काठमाडौं । शेयर बजारमा चमत्कारिक सुधार नदेखिएको भएपनि गत आर्थिक वर्षमा व्यक्तिका साथै संस्थागत लगानीकर्ताहरुले शेयर बजारमा ठूलो मात्रामा लगानी बढाएको तथ्यांकहरुले देखाएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट पछिल्लो समयमा प्रवाह भएको शेयर धितो कर्जाले नै यसलाई पुष्टि गर्छ ।
केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केही लचिलो नीति लिएको थियो। जसका कारण शेयर कर्जा बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकले गत आवको मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको शेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेकोे थियो ।
साथै राष्ट्र बैंकले शेयर धितोको जोखिम भार घटाएपछि यस्तो प्रकृतिको कर्जा लिन लगानीकर्तालाई प्रोत्साहन मिलेको हो । शेयर धितो कर्जामा बढोत्तरी आएपनि त्यसको प्रभाव भने शेयर बजारमा खासै देखिएको छैन् । यता, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले व्यक्तिगत शेयर कर्जाको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ । यो व्यवस्थासँगै शेयर धितो कर्जा अझै बढ्ने जानकारहरुको भनाइ छ।
गत आर्थिक वर्ष भरीमा बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा १ खर्ब ४० अर्ब ७७ करोड बढी कर्जा प्रवाह गरेका छन् । यसअवधिमा वाणिज्य बैंकहरुले १ खर्ब १६ अर्ब ८० करोड, विकास बैंकहरुले १९ अर्ब ५४ करोड तथा फाइनान्स कम्पनीहरुले ४ अर्ब ३५ करोड रुपैयाँ शेयर धितोकर्जा प्रवाह गरेका छन् ।
पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जा करिब ५६.२ प्रतिशतले बढेको छ । यसै अवधिमा ठूला शेयर धितो कर्जा लिनेहरु अर्थात एक करोड भन्दा माथिको कर्जा लिनेहरु साढे ७६.९ प्रतिशतले बढेका छन् ।
केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा बैंक तथा वित्तीय संस्थाहरुले कुल १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेका हुन् । जुन अघिल्लो असारको तुलनामा ५६.२ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले यो शिर्षकमा ९० अर्ब ९ करोड ३२ लाख कर्जा प्रवाह गरेका थिए । केन्द्रीय बैंकका अनुसार पछिल्लो एक वर्षको अवधिमा मात्रै बैंक–वित्तीय संस्थाहरुले ५० अर्ब ६० करोड ८९ लाख रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह गरेका छन् ।
गत आवमा मार्जिन प्रकृतिको कर्जामा ठूलो ऋण लिने सबैभन्दा बढी बढेका छन् । केन्द्रीय बैंकको विवरण अनुसार गत आवमा १ करोड भन्दा बढी ऋण लिने ७६.९ प्रतिशतले बढेका छन् । गत असारसम्म १ करोड रुपैयाँभन्दा माथिको ऋण ९८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ । एक वर्षको अवधिमा यो शिर्षको कर्जा ४२ अर्ब ९९ करोड ७७ लाख प्रवाह भएको छ ।
त्यसपछि सबैभन्दा बढी ऋण लिनेमा २५ लाखदेखि ५० लाखसम्म ऋण लिनेहरु छन्। यो आकारको शेयर धितो कर्जा पनि २९.० प्रतिशतले बढेको छ । गत असारसम्म रेन्जमा १६ अर्ब २ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । पछिल्लो एक वर्षमा यो रेन्जमा थप ३ अर्ब ६० करोड २१ लाख कर्जा प्रवाह भएको देखिन्छ ।
त्यस्तै ५० लाख देखि १ करोडसम्मको ऋण लिनेहरुले २१.८ प्रतिशतले बढेका छन्। यो शिर्षकमा १७ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । २५ लाख कम कर्जा लिनेहरु ११.८ प्रतिशतले मात्र बढेका छन् । यो शिर्षकमा ८ अर्ब १७ करोड ८४ लाख मात्र कर्जा प्रवाह भएको छ ।
पछिल्लो समय शेयर बजारमा लगानी आकर्षण बढ्दै गएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने शेयर धितो कर्जामा क्रमिक रुपमा सुधार देखिएको हो । तर, शेयर धितो कर्जामा बढोत्तरी आएपनि त्यसको प्रभाव भने शेयर बजारमा खासै देखिएको छैन् ।
२०८१ असार मसान्तमा २२४०.४१ रहेको नेप्से सूचक २०८२ असार मसान्तमा २७९४.७९ कायम भएको छ । एक वर्षको अवधिमा नेप्से सूचक ५५४.३८ अंकले बढेको छ । २०८२ असार मसान्तमा धितोपत्र बजार पँुजीकरण ४६ खर्ब ५६ अर्ब ९९ करोड कायम भएको छ । २०८१ असार मसान्तमा बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६८ करोड रहेको थियो । २०८१ असार मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ६२.२५ प्रतिशत रहेकोमा २०८२ असार मसान्तमा ७६.२५ प्रतिशत रहेको छ ।
साना कर्जा लिनेहरु घट्ने तथा ठूला कर्जा लिनेहरु बढेकाले शेयर बजारमा संस्थागत लगानीकर्ताहरुले लगानी बढाएको अनुमान गर्न सकिन्छ । अहिले बैंकहरुको ठूलो रकम शेयर बजार आउने क्रम जारी रहेकाले बजारमा सुधार आउने अनुमान भइरहेको पनि त्यसको विपरित बजार चलिरहेको छ।
अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । बैंक ब्याजदर निरन्तर घट्दै आइरहेको छ । अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । यसैगरी, बैंकहरुले निक्षेपको ब्याजदर पनि भारीमात्रामा घटाएकाले पनि लागत कम हुँदै गएको छ । यसले पनि कर्जाको ब्याजदर थप तल झार्न सहयोग गरेको देखिन्छ ।
तथापि, अर्थतन्त्रमा आएको शिथिलताको कारण बैंक-वित्तीय संस्थाबाट कर्जा प्रवाह भने सुस्त रहेको छ । अहिले शेयर धितो कर्जाको औसत ब्याजदर नै ७.८६ प्रतिशतमा झरेको छ । यसले लगानीकर्तालाई शेयर बजारमा प्रवेश गर्न थप उत्साहित गरिरहेको छ । यसले पनि मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको हो ।
आर्थिकन्यूज