काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना साउनमा सिमेन्टको निर्यात ह्वात्तै वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को साउनको तुलनामा चालु आवको सोही महिनामा सिमेन्टको निर्यात ८६.२९ प्रतिशतले वृद्धि भएको हो ।
चालु आवको साउनमा २७ करोड ६५ लाख रुपैयाँ बढीको २ लाख ३२ हजार ५६ टन सिमेन्ट निर्यात भएको भन्सार विभागले जनाएको छ । गत आवको सोही महिनामा १४ करोड ८४ लाख रुपैयाँको ५२ हजार २९७ टन सिमेन्ट निर्यात थियो । उक्त सिमेन्टहरु भारत निर्यात भएको हो ।
अर्घाखाँची सिमेन्ट, पाल्पा सिमेन्ट, बालाजी सिमेन्ट, शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट लगायतले भारत निर्यात गर्दै आएका छन् । गत आवको कार्तिक महिनादेखि सिमेन्टको निर्यात खच्किएको थियो । ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) ले नेपालमा उत्पादन भएका सिमेन्ट सहित विभिन्न बस्तुलाई गुणस्तर प्रमाणपत्र रोक लगाएको थियो । जसले नेपालबाट भारत निर्यात हुने सिमेन्ट घटेको थियो । तर, चैतदेखि भारतले फेरि गुणस्तर जारी गर्न सुरु गरेपछि सिमेन्टको निर्यात वृद्धि हुन पुगेको नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष रघु नन्दन मारुले बताए ।
जसले गर्दा गत आवको असार महिनामा पनि सिमेन्टको निर्यात वृद्धि भएको थिया । अध्यक्ष मारुका अनुसार हाल नेपालमा सञ्चालनमा रहेका सिमेन्ट उद्योगहरुले क्षमताको ५० प्रतिशतमात्रै उत्पादन गरिरहेका छन् । बजारमा माग कम रहेका कारण ५० प्रतिशतको हाराहारीमा उत्पादन भइरहेको उनले उल्लेख गरे । वर्षाकाे सिजन भएकाले अहिले माग न्यून छ । असोजपछि माग वृद्धि हुने आशा उनले व्यक्त गरे ।
उनले भने, 'अहिले बजारमा माग कम छ, त्यसकारण क्षमताको ५० प्रतिशतमात्रै उत्पादन भइरहेको छ । असोजपछि माग बढ्छ होला ।’
आर्थिकन्यूज