भैरहवा । रूपन्देही जिल्लाको बुुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका जोड्ने तिनाउ नदीमा पुल निर्माण सम्पन्न भएपनि सुचारु हुन सकेको छैन। डिङ्गरनगरस्थित तिनाउ नदीमाथि बनेको नयाँ पुल सम्पन्न भएपनि अहिले पनि प्रयोगमा आउन सकेको छैन । पुलको संरचना आकर्षक छ, सडक पहुँच सहज छ, तर यात्रु तथा सवारी साधनहरू पुल तर्ने सपना बोकेरै रोकिएका छन् । कारण भनेको, पुलमाथि झुण्डिएको १३२ के.भी.को हाइटेन्सन लाइन जसको उचाइ न्यूनतम मापदण्डभन्दा निकै कम छ ।
पुल सकिएसँगै स्थानीयवासीले अब सहज यात्रा गर्न पाइने अपेक्षा गरेका थिए । वर्षौंदेखि घुमाउरो बाटोबाट हैरान भएका यातायात व्यवसायी र यात्रुहरूले नयाँ पुलले समय र खर्च बचत हुने ठानेका थिए । तर अहिलेको वास्तविकता फरक छ । सडक सतहदेखि कम्तीमा १३ मिटरमाथि हुनुपर्ने हाइटेन्सन लाइनको उचाइ हाल औसत ४.५ मिटर मात्र रहेको छ । त्यसैमा पनि पानी परेको समयमा तारभन्दा करिब १ मिटर तलसम्म करेन्ट फैलिन सक्ने प्राविधिक चेतावनीले यो पुललाई खतराको क्षेत्रमा बदलिदिएको छ ।
नेपाल सरकारको सडक विभाग, पुल महाशाखा, नेपालगन्जस्थित पुल सेक्टरले करिब २२ करोड खर्च गरेर बनाएको पुलमा यातायात सञ्चालन हुन पाएको छैन । उक्त कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा “स्थानान्तरण कार्य सम्पन्न नभएसम्म पुल प्रयोग नगरीदिनु” अनुरोध गरिएको छ ।
सूचनामा स्थानान्तरणको प्रक्रिया सुरु भए पनि पूर्णरूपमा सम्पन्न नभएसम्म यात्रु तथा सवारीसाधनलाई पुल प्रयोग नगर्न चेतावनी दिइएको छ । उसो त यो लाइन १३२ केभि छ । विद्युुत कार्यालयले उक्त हाइटेन्सन लाइन बनाउँदा पुलबन्ने सुरसार थिएन । यतिबेला पुल निर्माणको काम सकिएको छ । यो हाइटेन्सन लाइन स्थानान्तरण गर्न त्यति सहज भने छैन । भैरहवा लुम्बिनी क्षेत्रका उद्योग तथा घर घरमा यहीँबाट लाइन सप्लाइ भएको छ । एक दुुई दिन लाइन काटेर समाधान हुने पनि छैन । महिना दिन सम्म लाइन कटौति गर्दा के होला ? उसो त यो गर्मी समयमा यस्तो गर्न सम्भव पनि छैन ।
यसबीचमा यात्रुहरूले पुल नचल्दा दैनिक कठिनाइ भोगिरहेका छन् । स्थानीय किसानले बजार पु¥याउनका लागि उत्पादन ढुवानीमा समस्या खेपिरहेका छन् भने विद्यार्थी र सर्वसाधारणले पनि लामो बाटो हिंड्नुपर्ने बाध्यता झेलिरहेका छन् । “पुल त तयार छ, तर तारको कारण चल्न सक्दैनौं भन्नु निकै विडम्बनापूर्ण कुरा भएको स्थानीयहरु बताउँछन् । हरेक दिन पुलतिर आउने–जाने मानिसले पुल प्रयोग गर्न नपाउँदा निराशा अनुभव गरिरहेका छन् ।
