काठमाडौं । लघु जीवन बीमा कम्पनीहरूले बाणिज्य बैंकको मुद्दती निक्षेप पछि सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा धेरै लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा तीन लघु जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा दुई अर्ब ३० करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये सबैभन्दा धेरै बाणिज्य बैंकको मुद्दती निक्षेपमा एक अर्ब ८७ करोड रुपैयाँ लगानी गरेका छन् भने सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा २८ करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार गत आवमा गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीले ८९ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ८३ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ भने लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ५६ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले बाणिज्य बैंकको मुद्दती निक्षेपमा ६७ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ७० करोड २५ लाख रुपैयाँ लगानी गरेको छ भने लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ४९ करोड रुपैयाँ लगानी गरेको छ ।
यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ११ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले १२ करोड १६ लाख र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले चार करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ ।
विकास बैंकको मुद्दती निक्षेपमा भने लघुजीवन बीमा कम्पनीले नौ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन् । प्राधिकरणको तथ्यांक अनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आठ करोड ७५ र लिबर्टी माइक्रो इन्स्योरेन्सले एक करोड रुपैयाँ लगानी गरेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले भने विकास बैंकको मुद्दती निक्षेपमा लगानी गरेको छैन ।
नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले २० लाख रुपैयाँ लगानी गरेको छ ।
बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा लघु जीवन बीमा कम्पनीले दुई ६७ लाख रुपैयाँ लगानी गरेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले एक करोड २० लाख र लिबर्टी माइक्रो इन्स्योरेन्सले एक करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ ।
सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा लिबर्टी माइक्रो इन्स्योरेन्सले ९९ लाख रुपैयाँ लगानी गरेको छ । नागरिक लगानी कोष र म्युचुअल फण्डमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले २५ लाख रुपैयाँ लगानी गरेको थियो ।
प्राधिकरणले लघु जीवन बीमा कम्पनीको लगानी सम्बन्धी गरेको व्यवस्था अनुसार कम्पनीहरूले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्रमा आफ्नो लगानीको न्यूनतम् २५ प्रतिशत लगानी गर्न सक्नेछन् । बाणिज्य र पूर्वाधार बैंकको मुद्दती निक्षेप न्यूनतम् ३० प्रतिशत लगानी गर्न सक्नेछन् । यस्तै, विकास बैंकको मुद्दती निक्षेपमा भने कम्पनीहरूले कुल लगानीको बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
यस्तै, कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीको साधार सेयरमा बढीमा १० प्रतिशत लगानी गर्न पाउँछन् । नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार, शेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा बढीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । यस्तै, सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा बढीमा २० प्रतिशत, नागरिक लगानी कोष र म्युचअल फण्डमा बढीमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ ।
आर्थिकन्यूज