शीर्षकहरू

एक वर्षमा २४६ खर्ब ५१ अर्ब तरलता प्रशोचन, राष्ट्र बैंकलाई १० अर्ब नोक्सान

एक वर्षमा २४६ खर्ब ५१ अर्ब तरलता प्रशोचन, राष्ट्र बैंकलाई १० अर्ब नोक्सान

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१-८२ मा वित्तीय प्रणालीबाट समीक्षा वर्षमा खुद २४६ खर्ब ५१ अर्ब ३५ करोड तरलता प्रशोचन गरेको जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्न नसकेको उक्त रकम केन्द्रीय बैंकले खिचेको हो । गत वर्ष तरलता व्यवस्थापनमा मात्रै राष्ट्र बैंकले करिब १० अर्ब खर्च गरेको छ ।

केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०८१-८२ मा स्थायी निक्षेप सुविधामार्फत २१५ खर्ब ८ अर्ब ४० करोड र निक्षेप संकलन बोलकबोलमार्फत ३१ खर्ब ४२ अर्ब ९५ करोड गरी कुल २४६ खर्ब ५१ अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाले पटक पटक गरी ओभरनाइट तरलता सुविधामार्फत २ अर्ब ७० करोड तरलता उपयोग गरेका छन्। फलस्वरुप, समीक्षा वर्षमा खुद २४६ खर्ब ४८ अर्ब ६५ करोड तरलता प्रशोचन भएको छ ।

अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोबार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत खुद ३८ खर्ब ६८ अर्ब ८४ करोड तरलता प्रशोचन गरिएको थियो । राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी कार्यान्वयन गर्न  खोज्दा १० अर्ब रुपैयाँ बराबर नोक्सान भएको छ । गत आर्थिक वर्ष वित्तीय प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले अल्पकालीन ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कम हुन नदिँदा करिब १० अर्ब खर्च भएको जनाएको छ ।

केन्द्रीय बैंकले गत आर्थिक वर्षमा स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन उपकरण मार्फत प्रणालीको अधिक तरलता खिच्दो ३ प्रतिशत ब्याजदर दिएको छ । चालु आव यस्तो ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाइ २.७५ प्रतिशत कायम भएको छ । चालु आर्थिक वर्ष सुरु भएयता पनि केन्द्रीय बैंकले निक्षेप संकलन मार्फत मात्रै साढे ३ खर्ब तरलता खिचिसकेको छ । 

केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन र ब्याजदरको अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न प्रणालीको पैसा खिच्ने र पठाउने गर्छ । केन्द्रीय बैंकले प्रणालीमा पैसा पठाउँदा ब्याज आम्दानी हुन्छ भने खिच्दा खर्च हुन्छ ।

समीक्षा वर्षमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब ८३ करोड खुद खरिद गरी ७ खर्ब ८७ अर्ब तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ अर्ब ८९ करोड खुद खरिद गरी ७ खर्ब ८३ अर्ब ४७ करोड तरलता प्रवाह गरिएको थियो।