स्थानीय रिक्सा व्यवासायी टिकाराम पौडेलले हाइटेन्सन बनाउन भन्दा पहिले नै स्थानीयले विरोध गर्दा गर्दै पनि बनाएको बताउँदै राज्यको सम्पत्ति दुुरुपयोग भएको बताए ।
तिलोत्तमा नगरपालिकाको नयाँ सुनौलो नगर टोल सुधार समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले उद्घाटको लागि बार लगाएर पुल राखिएको बताउँदै लाइनले गर्दा गाडी आवतजावत गर्न नसकिने बताए । स्थानीय जङ्गबहादुुर खत्रीले पूर्वाधार बनाउँदा लाइन पहिले नै स्थानान्तरण गर्नु पर्ने तर राज्यका निकायहरुको लापरवाहीका कारण समस्या भएको बताए ।
उनले पूलको पूर्वतिरको सडक बन्दा समेत पश्चिमतिरको बाटो ठेकेदारले नबनाएर अलपत्र पारिदिएको बताए ।
त्यस्तै अर्का स्थानीय महेन्द्र क्षेत्रीले पनि संरचना निर्माण गर्नु भन्दा पहिला अध्ययन गरेर नबनाउँदा समस्या भएको बताए ।
बुटवल उपमहानगर पालिका वडा नं. १७ निवासी दिलबहादुर रानले पनि हाइटेन्सले गर्दा मानिसको ज्यान नै जाने जोखिम भएको बताए ।
स्थानीय रमेश पौडेलले पुल बन्दा खुुसी भएको बताउँदै हाइटेन्सन नजिक भएकोले पानी आउँदा तल हिँड्दा समेत करेन्ट प्रवाह गर्ने हुँदा जोखिमपूर्ण भएको बताए ।
ठूलो योजनामा पुल बन्नुभन्दा पहिले नै लाइन माथि उठाइसक्नुु पर्नेमा प्राविधिक पक्षले बेवास्ता गर्दा अहिले समस्या भोग्नुु परेको स्थानीय रामबहादुर अर्यालले बताए ।
तिलोत्तमा नगरपालिका वडा नं. ४ का अध्यक्ष हरिबहादुर क्षेत्रीले पुल बन्नु भन्दा पहिले नै हाइटेन्सन लाइन बनि सकेको बताउँदै बारम्बार आवाज उठाउँदा समेत काम हुन नसकेको बताए । उनले पानी आउँदा जनप्रतिनिधीहरु बाटोमा हिड्न हुँदैन भनेर सडकमा उभिने गरेको बताए ।
नेपाल विद्युत प्राधिकरण बुुटवल ग्रिड महाशाखाका सूचना अधिकारी खेमनारायण लम्सालले लाइन बनि सकेपछि पुल निर्माण हुँदा समस्या भएको बताउँदै ग्रिड महाशाखाले बोलपत्र प्रक्रिया अगाडि बढाएर लाइनलाई उच्च बनाउने बताए ।
सूचना अधिकारी लम्सालले सैद्धान्तिक स्विकृत गरी काम मात्रै अगाडि बढ्ने बताउँदै करिब एक वर्ष भित्रमा स्थानान्त्रण हुन सक्ने बताए ।
पुल महाशाखाले भने विद्युत प्राधिकरणसँग समन्वय गरी लाइन स्थानान्तरणको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ । तर कहिलेसम्म समस्या समाधान हुन्छ भन्ने स्पष्ट समयसीमा भने सार्वजनिक भएको छैन । स्थानीयवासीको चाहना अब चाँडोभन्दा चाँडो यो पुल सञ्चालनमा आएर आफ्नो दैनिक जीवन सहज होस् भन्ने रहेको छ । वर्षौंदेखि प्रतीक्षित यो पुल सञ्चालनमा आउन अझै प्रतीक्षा गर्नुपर्ने बाध्यता भने बाँकी नै छ।

पुनहरि बेल्बासे