शीर्षकहरू

सरकारले साउनमै उठायो ४४ अर्ब ५७ करोड सार्वजनिक ऋण

सरकारले साउनमै उठायो ४४ अर्ब ५७ करोड सार्वजनिक ऋण

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना अर्थात् साउनमै ४४ अर्ब ५७ करोड रुपैयाँ सार्वजनिक ऋण उठाएको छ । वित्तीय प्रणालीमा अधिक तरलता र ब्याजदर समेत न्युन रहेको अवस्थामा सरकारले विकास ऋणपत्र तथा ट्रेजरी बिलको बिक्रीमार्फत आन्तरिक ऋण परिचालनमा गर्दै आएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले साउन १ गतेदेखि ३१ गतेसम्म एक महिनाको अवधिमा ४४ अर्ब ५७ करोड ऋण परिचालन गरेको हो । साउनमा सरकारले ४० अर्ब आन्तरिक ऋण र ४ अर्ब ५७ करोड वाह्य ऋण लिएको हो । यस अवधिमा ३० अर्ब ५५ करोड रुपैयाँ सार्वजनिक ऋणको भुक्तानी दिएको छ । जस अनुसार एक महिनामा खुद सार्वजनिक ऋण १४ अर्ब २ करोडले थप भएको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

यस अवधिमा सरकारले ब्याज समेत गरेर ३६ अर्ब ६८ करोड भुक्तानी गरेकोे छ । साउनमा आन्तरिक ऋणको साँवा भुक्तानीमा २७ अर्ब १० करोड र ब्याज भुक्तानीमा ५ अर्ब १३ करोड खर्च भएको छ । वाह्य ऋणको साँवा भुक्तानी ३ अर्ब ३४ करोड र ब्याज भुक्तानी ९९ करोड रुपैयाँ भएको छ । 

साउनसम्म कुल साँवा खर्च ३० अर्ब ५५ करोड र ब्याज खर्च ६ अर्ब १३ करोड भएको हो । जुन कुल लक्ष्यको ८.९३ प्रतिशत हो । जीडीपीका आधारमा साउनसम्म कुल ऋण सेवा खर्च ०.६ प्रतिशत भएको छ ।

null

सरकारले चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । यसमध्ये आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब र वाह्य ऋण २ खर्ब ३३ अर्ब उठाउने लक्ष्य छ । जसमध्ये आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमै ४४ अर्ब ५७ करोड रुपैयाँ ऋण प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यो लक्ष्यको तुलनामा ७.४८ प्रतिशत हो।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कायम तिर्नबाँकी २६ खर्ब ६९ करोड ५७ लाख रुपैयाँ रहेको थियो । यसमा थप १४ अर्ब २ करोड थपिदाँ साउन मसान्तसम्ममा कुल सार्वजनिक ऋणको दायित्व २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा ४३.९४ प्रतिशत बराबर हो ।

कार्यालयका अनुसार कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा  १२ खर्ब ८१ अर्ब १२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बाह्य ऋणको हिस्सा १४ खर्ब २ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । जीडीपीको तुलनामा आन्तरिक र वाह्य ऋण क्रमशः २२.४६ प्रतिशत र २४.५८ प्रतिशत रहेको तथ्यांक छ ।

null