काठमाडौं । पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदरका साथसाथै कर्जाको ब्याजदर पनि निरन्तर घटाउँदै लगेका छन् । विगत २८ महिना यतादेखि कर्जाको ब्याजदर ओरालो लाग्दै आएको छ । २०७९ फागुन यतादेखि कर्जाको ब्याजदर निरन्तर घटेको छ । २८ महिनाको अवधिमा कर्जाको भारित औसत ब्याजदर ५.१८ प्रतिशत विन्दुले घटेको छ ।
राष्ट्र बैंकका अनुसार २०७८ असारमा कर्जाको भारित औसत ब्याजदर सबैभन्दा कम ८.४३ प्रतिशतसम्म झरेको थियो । त्यसपछि निरन्तर बढ्न थालेको कर्जाको भारित औसत ब्याजदर २०७९ फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि निरन्तर २८ महिनादेखि कर्जाको औसत ब्याजदर घट्दो क्रममा रहेको छ । गत असार मसान्तसम्म आइपुग्दा ७.८५ प्रतिशतमा झरेको हो ।
आन्तरिक अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । अर्थतन्त्रको बाह्य पक्ष सबले हुँदापनि अर्थतन्त्र चलायमान हुन नसक्दा ब्याजदर सस्तो हुँदा समेत कर्जा प्रवाह सुस्त रहेको छ ।
रेमिट्यान्स आप्रवाहमा आएको सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । बैंकिङ प्रणालीमा निक्षेप बढे अनुसार कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या रहेको छ । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको लागत घटेको छ । जसले गर्दा आधार घट्दा कर्जाको ब्याजदर समेत तल झरेको छ । तर, पनि कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न सकेको छैन ।
राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकहरुले प्रवाह गर्ने कर्जाको भारित औसत ब्याजदरमा ८ प्रतिशत तल झरेको छ । असार महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ७.८५ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको असारमा कर्जाको भारित औसत ब्याजदर ९.९३ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा कर्जाको भारित औसत ब्याजदर २.०८ प्रतिशत विन्दुले घटेको हो ।
औसत आधार दर घटेकाले बैंकहरुको कर्जाको ब्याजदर निकै सस्तिएको हो ।अहिले वाणिज्य बैंकहरुको औसत आधार दर घटेर ५.९८ प्रतिशतमा झरेको छ । २०८१ असारमा वाणिज्य बैंकहरुको औसत आधार दर ८ प्रतिशत थियो । बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन्।
कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका थिए । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको लागत कम भएपछि कर्जाको औसत ब्याजदर पनि घटेको हो । हाल वाणिज्य बैंकहरुले प्रवाह गर्ने सबै प्रकारका कर्जाको ब्याजदर ८ प्रतिशत भन्दा तल नै रहेको छ ।
सबैभन्दा उच्च ब्याजदर रहेको ओभर ड्राफ्ट शिर्षकको कर्जाको ब्याजदर नै ८.६२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको यसैअवधिमा यो शीर्षकमा कर्जाको भारित औसत ब्याजदर ११.३३ प्रतिशत थियो । यस अवधिमा विपन्न वर्गमा प्रवाह हुने कर्जाको ब्याजदर सबैभन्दा कम ६.८४ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा विपन्न वर्गमा प्रवाह हुने कर्जाको ब्याजदर ९.१५ प्रतिशत थियो ।
यस्तै, गत आवधिक कर्जा ब्याजदर ८ प्रतिशत कायम भएको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जाको ब्याजदर १०.३३ प्रतिशत रहेको थियो । चालु पुँजी कर्जाको ब्याजदर पनि ७.३७ प्रतिशतमा झरेको छ । गत वर्षको असारमा १०.११ प्रतिशत रहेको थियो । आवासीय कर्जाको ब्याजदर अघिल्लो वर्षको असारमा १०.२८ प्रतिशत रहेकोमा यो वर्ष ८.२४ प्रतिशतमा झरेको छ । यस्तै, रियल स्टेट कर्जाको ब्याजदर ८.२५ प्रतिशत छ ।
यसैगरी, शेयर धितो कर्जाको ब्याजदर पनि निरन्तर घट्दो क्रममा छ । असारसम्म यो कर्जाको ब्याजदर ७.८६ प्रतिशतमा झरेको छ । अघिल्लो असारमा शेयर धितो कर्जाको ब्याजदर १०.५० प्रतिशत थियो । असारमा हायर पर्चेज कर्जाको ब्याजदर पनि ८.३९ प्रतिशतमा आएको छ । यस्तै, क्यास क्रेडिट कर्जाको ब्याजदर ७.९० प्रतिशतमा झरेको छ । बिल खरिदतर्फको ब्याजदर पनि घटेर ७.५५ प्रतिशतमा आएको छ ।
सरकारले चालु आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले विस्तार गर्ने प्रक्षेपण गरेको छ । राष्ट्र बैंकले कर्जा विस्तारमा प्रोत्साहन गर्न चालु आवको मौद्रिक नीति मार्फत ब्याजदर करिडोरलाई थप लचिलो बनाएको छ ।
केन्द्रीय बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरेको छ । साथै नीतिगत दरलाई ५ प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरेको छ । यसले बजारमा मुद्रा आपूर्ति बढाउने र ब्याजदर झनै घट्ने जानकारहरु बताउँछन्।

आर्थिकन्यूज