काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कम्पनीहरूले बाणिज्य बैंकको मुद्दती निक्षेपमा ४४ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम कम्पनीहरूको कुल लगानीको ६७.८६ प्रतिशत हो । तर, कुनै पनि कम्पनीले घरजग्गामा भने लगानी गरेका छैनन् । नेपाल बीमा प्राधिकरणले भने निर्जीवन बीमा कम्पनीलाई बाणिज्य बैंकको मुद्दती निक्षेपमा कुल लगानीको कम्तीमा ३० प्रतिशत र घरजग्गामा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
निर्जीवन बीमा कम्पनीलाई लगानी गर्नका लागि प्राधिकरणले विभिन्न क्षेत्र तोकि दिएको छ । ती क्षेत्रमा लगानीको सीमा पनि तोकि दिएको छ । तर, बीमा कम्पनीहरूले बाणिज्य बैंकको मुद्दती निक्षेप सीमा भन्दा बढी लगानी गरेका छन् । अन्य क्षेत्रमा भने तोकिएको सीमा भन्दा कम लगानी गरेका छन् ।
निर्जीवन बीमाको दायित्व एक वर्षको हुन्छ । दाबी पर्यो भने एक वर्ष भित्रमा भुक्तानी गर्नुपर्छ । त्यसैले कम्पनीहरूले तत्काल रकम निकाल्न पाउने क्षेत्रमा लगानी गर्ने गरेको बीमकहरु बताउँछन् । ‘बैंकको मुद्दती निक्षेपमा लगानी आवश्यक परेको समयमा रकम निकाल्न सकिन्छ । तर, अन्य क्षेत्रमा लगानी गर्दा भने वित्तीकै रकम उपलब्ध नहुन सक्छ,’ एक बीमकले बताए ।
कम्पनीहरूले सरकार वा राष्ट्र बैंकको वण्ड, बचत पत्र र ऋणपत्रमा भने कम्पनीहरूले ६० करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम भनेको कुल लगानीको ०.९ प्रतिशत हो । यस क्षेत्रमा कम्पनीहरूले थोरैमा २० प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।
विकास बैंकको मुद्दती निक्षेपमा भने कम्पनीहरूले पाँच अर्ब २३ करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम कुल लगानीको ७.९ प्रतिशत हो । यो क्षेत्रमा भने कम्पनीहरूले कुल लगानीको बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने प्रावधान छ ।
फाइनान्स कम्पनीको मुद्दतीमा कम्पनीहरूले एक अर्ब १३ करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम कुल लगानीको १.७ प्रतिशत हो । यो क्षेत्रमा कम्पनीहरूले कुल लगानीको बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने प्रावधान छ ।
सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा कम्पनीहरूले चार अर्ब ४२ करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम कुल लगानीको ६.६७ प्रतिशत हो । यो क्षेत्रमा कम्पनीहरूले बढीमा १० प्रतिशत लगानी गर्न पाउँछन् ।
वित्तीय संस्थाको बण्ड डिबेन्चरमा दुई अर्ब ८९ करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम कुल लगानीको ४.३ प्रतिशत हो । यो क्षेत्रमा कम्पनीहरूले बढीमा २० प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।
उत्पादन क्षेत्रमा भने कम्पनीहरूले २५ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन् । यो रकम कुल लगानीको ०.३ प्रतिशत हो । नागरिक लगानी कोष र म्युअुचल फण्डमा एक अर्ब ७० लाख लगानी गरेका छन् । यो रकम कुल लगानीको १.५ प्रतिशत हो । अन्य संस्थापक शेयरमा दुई अर्ब ६० करोड रुपैयाँ, सूचीकृत नभएको पब्लिक कम्पनीमा एक करोड ४८ लाख र अन्य क्षेत्रमा ९२ करोड २२ लाख रुपैयाँ लगानी गरेका छन् ।

गत आवमा निर्जीवन बीमा कम्पनीको लगानी वृद्धि हुन सकेन । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आवमा कम्पनीहरूले ६७ अर्ब २३ करोड रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरूले ६६ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेका छन् ।
गत वर्ष ६ बीमा कम्पनीको लगानी घटेको छ । अन्यको भने बढेको छ । प्रभु इन्स्योरेन्स कम्पनीको लगानी आधाले घटेको छ । गत आवको कम्पनीले एक अर्ब १७ करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले दुई अर्ब २४ करोड लगानी गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको लगानी ५२ प्रतिशतले घटेको छ ।
यस्तै, दि ओरियण्टल, राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ प्रिमियर, आईजिआई प्रुडेन्सियल र युनाइटेड इन्स्योरेन्सको लगानी पनि घटेको छ ।
एनएलजी इन्स्योरेन्सको लगानी भने ३३ प्रतिशतले बढीको छ । गत आवका कम्पनीले तीन अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले दुई अर्ब ९१ करोड रुपैयाँ लगानी गरेको थियो ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको लगानी १७ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा सात अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ६ अर्ब २१ करोड रुपैयाँ लगानी गरेको थियो ।

आर्थिकन्यूज