शीर्षकहरू

नेपाल-भारत सम्बन्ध सुधारमा जोड : व्यापार र सहकार्यमा देखिएको चुनौती

नेपाल-भारत सम्बन्ध सुधारमा जोड : व्यापार र सहकार्यमा देखिएको चुनौती

बीरगन्ज। नेपाल र भारतका जनताबीचको सम्बन्ध ऐतिहासिक रूपमा घनिष्ठ र आत्मीय रहेको छ। तर, सरकारी तहमा देखिने असमझदारी र नीतिगत कमजोरीका कारण दुई देशबीचको व्यापार र सहकार्यले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन। यो निष्कर्ष वीरगञ्जमा बुधबार सम्पन्न भएको भारत–नेपाल आर्थिक साझेदारी सम्मेलनमा विभिन्न वक्ताहरूले प्रस्तुत गरेका धारणा मार्फत प्रष्टिएको हो।

सम्मेलनका प्रमुख अतिथी वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूत देवी सहाय मिनाले नेपालको जलविद्युत भारत र बंगलादेशका लागि ठूलो बजार भएको भन्दै नेपालले यस क्षेत्रमा बढी ध्यान दिनुपर्ने सुझाव दिए।

उनले भने, “भारत नेपालको सबैभन्दा ठूलो निर्यात गन्तव्य हो, त्यसैले नेपालले भारतसँगको निर्यात व्यापारलाई प्राथमिकतामा राख्नुपर्छ।” मिनाले भारत आफ्नो विकासको अनुभव नेपालसँग साझा गर्न इच्छुक रहेको पनि प्रष्ट पारे।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष अशोक टेमानीले नेपाल–भारत व्यापारमा नीति र प्रक्रियागत अवरोध प्रमुख समस्या भएको औंल्याए। उनका अनुसार, नेपालबाट भारततर्फ मालबस्तु निर्यात गर्दा र भारतबाट नेपालतर्फ आयात गर्दा निरन्तर भारतीय पक्षबाट विभिन्न जटिलता र अवरोध देखिने गरेको छ। यसले नेपाली उद्योगी व्यवसायीलाई लामो समयदेखि समस्या भोग्न बाध्य बनाएको उनले बताए। उनले जनस्तरमा सम्बन्ध राम्रो भए पनि सरकारी स्तरमा सम्बन्ध सुधार नहुँदा व्यापारमा ठूला अवसर गुमिरहेको उल्लेख गरे।

आयोजक संघका सचिव अभिषेक चौधरीले नेपाल र भारत दुवैलाई लाभ हुने किसिमको सार्वजनिक साझेदारी आवश्यक रहेको बताए। उनले वीरगञ्जलाई केवल प्रवेशद्वारको रूपमा मात्र होइन, साझा समृद्धि हासिल गर्ने प्रमुख पूर्वाधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष हरी गौतमले नेपाल–भारतले जलविद्युत, कृषि र पर्यटन जस्ता क्षेत्रमा साझा सहकार्य गर्न सक्ने ठूला सम्भावना रहेको बताए।

उनले धार्मिक पर्यटनलाई उदाहरण दिँदै भने, “यदि अयोध्यामा पुग्ने कूल धार्मिक पर्यटक मध्ये २ प्रतिशतलाई मात्र जनकपुर ल्याउन सकियो भने, नेपालको पर्यटन उद्योगले ठूलो फड्को मार्नेछ।” उनले प्राविधिक शिक्षा क्षेत्रमा समेत दुवै देशले सहकार्य गर्न सक्ने सुझाव दिए।

सम्मेलनमा, मधेश प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. सोहन साहले अवैध तस्करी दुई देशबीचको व्यापारमा प्रत्यक्ष चुनौती बनेको बताए। उनले मधेश प्रदेशमा भारतीय लगानी अन्य प्रदेशको तुलनामा न्यून रहेको र पछिल्ला वर्षमा नेपालमा भारतीय लगानी झनै घट्दो क्रममा हुनु दुःखद भएको उल्लेख गरे। उनका अनुसार, जलस्रोत र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न सके आर्थिक समृद्धि सम्भव छ।

सम्मेलनमा नेपाल-भारत जनस्तरमा सम्बन्ध मजबुत भए पनि सरकारी तहमा देखिने असमझदारीले व्यापार र लगानी प्रभावित भइरहेको दुखेसो ब्यक्त गरिएको थियो ।

जलविद्युत, कृषि, पर्यटन र शिक्षा क्षेत्रमा सहकार्यले दुवै देशलाई ठूलो लाभ दिलाउन सक्ने भएपनि  तस्करी नियन्त्रण, लगानीमैत्री वातावरण निर्माण र व्यापारिक नीतिमा सुधार नगरेसम्म दुई देशबीचको आर्थिक साझेदारीले आशातीत सफलता पाउने नदेखिएको धारना ब्यक्त गरिएको थियो ।

null