोको जानकारी प्राधिकरणलाई गराउनुपर्नेछ । कार्यान्वयन अधिकारी कम्तीमा तीन महिनामा एक पटक ऐन, नियमावली र यस निर्देशन बमोजिम भए गरेका काम कारबाहीको अनुगमन गरी सुधार गर्नुपर्ने विषय समेत समेटिएको प्रतिवेदन सञ्चालक समिति समक्ष पेश गर्नुपर्नेछ । 

निर्देशनको पालना प्रभावकारी बनाउन आफ्नो आधारभूत सेयरधनी, सञ्चालक समितिका सदस्य उच्च व्यवस्थापन र कर्मचारीहरूलाई संस्थागत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । संस्थाको चुक्ता पूँजीको एक प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व भएका शेयर धनी, सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापनलाई यस विषयमा गाम्भिर्यताका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । कर्मचारीको हकमा क्षमता अभिवृद्धि/तालिम कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । 

कार्यान्वयन अधिकारी र विभागको कार्यमा प्रत्यक्ष तथा नियमित रुपमा संलग्न अन्य कर्मचारीहरूलाई सम्बन्धी विषयमा तालिम कार्यक्रममा सहभागी गराउनुपर्नेछ । आतङ्ककारी कार्य र आम विनाशकारी हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानीसँग सम्बन्धित विषयहरूको पहिचान, अनुगमन तथा प्रतिवेदनका लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्नेछ । बीमकको सञ्चालक समिति, कार्यकारी प्रमुख, कर्मचारी तथा बीमा मध्यस्थकर्ता तथा अभिकर्ताको लागि सदाचार नीति तर्जुमा गरी लागू गर्नुपर्नेछ ।

बीमकले वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्ने सीमा तथा शंकास्पद कारोबार गतिविधिको प्रतिवेदन तथा प्राधिकरणमा पेश गर्ने प्रतिवेदनको लागि बीमकको कोर इन्स्योरेन्स प्रणाली वा अन्य विद्युतीय प्रणालीमा ग्राहकका अभिलेख वा विवरण अद्यावधिक गरी पेश गर्नुपर्नेछ । बीमकले सम्पति शुद्धीकरण सम्बन्धमा प्रचलित कानून बमोजिम भए गरेको काम कारबाहीको आन्तरिक लेखापरीक्षण गर्ने व्यवस्थाको गर्नुपर्नेछ । 

बुदा नम्बर १८ मा बीमकले वार्षिक परिपालन प्रतिवेदन बमोजिमको परिपालना परीक्षकबाट सम्परीक्षण गराई आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र प्राधिकरणमा पेश गर्नुपर्नेछ । वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिना भित्र प्राधिकरणमा पेश गर्नुपर्नेछ ।

बीमकले सेवा लिएका लेखापरीक्षक, बीमाङ्की, बीमा मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक तथा परामर्शदाताको विवरण अद्यावधिक गरी प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले एक महिना भित्र प्राधिकरण समक्ष पेश गर्नुपर्नेछ । 

बीमकले ऐन, नियमावली तथा निर्देशन बमोजिम गरेको काम कारबाहीको त्रैमासिक विवरण सहितको प्रतिवेदनको ढाँचामा तयारी गरी त्रैमासिक अवधि समाप्त भएको मितिले ३० दिन भित्र सञ्चालक समितिको प्रतिक्रिया सहित प्राधिकरणमा पेश गर्नुपर्नेछ । बीमकले प्राधिकरणबाट माग गरेको अन्य प्रतिवेदन वा जानकारी उपलब्ध गराउनु पर्नेछ ।