शीर्षकहरू

नागरिक लगानी कोष, म्युचुअल फण्डमा पुनर्बीमा कम्पनीको लगानी डाइभर्ट, हिमालयनकाे लगानी बढ्दा नेपाल पुनर्बीमाको भने घट्यो

नागरिक लगानी कोष, म्युचुअल फण्डमा पुनर्बीमा कम्पनीको लगानी डाइभर्ट, हिमालयनकाे लगानी बढ्दा नेपाल पुनर्बीमाको भने घट्यो

काठमाडौं । नेपालमा सञ्चालित पुनर्बीमा कम्पनीहरूको लगानी नागरिक लगानी कोष, म्युचुअल फण्ड र सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा डाइभर्ट भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुसार नागरिक लगानी कोष, म्युचुअल फण्डमा पुनर्बीमा कम्पनीको लगानी आठ गुणाले बढेको छ भने सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा चार गुणा भन्दा धेरैले बढेको छ । 

गत आवमा नागरिक लगानी कोष र म्युचुअल फण्डमा पुनर्बीमा कम्पनीले ७२ करोड ९ लाख रुपैयाँ लगानी गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरूले सो क्षेत्रमा नौ करोड नौ लाख रुपैयाँ लगानी गरेका थिए ।

सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा गत आव कम्पनीहरूले पाँच अर्ब २८ करोड रुपैयाँ लगानी गरेका छन् भने अघिल्लो आवको सोही अवधिमा एक अर्ब १७ करोड रुपैयाँ लगानी गरेको तथ्यांक छ । 

यस्तै, वित्त कम्पनीको मुद्दती निक्षेपमा कम्पनीहरूको लगानी ४० करोड रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा चार गुणाले बढी हो । अघिल्लो आवको सोही अवधिमा वित्त कम्पनीको मुद्दती निक्षेपमा कम्पनीहरूले १० करोड रुपैयाँ लगानी गरेका थिए । 

तर, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको वण्ड, डिवेन्चर र ऋणपत्रमा भने पुनर्बीमा कम्पनीले लगानी घटाएका छन् । प्राधिकरणको तथ्यांक अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीले सो क्षेत्रमा लगानी नै गरेको छैन । नेपाल पुनर्बीमा कम्पनीले भने अघिल्लो आवमा ३० करोड रुपैयाँ लगानी गरेको थियो । अहिले भने लगानी गरेको छैन । यो क्षेत्रमा कम्पनीहरूले न्यूनतम् २० प्रतिशत लगानी गर्नुपर्ने प्राधिकरणको प्रावधान छ । 

बाणिज्य र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा पनि बैंकहरुको लगानी घटेको छ । गत आवका यो क्षेत्रमा कम्पनीहरूले २७ अर्ब २३ करोड ४४ लाख रुपैयाँ लगानी गरेका थिए । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.५३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरूले सो क्षेत्रमा २९ अर्ब १३ लाख ८३ करोड रुपैयाँ लगानी गरेका थिए । यो क्षेत्रमा कम्पनीहरूले आफ्नो कुल लगानीको कम्तीमा ३० प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था छ । 

विकास बैंकको मुद्दती निक्षेपमा गरिएको लगानी पनि घटेको छ । कम्पनीहरूले गत आवमा  एक अर्ब ८६ रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आवको तुलनामा यो रकम ७.८१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरूले दुई अर्ब एक करोड रुपैयाँ लगानी गरेका थिए । यो क्षेत्रमा कम्पनीहरूले आफ्नो कुल लगानीको बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।

गत आवमा कम्पनीहरूले वित्तीय संस्थाको वण्ड डिवेन्चरमा दुई अर्ब ९३ करोड ३५ लाख रुपैयाँ लगानी गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा भने सो क्षेत्रमा कम्पनीहरूले तीन अर्ब पाँच करोड रुपैयाँ लगानी गरेका थिए । यो क्षेत्रमा कम्पनीहरूले आफ्नो कुल लगानीको बढीमा २० प्रतिशत लगानी गर्न पाउँछन् ।

इन्भेष्टमेन्ट कम्पनीमा भने गत आवमा कम्पनीहरूले एक अर्ब पाँच करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १६.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा भने यस्तो क्षेत्रमा कम्पनीहरूको लगानी ९० करोड रुपैयाँ थियो । अन्य क्षेत्रमा भने कम्पनीहरूको दुई गुणा भन्दा धेरैले बढेको छ । 

