काठमाडौं । गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिले एकता महाधिवेशनबाट गठन गरेको गैरआवासीय नेपाली संघलाई नगद र जिन्सी समान हस्तान्तरण गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच समितिले संघका अध्यक्ष महेश श्रेष्ठलाई ८३ लाख ६० हजार रुपैयाँ नगद, दुई कम्प्यूटर र एउटा प्रिन्टर हस्तान्तरण गरेको हो ।
समितिबाट नगद र जिन्सी समान लिदै संघका अध्यक्ष महेश श्रेष्ठले समितिले नगद र जिन्सी समान हस्तान्तरण गरेकोमा प्रशंसा गरे । ‘यति ठूला कार्यक्रम गरेपछि पनि समितिले यत्रो रकम बचत गरेको रहेछ । मलाई समितिको कोष नकरात्मक होला भन्ने लागेको थियो । तर, उहाँहरूले मितव्ययिता अपनाउनु भएको रहेछ । खुशी लाग्यो,’ उनले भने ।
आगामी दुई वर्षमा संघको कोषलाई अझ बलियो बनाउने उनले दाबी गरे । ‘हामीसँग धेरै प्रोजेक्टहरू छन् । तीन प्रोजेक्टहरू सञ्चालन सम्पन्न गरी कोषलाई बलियो बनाउने छौ,’ उनले भने ‘म संघको कोषाध्यक्ष हुँदा कोष माइनसमा थियो । तर, म हुँदा नै कोषमा ठूलो रकम जम्मा गरेका थियौ ।’
यस्तै, अध्यक्ष श्रेष्ठले आगामी महिना गैरआवासीय लगानी सम्मेलन गर्ने बताए । सम्मेलनले गैरआवासीय नेपालीलाई लगानीको अवसर जुटाउने उनले बताए । यस्तो खालको सम्मेलन अहिलेसम्म आयोजना नभएको उनले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले डा.बद्री केसी नेतृत्वको गैरआवासी संघले आयोजना गर्ने भनिएको महाधिवेशन सम्भव नभएको बताए । ‘बद्री टिमले भ्रम सृजना गर्नु भएको छ । हामीलाई काम गर्न नदिन मुद्दा दिनु भएको छ । उहाँहरूको आधिकारीताको प्रश्न उठिरहेको बेला महाधिवेशनको गर्न खोज्नु भएको छ । यो बलमिच्याईं हो । यो सम्भव छैन, रोकिन्छ,’ उनले भने ।
यस्तै, सर्वोच्चको फैसला पछि गैरआवासीय संघको कार्यालयमा बस्ने पनि उनले बताए । ‘साथीहरुलाई लागेको हुन सक्छ, हामीले किन कार्यालयमा जाँदैनौ भनेर, हामी सर्वोच्चको फैसला आएपछि कार्यालयमा पनि बस्छौ,’ उनले भने ।
कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै समितिका संयोजक शेष घलेले प्रवासी नेपालीहरूको योगदानको प्रशंसा गर्दै संस्थालाई अझ प्रभावकारी बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले भने, ‘एनआरएनए केवल संगठन मात्र होइन, यो विश्वभर छरिएर रहेका नेपालीहरूको साझा परिवार हो । यसलाई पारदर्शिता र विश्वासका आधारमा अघि बढाउन नयाँ नेतृत्व सक्षम हुने विश्वास लिएको छु ।’
समितिकी सदस्य जानकी गुरुङले उच्चस्तरीय समितिले गत वैशाखमा निर्वाचन गराएपछि ८३ लाख ६२ हजार २ सय २८ रुपैयाँ बचत भएको र सो रकम नयाँ समितिलाई हस्तान्तरण गरिएको बताइन् । साथै कम्प्युटर, प्रिन्टर लगायतका जिन्सी सम्पत्तिहरू समेत नयाँ नेतृत्वलाई जिम्मा दिइएको उनले बताइन् ।
यसैगरी पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले एकताबद्ध एनआरएनएको विकल्प नभएको बताए । उनले आफू एनआरएनए नागरिकता पाउने पहिलो व्यक्ति भएको उल्लेख गर्दै सो नागरिकता कार्यान्वयनका साथै समग्र विषयमा आवाज उठाउन पनि एकताबद्ध एनआरएनए हुनुपर्नेमा जोड दिए ।
यसैगरी नवनिर्वाचित उपाध्यक्ष, महासचिव र अन्य पदाधिकारीहरूले पनि आ–आफ्नो धारणा राख्दै नयाँ कार्यकाललाई सहकार्य र साझेदारीको आधारमा अघि बढाउने प्रतिबद्धता जनाए ।
आर्थिकन्यूज