भैरहवा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३ मा रहेको भूतखोला पछिल्ला वर्षहरूमा चर्चित पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको छ । सानो झरना, नीलो रङको पोखरी र वरिपरिको रमणीय हरियालीले घेरिएको यो स्थान आन्तरिक तथा बाह्य पर्यटकका लागि लोभलाग्दो स्थल बनेको छ । प्राकृतिक दृश्यावलोकनसँगै यहाँ पुग्नेहरूले फोटो खिच्ने, आराम गर्ने र गर्मी समयमा पौडी खेल्ने अनुभव लिन पाउँछन् ।
भूतखोला छोटो यात्राका लागि सहज र मनोरम गन्तव्य भएकाले पाल्पा मात्र नभई नजिकका जिल्लाबाट समेत पर्यटक आउने गरेका छन् । खासगरी युवापुस्ता र सामाजिक सञ्जाल प्रयोगकर्ताबीच यसको लोकप्रियता तीव्र गतिमा बढ्दै गएको छ । प्रकृतिसँग नजिक हुन चाहनेका लागि यो पोखरी आकर्षणको केन्द्र बनेको छ ।
तर, भूतखोलाको सौन्दर्यसँगै जोखिम पनि उत्तिकै बढिरहेको छ । आवश्यक सुरक्षा पूर्वाधार, चेतावनी संकेत र व्यवस्थापनको अभावमा यहाँ पौडी खेल्ने क्रममा धेरैले ज्यान गुमाएका घटनाहरू दोहोरिएको छन् । रमाइलो गर्ने उद्देश्यले पुगेका पर्यटकहरू असावधानी र जोखिमप्रति बेवास्ताका कारण दुर्घटनामा परेका छन् । यसले भूतखोलाको पर्यटकीय छविमाथि प्रश्न खडा गरेको छ ।
भूत खोलामा रेखदेख गर्न बसेका अमिर पाइजाले गर्मी समयमा दैनिक २ सय जना जति टिकट काटेर भित्र प्रवेश गर्ने गरेको बताए ।
भूतखोलामा आन्तरिक भ्रमणमा आएकी नेहा यादवले झरना आकर्षक र रमणिय रहेको बताइन् । उनले रमणीय ठाउँको लागि टाढा जानुु नपर्ने बताउँदै एक पटक यो ठाउँ भिजिट गर्नु पर्ने बताइन् ।
त्यस्तै अर्का आन्तरिक पर्यटक शंकर यादवले पनि रुपन्देहीबाट नजिक रमणिय भूतखोला र झर्ना रहेकाले हेर्न आएको बताए । उनले फिलिम हेरेर दिन बिताउन भन्दा प्रकृति सँग रमाउँदा धेरै आनन्द हुने बताए ।
स्थानीयवासी र सरोकारवाला निकायहरूले सुरक्षामा ध्यान दिन सके मात्र भूतखोलाले सुरक्षित र दिगो पर्यटकीय गन्तव्यको रूपमा थप योगदान दिन सक्ने देखिन्छ । प्राकृतिक सौन्दर्यसँगै आवश्यक संरचना र व्यवस्थापनको संयोजन भएमा भूतखोला पाल्पाको मात्र नभई राष्ट्रिय स्तरको आकर्षण स्थल बन्न सक्ने क्षमता बोकेको छ । यहाँ पाल्पा, रुपन्देही, गुल्मी र भारतबाट समेत आउने गरेका छन् ।
पुनहरि बेल्बासे