शीर्षकहरू

नयाँ र राइडर सहित २४ जीवन बीमा पोलिसी प्राधिकरणबाट स्वीकृत

नयाँ र राइडर सहित २४ जीवन बीमा पोलिसी प्राधिकरणबाट स्वीकृत

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल बीमा प्राधिकरणले नयाँ र राइडर सहित २४ वटा जीवन बीमा पोलिसी स्वीकृत गरेको छ । कम्पनीहरूले प्राधिकरणमा प्रस्ताव गरेका बीमा पोलिसीमध्ये प्राधिकरणले सो संख्याका नयाँ पोलिसी र राइडर स्वीकृत गरेको हो ।

प्राधिकरणले सिटिजन लाइफको ६ वटा, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, आइएमई लाइफ, रिलायबल लाइफ र प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनीको ३/३ वटा पोलिसी स्वीकृत गरेको छ । 

प्राधिकरणले गत वर्ष सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको सिटिजन सामूहिक सावधिक जीवन बीमा, दुर्घटनाजन्य स्थायी आंशिक अशक्तता राइडर, अन्त्येष्टि खर्च लाभ योजना, प्रिमियम मिनाहा योजना, दुर्घटना जन्य मृत्यु लाभ राइडर र स्याथीपूर्ण अशक्तता लाभ स्वीकृत गरेको छ । 

यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको बाल शैक्षिक बीमा योजना स्वीकृत गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बाल अमृत बीमा योजना ४ स्वीकृत भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नेपाल लाइफ रक्षा कवच जीवन बिमा योजना पनि स्वीकृत भएको छ । 

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको दुर्घटनाजन्य मृत्यु लाभ, पूर्ण अशक्तता लाभ र जीवन उत्सव स्वीकृत भएको छ । मेट लाइफले दोब्बर सुरक्षा योजना प्राधिकरणले स्वीकृत गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आइएमई बालबालिका पैसा फिर्ता योजना, आइएमई बालबालिका सावधिक योजना र आइएमई बालबालिका वार्षिक पैसा फिर्ता योजना स्वीकृत भएको प्राधिकरणले जनाएको छ । सन नेपाल इन्स्योरेन्स कम्पनीको ऋण सुरक्षा योजना र सूर्यज्योति इन्स्योरेन्स कम्पनीको सूर्यज्योति प्रोफेसनल इन्स्योरेन्स योजना स्वीकृत भएको छ । 

यस्तै, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको रिलायबल सुरक्षित प्लस जीवन, रिलायबल सर्व सुलभ बाल जीवन बीमा र क्रिटिकल इलनेस पनि प्राधिकरणबाट स्वीकृत भएको छ । प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनीको ढुक्कको सामूहिक सावधिक जीवन बीमा, ढुक्कको म्यादी जीवन बीमा र क्रेडिट टर्म बीमा योजना पनि स्वीकृत भएको छ । 

जीवन बीमा कम्पनीहरूले २०२५ साल यता ४२६ वटा पोलिसी  निर्माण गरेका छन् । तर, स्वीकृत भएका सबै पोलिसी सक्रिय नभएको प्राधिकरणका पोलिसी शाखाका उप निर्देशन केशव प्रसाद दाहालले बताए । ‘कम्पनीले आफ्नो व्यवसायको लाभ हेरीकन पोलिसी विक्री गर्छन् । कुनै पोलिसीबाट लाभ भएन भने विक्री गर्न छोड्न सक्छन् । कम्पनीहरूले विक्री नगरेका पोलिसीको बारेमा प्राधिकरणलाई जानकारी दिनु पर्दैन । त्यसैले यसको तथ्यांक प्राधिकरणसँग पनि हुँदैन,’ उनले भने । 

बीमा कम्पनीहरुले केही स्तरीकृत पोलिसी निर्माण गरेका छन् भने केही अतिरिक्त कभर पोलिसी बनाएका छन् । स्तरीकृत पोलिसी अर्थात् पोलिसीको पुरै संरचना नै कम्पनीले आफ्नै तरिकाले बनाउनु हो । अतिरिक्त कभर पोलिसी भनेको प्राधिकरणले बनाएको पोलिसीमा केही सुविधा थप गरी नयाँ बनाइनु हो । 

जीवन बीमा पोलिसीमा सावधिकको हिस्सा अधिक 

जीवन बीमा कम्पनीहरूले विक्री गर्ने बीमा पोलिसीमा सावधिक जीवन बीमा पोलिसीको हिस्सा अधिक छ । प्राधिकरणका अनुसार कम्पनीहरूले ९८ प्रकारका सावधिक जीवन बीमा पोलिसी विक्री गछन् । यो संख्या कुल बीमा पोलिसीको २३ प्रतिशत हो । नेपालमा सावधिक बीमा पोलिसी धेरै प्रचलनमा आएको पोलिसी हो । यो पोलिसीले बीमितलाई बचत गर्न प्रेरित गर्छ भने जोखिमको सुरक्षा पनि दिने प्राधिकरणका पोलिसीका शाखाका उप निर्देशक दाहालले बताए ।

