काठमाडौं । भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा दिपाल ब्राण्ड उड्ने ट्याक्सी प्रदर्शनीमा राखियो । नेपालमै पहिलो पटक भित्राइएको उड्ने ट्याक्सी प्रति आम मानिसको चासो बढ्नु स्वाभाविक नै थियो । तर, आम जनताले चासो दिएको उड्ने ट्याक्सी प्रदर्शनीमा त राखियो तर उडाउन भने सकिएन ।
त्यसको कारण थियो मानव रहित विमान प्रणाली (अनम्यान्ड एयरक्राफ्ठ सिस्टम) बारे नेपालमा कानून अभाव । मानवरहित उड्ने ट्याक्सी ड्रोनको एडभान्स भर्जन हो । जसमा चालक हुँदैनन् । अर्थात् अपरेटरले बाहिरबाटै त्यस ट्याक्सीलाई सञ्चालन गर्दछ । जसलाई अनम्यान्ड एयरक्राफ्ठ सिस्टम (यूएएस) भनिन्छ । यो प्रविधि नेपालका लागि नयाँ हो । भर्खरै नाडाले यो प्रविधि नेपाल भित्राएको हो । त्यसैले नेपालको यस सम्बन्धी कानून बनि नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार युएएस नियमनका लागि कानून निर्माणको प्रक्रिया अघि बढिसकेको छ । आगामी एक वर्ष भित्रमा कानून बनी सक्नेछ ।
कानून बनाउनका लागि प्राधिकरणले अध्ययन गर्न थालेको प्राधिकरणका सूचना अधिकारी भूलले बताए । ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भुमिका के हुने, प्राधिकरणको भुमिका के हुने, अन्य देशहरुमा यूएएसको नियमन कसरी गरिएको छ, आदिको बारेमा अध्ययन भइरहेको छ,’ उनले भने ।
यूएएसका अन्तर्गत सरकारले हाल ड्रोनलाई केही निश्चित प्रयोजन लागि दर्ता तथा सञ्चालन अनुमति दिएको छ । फोटो तथा भिडियो ग्राफि र सर्भेका लागि प्राधिकरणले ड्रोनको दर्ता तथा उड्डयन अनुमति दिएको छ । त्यसैगरी, उड्ने ट्याक्सीका लागि पनि सुरुमा निश्चित प्रयोजनका लागि अनुमति दिनेगरी कानून निर्माण गरिने उनले बताए ।
‘सुरुमा एडभन्चर तथा दृश्य अवलोकन प्रयोजनका लागि यसको अनुमति दिइनेछ । जस अन्तर्गत कुनै एक निश्चित विन्दुबाट पर्यटकले सो ट्याक्सीमा चडेर दृश्य अवलोकन गर्छ । अनि फेरी सोही स्थानमा ड्रप हुन्छ । अर्थात् जुन स्थानबाट टेक लिन्छ सोही स्थानमा ड्रप हुनेगरी पर्यटन प्रयोजनका लागि अनुमति प्रदान हुनेछ,’ उनले भने ।
यस्तै, प्राधिकरणले फ्लाइङ ट्याक्सी अपरेटरलाई एयरलाइन्सको जसरी दर्ता गर्नेछ । त्यसपछि प्राधिकरणले अपरेटरहरूलाई अपरेटिङ सर्टिफिकेट दिनेछ । त्यसपछि यूएएस भेहिकल दर्ता हुने प्रक्रिया निर्माण गरिने प्राधिकरणका सूचना अधिकारी भूलले बताए । उनका अनुसार फ्लाइङ ट्याक्सी सञ्चालन गर्ने अपरेटरका लागि तालिम दिने एकेडेमिको लाइसेन्स पनि वितरण गर्ने गरी कानून निर्माण भइरहेको छ ।
उड्ने ट्याक्सी एउटा विन्दुबाट अर्काे विन्दुमा जानका लागि आकाशमा निश्चित बाटो एयर करिडोर हुन्छ । त्यो अनुमति दिनुअघि जुन विन्दुबाट उड्यो सोही विन्दुमा अवतरण हुनेगरी अनुमति दिइने उनको भनाई छ । अर्थात, सुरुमा मनोरन्जन तथा पर्यटन प्रयोजनाका लागि र पछि यातायातका लागि अनुमति दिइने उनले बताए ।
८ करोड पर्ने उड्ने ट्याक्सीका यस्ता छन् विषेशताहरु
हाल नाडा अटो शोमा ल्याएको ईभीटोल उड्ने ट्याक्सी एक पटक चार्ज गरेपछि ३५ किलोमिटरसम्म उड्न सक्ने एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विष्णु अग्रवालले बताए । उनका अनुसार सरकारले उड्ने ट्याक्सीका लागि अनुमति दिएपछि हाल प्रदर्शनीमा राखिएको भन्दा अपग्रेटेट भर्जनहरु नेपाल ल्याइनेछ ।
उनले आर्थिक न्यूजसँग कुरा गर्दै भने, ‘सरकारले कानून बनाए पछि हामी यसको एडभान्स भर्जनहरु ल्याउँछौँ । जसले २५० देखि ३५० किलोमिटरसम्मको रेन्ज दिनेछ ।’
हाल प्रदर्शनीमा देखाइएको ट्याक्सी १३० किलोमिटर प्रतिघण्टाको स्पीडमा उड्न सक्छ । जुन अधिकतम ३ हजार मिटर उचाइसम्म पुग्न सक्छ । यो ट्याक्सी २ घण्टामा फुल चार्ज हुन्छ । जसको मूल्य नेपाली बजारमा ८ करोड रुपैयाँसम्म पर्ने अग्रवालको भनाई छ । जसमा ८ वटा मोटर रहेको छ । यसको तौल ६०० केजी रहेको छ ।

चिनिया अटोमोबाइल्स उत्पादक कम्पनी चांगान र इहाङको संयुक्त उत्पादनमा दिपाल फ्लाइङ ट्याक्सी निर्माण गरेको प्रबन्ध निर्देशक अग्रवालले बताए । उनीहरुले यसको एडभान्स भर्जन पनि निर्माण गरिसकेको उनले बताए । जसले ३५० किलोमिटरसम्मको रेन्ज दिने उनले दाबी गरे ।
‘उड्ने ट्याक्सी विश्वका विभिन्न देशहरुमा यातायात प्रयोजनका लागि सञ्चालनमा छन् । नेपाल सरकारले पनि यससम्बन्धी कानून निर्माणको प्रक्रिया सुरु गरेको रहेछ, खुशी लाग्यो ।,’ उनले भने ।
लक्ष्मण लम्साल