शीर्षकहरू

वार्षिक तीन अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनी छोडे : मुख्यमन्त्री इन्द्र बानिया

काठमाडौं । वार्षिक तीन अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनी छोडेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले बताए । उनले आफू मुख्यमन्त्री भएपछि स्वार्थ नबाझियोस् भनेर उक्त कम्पनी छाडेको बताए । निर्माण व्यवसायी संघ मकवानपुरले सोमबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले यस्तो बताएका हुन् । 

उनले भने, ‘अब म स्वतन्त्र रूपमा आम नागरिकको समस्या समाधानमा लाग्नेछु । मैले सुशासनयुक्त प्रदेश निर्माणको अभियान थालेको छु । निर्माण व्यवसायीहरूले पनि त्यसमा सहयोग गर्नुपर्छ । ठेक्काहरूमा हिजो ८ वटा रड हाल्ने ठाउँमा ६ वटा हाल्ने दिन अन्त्य भएको छ । अब प्रविधिले सबै कुरा पत्ता लगाउँछ । इस्टिमेटअनुसार काम नगर्ने कर्मचारी र व्यवसायी दुवै कारबाहीको दायरामा आउँछन् । व्यवसायीहरूको काममा एक छिन पनि ढिलाइ हुँदैन ।’ 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उपभोक्ता समितिमार्फत हुने काममा विकृति बढेको बताएका छन् । उनले भने, ‘१० लाख माथिका प्रदेशका योजनाहरू टेन्डरमा लाने विषय संसदबाटै पारित गरेर लागू हुन्छ ।’ 
 
 निर्माण व्यवसायीहरू ‘लो बिडिङ’मा काम गर्ने हुँदा अत्यधिक घटेर ठेक्का हाल्नुपर्ने बाध्यताले कङ्गाल बन्न लागेको मुख्यमन्त्री बानियाले बताए । उक्त विषयलाई सम्बोधन गर्नका लागि सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न पर्ने उनको भनाई छ ।

उपभोक्ता समिति मार्फत गरिने कामा समस्या आएकाले अब प्रदेशको १० लाखभन्दा माथिका सबै काम टेन्डरबाट गर्ने बानियाले बताए । निर्माण व्यवसायीहरू अहिले बाँच्नकै लागि ६०र७० प्रतिशतसम्म घटेर ठेक्का हाल्नुपर्ने अवस्था रहेको पनि उनले बताए ।