सावधिक जीवन बीमा पोलिसी निश्चित अवधिको लागि गरिन्छ । निश्चित समय अवधि पछि बीमा पोलिसी परिपक्क हुन्छ । पोलिसी परिपक्क भएपछि बीमितले बीमांक रकम र बोनस रकम एकमुष्ट प्राप्त गर्छ । पोलिसी परिपक्क हुनु अगावै बीमितको मृत्यु भएमा बीमांक रकम र सो अवधिसम्मको बोनस बीमितले इच्छाएको व्यक्तिले प्राप्त गर्छ । यो पोलिसीमा बीमितले चाहेमा अन्य जोखिम रक्षावरण गर्ने सुविधा पनि लिन सक्छ । यसको लागि बीमितले थप शुल्क भुक्तानी गर्नुपर्छ । 

यस्तै, सावधिक तथा आजीवन बीमालेख ३९ प्रकारका छन् । यो संख्या कुल बीमा पोलिसीको ९ प्रतिशत हो । आजीवन जीवन बीमा भनेको बीमितको मृत्यु पछि उसले इच्छाएको व्यक्तिले एकमुस्ट रुपमा बीमांक रकम र बोनस पाउने पोलिसी हो । 

बालबालिका बीमा पोलिसी ५५ प्रकारका छन् । यो संख्या कुल पोलिसी संख्याको १३ प्रतिशत हो । पछिल्लो समय बालबालिका बीमा पोलिसी निक्कै प्रचलनमा आउन थालेको छ । बालबालिका पोलिसीले अभिभावकको पनि जोखिम रक्षावरण गर्ने भएकाले पनि यो पोलिसी खरिद गर्नेको संख्या बढेको हो ।

कम्पनी अनुसार बालबालिका बीमा पोलिसी भर्खरै जन्मेको बालबालिका देखि ११ वर्षसम्मको बालबालिकाको लागि खरिद गर्न सकिनेछ । कम्पनी अनुसार बालबालिका १८ देखि २१ वर्ष पुरा भएपछि पोलिसी परिपक्क हुने व्यवस्था छ । बालबालिकाको उच्च शिक्षा अध्ययन र विवाह गर्ने उमेर पुगेपछि आवश्यक पर्ने रकम पोलिसीबाट प्राप्त गर्न सकिने हुँदा यो पोलिसी प्रति अभिभावकको आकर्षण बढेको हो  । 

म्यादी बीमालेख ५६ प्रकारका छन् । यो संख्या कुल बीमा पोलिसीको १३ प्रतिशत हो । निश्चित अवधिको लागि बीमा गरिने पोलिसीलाई म्यादी जीवन बीमा पोलिसी भनिन्छ । थोरै रकम वा जोखिमयुक्त क्षेत्रमा काम गर्नेका लागि यो पोलिसी उपयुक्त हुन्छ । जस्तै, ट्रेकिङग गाईड र वैदेशिक रोजगारीमा जाने श्रमिकले खरिद गर्ने पोलिसी म्यादी जीवन बीमा पोलिसी अन्तर्गत पर्छन्  । 

अग्रिम भुक्तानी बीमा पोलिसी ८६ प्रकारका छन् । यो संख्या कुल पोलिसी संख्याको २० प्रतिशत हो । अग्रिम भुक्तानी पोलिसीलाई पैसा फिर्ता योजना पनि भनिन्छ । यो पोलिसी अनुसार बीमा अवधि सकिनु अगावै कम्पनीले विभिन्न किस्तामा बीमितलाई रकम फिर्ता गर्छ । कम्पनीहरूले पोलिसीको अवधि अनुसार तीन देखि चार किस्तामा बीमा रकमको निश्चित प्रतिशत फिर्ता गर्छन् ।

सामूहिक बीमा पोलिसी ३९ प्रकारका छन् । यो संख्या कुल बीमा पोलिसीको ३९ प्रतिशत हो । लघुबीमा पोलिसी ३७ प्रकारका छन् । यो भनेको कुल पोलिसीको ९ प्रतिशत छ । अन्य बीमा पोलिसी १८ प्रकारका छन् । यो कुल पोलिसीको ४ प्रतिशत हो । 

कसरी बन्छ बीमा पोलिसी ?

जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७९ अनुसार बीमा कम्पनीहरुले विक्री गर्ने बीमा पोलिसी बीमा कम्पनी आफैले पनि निर्माण गर्न सक्छन् भने बीमा प्राधिकरणले बनाएका पोलिसीहरु पनि कम्पनीहरूले विक्री गर्न सक्छन् । तर, बीमा कम्पनी आफैले निर्माण गरेका पोलिसी विक्री गर्नु अघि प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृत गरेको हुनुपर्नेछ । प्राधिकरणले स्वीकृत नगरिएका पोलिसी कम्पनीहरूले जारी गर्न पाउँदैनन् ।

ऐन बमोजिम बीमकले विभिन्न प्रकारका बीमा पोलिसी बनाउन सक्नेछन् । बीमकले नेपाली र अंग्रेजी दुवै भाषामा बीमा पोलिसी तयार गरी स्वीकृतको लागि प्राधिकरणमा पेश गर्नुपर्नेछ । बीमकले बीमा पोलिसी तयार गरी कागजात संलग्न गरी प्राधिकरणमा स्वीकृतको लागि पेश गर्नुपर्नेछ । बीमकले कागजातमा सम्बन्धित कार्यकारी प्रमुख वा सो सरहको पदाधिकारीको हस्ताक्षर सहित पेश गर्नुपर्नेछ । बीमकले प्राधिकरणबाट स्वीकृत भए बमोजिमको बीमा पोलिसी जारी गर्नुपर्नेछ । 

पोलिसी बनाउँदा बीमकले आफ्नो र मार्केटको आवश्यकता बमोजिम फिजिबिलिटि स्टडी गर्नुपर्नेछ । फिजिबिलिटि स्टडी अनुकुल बीमांकी मार्फत टेक्निकल नोट बनाउन लगाई कम्पनीको बोर्डबाट स्वीकृत गराउनुपर्नेछ । यसरी बोर्डबाट स्वीकृत भएको पोलिसी कम्पनीले प्राधिकरणमा पेश गर्नुपर्नेछ । बीमकले पेश गरेको पोलिसी प्राधिकरणमा दर्ता भएपछि प्राधिकरणबाट प्रारम्भिक अध्ययन गर्नुपर्नेछ ।

जीवन बीमकको हकमा प्राइसिङग र प्राइसिङगमा आधार लिएका अनुमानहरू जस्तै, मृत्युदर, रोगब्याधि दर, बोनसदर, अतिरिक्त शुल्क, कमिसन, खर्च, मार्जिनको अध्ययन गरिन्छ । यस्तै, अन्य विश्लेषण, नाफा र सेन्सेटिभिटी टेस्ट को प्राविधिक अनुसन्धान गरिन्छ । बीमालेखका व्यवस्था, सुविधाहरु तथा शर्तहरुको कानुनी अध्ययन, बीमितको हत अनुसन्धान र बीमकको जोखिम अनुसन्धान गरिन्छ । 

अध्ययन पछि प्राधिरकणले बीमकलाई आवश्यकता अनुसार छलफल वा प्रस्तुतीकरणका लागि बोलाउँछ । प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनबाट र बीमकसँगको प्रस्तुतीकरण अथवा छलफलबाट आएको टिप्पणी बीमकलाई पठाइन्छ ।

बीमकले प्राधिकरणले गरेको टिप्पणी अनुरूप सच्चाई पुन : स्वीकृतका लागि पेश गर्नुपर्नेछ । उक्त पेश हुन आएको बीमालेखमा अन्य केही टिप्पणी नभई स्वीकृती दिन मनासिब देखिएमा प्राधिरकणले आफनो बीमांकीकोमा प्राविधिक सल्लाहको लागि पठाउँछ । बीमांकीको सल्लाह अनुरुप केही टिप्पणी भएमा बीमकलाई जवाफ माग गर्ने र स्वीकृतीका लागि मनासिब देखिएमा बीमा पोलिसी प्रचलनमा ल्याउन स्वीकृत दिइन्छ ।

प्राधिकरणको स्वीकृती पछि मात्रै कम्पनीहरूले पोलिसी विक्री गर्न पाउने प्राधिकरणका उप निर्देशक दाहालले बताए । प्रचलनमा आएका पोलिसीमा कुनै समस्या देखिएमा प्राधिकरणले त्यसको विक्री वितरण पनि रोक लगाउन सक्छ । कहिलेकाही पोलिसीको व्यवसायको सीमा पनि तोक्न पनि सकिन्छ । पछिल्लो समय प्राधिकरणले एकल भुक्तानी बीमा पोलिसी विक्री वितरणमा कडाई गरेको छ । एकल भुक्तानी बीमा पोलिसीमा अपचलन भएको गुनासो पाइएपछि प्राधिकरणले यसको विक्री वितरणमा कडाइ गरेको हो ।

यस्तै, मनि ब्याक बीमा पोलिसीलाई पनि प्राधिकरणले निगरानीमा राखेको छ । मनि ब्याक पोलिसीको बीमा अभिकर्ता र बीमा कम्पनीले अनियमितता गरेको गुनासो आएपछि प्राधिकरणले मनि ब्याक पोलिसीको विषयमा अध्ययन गरी रहेको छ ।