काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ बाणिज्य बैंकहरुले सरकारलाई झण्डै ३३ अर्ब रुपैयाँ आयकर बुझाएका छन् । नेपालमा सञ्चालित २० बाणिज्य बैंकहरुले आम्दानी गरे बापतको कर सरकारलाई बुझाएका हुन् ।
बैंकहरुले प्रकाशित गरेको गत आवको चौथौ त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार बैंकहरुले गत आवमा ३२ अर्ब ८० करोड १४ लाख रुपैयाँ आयकर बुझाएका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३ं.५६ प्रतिशत (६ अर्ब २५ करोड २३ लाख ५६ हजार रुपैयाँ) ले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकहरुले २६ अर्ब ५४ करोड ८० लाख रुपैयाँ आयकर बुझाएका थिए ।
गत वर्ष कुमारी, नबिल, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमई र एभरेष्ट बैंकले दुई अर्ब भन्दा धेरै कर बुझाएका छन् । तथ्यांक अनुसार कुमारी बैंकले सबैभन्दा धेरै तीन अर्ब ६६ करोड ४९ लाख रुपैयाँ आयकर बुझाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा तीन गुणा भन्दा धेरैले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकहरुले ९९ करोड ४३ लाख रुपैयाँ आयकर बुझाएको थियो ।
नबिल बैंकले तीन अर्ब २१ करोड ८० लाख रुपैयाँ आयकर बुझाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३४.१४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले दुई अर्ब ३९ करोड ८९ लाख रुपैयाँ आयकर बुझाएको थियो ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब ८५ करोड ३९ लाख रुपैयाँ सरकारलाई आयकर बुझाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८३.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ५५ करोड ५८ लाख रुपैयाँ आयकर बुझाएको थियो ।
ग्लोबल आइएमई बैंकले दुई अर्ब ५७ करोड ९२ लाख रुपैयाँ सरकारलाई आयकर बुझाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ५.५२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले दुई अर्ब ७२ करोड ९९ लाख रुपैयाँ आयकर बुझाएको थियो ।
एभरेष्ट बैंकले भने गत आवको दुई अर्ब ५३ करोड २७ लाख रुपैयाँ आयकर बुझाएको छ । यो रकम अघिल्लो आवको तुलनामा २९.२६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ९५ करोड ९३ लाख रुपैयाँ आयकर बुझाएको थियो ।
गत वर्ष प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन बैंक र एनआईसी बैंकले बुझाउने आयकर गत वर्षको तुलनामा घटेको छ । एनआईसी बैंकको बुझाउने आयकर सबैभन्दा धेरै ७७ं.५१ प्रतिशतले घटेको छ । गत आवमा बैंकले पाँच करोड ५१ लाख रुपैयाँ आयकर बुझाएको छ । अघिल्लो आव भने बैंकले २४ करोड ५२ लाख रुपैयाँ आयकर बुझाएको थियो ।
सिटिजनको आयकर २६ प्रतिशतले घटेको छ । गत आव बैंकले ५४ करोड ५१ लाख रुपैया आयकर बुझाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले ७३ करोड ६८ लाख रुपैयाँ बुझाएको थियो । प्रभु बैंकको आयकर ६७.३२ प्रतिशतले घटेको छ । बैंकले गत आवमा ८६ करोड २४ लाख रुपैयाँ आयकर बुझाएको थियो । अघिल्लो आवमा बैंकले दुई अर्ब ६३ करोड ८५ लाख रुपैयाँ आयकर बुझाएको थियो । नेपाल बैंक र कुमारी बैंकको आयकर भने दुई गुणा भन्दा धेरैले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाले आम्दानीको ३० प्रतिशत सरकारलाई कर बुझाउनु पर्ने व्यवस्था छ । गत वर्ष बैंकहरुको आम्दानी वृद्धि भएसँगै सरकारलाई बुझाउने कर पनि बढेको हो ।

आर्थिकन्यूज