काठमाडौं । नाडा अटो शो २०२५ मा करिब ४ हजार ६ सयवटा सवारी साधन बुकिङ भएको छ । भदौ ३ देखि ८ गतेसम्म आयोजना भएको उक्त अटो शोमा ४ हजार ५ सय ८२ वटा सवारी साधन बुकिङ भएको जनाइएको छ । जसमध्ये सबैभन्दा धेरै बीवाईडीका गाडीहरु बुकिङ भएको हो ।
नेपालका लागि बीवाईडी गाडीको आधिकारिक आयातकर्ता तथा विक्रेता कम्पनी साइमेक्स इंकका अनुसार नाडा अटो शोमा बीवाईडीका १ हजार ४ सयवटा गाडी बुकिङ भएको छ ।
गत साउनमा आयोजना भएको नाइमा मोबिलिटी एक्सपोमा पनि बीवाईडीका गाडी धेरै बुकिङ भएका थिए । नाइमा शोमा बीवाईडीका ८ सयभन्दा धेरै गाडी बुकिङ भएका थिए ।
नाडा अटो शोमा नामीको ८१२ वटा बुकिङ भएको एमएडब्लु वृद्धि मोटर्सले जनाएको छ । यसैगरी टाटाको ८ हजार वटा सवारी बुकिङ भएको सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ । दिपालको ६०७ वटा र सेरेसको १०३ वटा बुकिङ भएको एमएडब्लु वृद्धिले जानकारी दिएको छ ।
एलआरआर मोटर्सका अनुसार जीलीका १८७ वटा बुकिङ भएको छ । जिनपेङको १०२ वटा, स्काइवेलकाे १३१ वटा र एक्सपेङको ७० वटा बुकिङ भएको छ ।
यता, दुई पांग्रेमा रोयल इन्फील्डको १६० वटा र हिरोका ६० वटा सवारी बुकिङ भएको छ । १५० वटा अन्य ब्राण्डका सवारीहरु बुकिङ भएको जनाइएको छ ।
उक्त नाडा अटो शोमा चारपांग्रेका १७ वटा ब्राण्ड र दुई पांग्रेका ४ वटा ब्राण्डहरु सहभागी थिए । जहाँ १ लाख ७० हजार बढी अवलोकनकर्ताले अटो शो अवलोकन गरेको आयोजकले दाबी गरेको छ ।

आर्थिकन्यूज