तर, घरजग्गा, सूचीकृत पब्लिक कम्पनीको वण्ड, डिवेन्चर र उत्पादन क्षेत्रमा कम्पनीहरूले कुनै लगानी गरेका छैनन् । 

नेपाल पुनर्बीमा कम्पनीको लगानी घट्यो

गत वर्षमा नेपाल पुनर्बीमा कम्पनीको लगानी घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आवमा कम्पनीहरूले विभिन्न क्षेत्रमा २० अर्ब ७२ करोड ४८ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले २० अर्ब ७८ करोड ७० लाख रुपैयाँ लगानी गरेको थियो । 

कम्पनीको लगानी वित्त कम्पनीको मुद्दती निक्षेपमा चार गुणाले बढेको छ भने नागरिक लगानी कोष र म्युअुचल फण्डमा दुई गुणा भन्दा धेरैले लगानी बढेको छ । अन्य क्षेत्रमा भने लगानी घटेको छ । 

कम्पनीले बाणिज्य बैक र पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा १५ अर्ब ८ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा तीन प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले सो क्षेत्रमा १५ अर्ब ५४ करोड ३१ लाख रुपैयाँ लगानी गरेको थियो । 

विकास बैंकको मुद्दती निक्षेपमा कम्पनीले एक अर्ब ८६ करोड रुपैयाँ लगानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा सो क्षेत्रमा कम्पनीले एक अर्ब ८६ करोड ७६ लाख रुपैयाँ लगानी गरेको थियो । 

फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा भने कम्पनीले ४० करोड रुपैयाँ लगानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा चार गुणाले बढी हो । अघिल्लो आवको सोही अवधिमा यो क्षेत्रमा कम्पनीले १० करोड रुपैयाँ लगानी गरेको थियो । 

सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा भने कम्पनीले नौ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ । वित्तीय संस्थाको वण्ड डिवेन्चरमा एक अर्ब १४ करोड १३ लाख, नागरिक लगानी कोष र म्युचुअल फण्डमा १२ करोड ९ लाख, अन्य संस्थापक शेयरमा ५९ करोड ६५ लाख, सूचीकृत नभएको पब्लिक कम्पनीको शेयरमा ५० करोड ७२ लाख र अन्य क्षेत्रमा ६५ करोड रुपैयाँ लगानी गरेको छ । 

गत वर्ष हिमालयन रि को लगानी १४ प्रतिशतले बढ्यो

गत वर्ष हिमालयन रि इन्स्योरेन्स कम्पनीको लगानी १४.२० प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीले विभिन्न क्षेत्रमा २० अर्ब ३० करोड १६ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १७ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ लगानी गरेको थियो । 

कम्पनीले नागरिक लगानी कोष र म्युचुअल फण्डमा १५ गुणाले लगानी बढाएको छ भने सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा करिब पाँच गुणाले लगानी बढाएको छ । तर, बैक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा भएको लगानी घटाएको छ । 

कम्पनीले गत आवमा बाणिज्य बैंक र पूर्वाधार क्षेत्रमा १२ अर्ब १५ करोड ३१ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.६३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरूले १३ अर्ब ५९ करोड ५१ लाख रुपैयाँ लगानी भएको थियो । 

विकास बैंकको मुद्धती निक्षेपमा भने कम्पनीले कुनै पनि लगानी गरेको छैन । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले १५ करोड रुपैयाँ लगानी गरेको थियो । 

सूचीकृत पब्लिक कम्पनीको शेयरमा कम्पनीले गत आवमा पाँच अर्ब १८ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो आवको तुलनामा यो रकम करिब पाँच गुणाले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले एक अर्ब आठ करोड सात लाख रुपैयाँ लगानी गरेको थियो । 

गत आव वित्तीय संस्थाको वण्ड डिवेन्चरमा कम्पनीले एक अर्ब ८२ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १८.७७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले एक अर्ब ३३ करोड २१ लाख रुपैयाँ लगानी गरेको थियो । 

नागरिक लगानी कोष र म्युुचुअल फण्डमा ६० करोड लगानी गरेको छ भने इन्भेष्टमेन्ट कम्पनीमा एक अर्ब पाँच करोड लगानी गरेको छ । यस्तै, कम्पनीले अन्य संस्थापक शेयरमा २२ करोड ५० लाख  र अन्य क्षेत्रमा ४७ लाख रुपैयाँ लगानी गरेको छ । 

null