शीर्षकहरू

संविधान संशोधन गर्नेगरी यो सरकार गठन गरिएकाे हाे, अब अगि बढ्नुपर्छ : गगन थापा

संविधान संशोधन गर्नेगरी यो सरकार गठन गरिएकाे हाे, अब अगि बढ्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधान संशोधन अब विलासिता वा विकल्प नभई देशको शासन प्रणालीमा देखिएका गम्भीर समस्या समाधानका लागि अनिवार्य आवश्यकता बनिसकेको बताएका छन् ।

स्थानीय नेतृत्व विकास मञ्चद्वारा आज आयोजित ‘नेपालमा सङ्घीयताको एक दशकः एक समीक्षा र भावि कार्यदिशा’ विषयक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले सङ्घीयताको कार्यान्वयन, निर्वाचन प्रणाली र शासकीय स्वरूपमा देखिएका कमजोरीलाई सम्बोधन गर्न प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । उनले तीन तहको सरकारको संरचना र अधिकारमा पनि स्पष्टता आवश्यक रहेको बताए ।

साथै नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिमा संविधान संशोधन गर्ने उल्लेख भएकाले अब यसलाई गम्भीरताका साथ अगाडि बढाउनुपर्ने महामन्त्री थापाको भनाइ थियो । उनले हालसकाे सत्ता समिकरण निर्माणकाे मुल एजेन्डा भनेकै संविधान शंसाेधन रहेकाले त्याे पुरा हुनुपर्नेमा जाेड दिए ।