शीर्षकहरू

बैंककमा पाटा ट्राभल मार्ट २०२५ सम्पन्न, नेपालको उपस्थिति प्रभावकारी र फलदायी

बैंककमा पाटा ट्राभल मार्ट २०२५ सम्पन्न, नेपालको उपस्थिति प्रभावकारी र फलदायी

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्स र १४ वटा निजी पर्यटन तथा आतिथ्य कम्पनीहरूसंगको सहकार्यमा बैंककमा आयोजित पाटा ट्राभल मार्ट, २०२५ सम्पन्न गरेको छ ।

यही अगस्ट २६ देखि २८ सम्म थाइल्यान्डको बैंककस्थित क्विन सिरिकिट नेशनल कन्वेन्सन सेन्टरमा सम्पन्न पाटाको प्रमुख अन्तर्राष्ट्रिय बीटुबी ट्राभल ट्रेड इभेन्ट-पाटा ट्राभल मार्ट २०२५ मा नेपाल पभेलियन मार्फत विशेष आकर्षण, पर्यटन प्रवर्धन र उल्लेखनीय ब्रान्ड पहिचान स्थापित गरेको पाटा नेपालले जनाएको छ।

मार्टमा ५० भन्दा बढी गन्तव्यबाट आएका एक हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी भएका थिए । ३० वटा गन्तव्यका २२५ संस्थाबाट ४०० भन्दाबढी बिक्रेताहरूले  सहभागिता जनाएकामा जसमध्ये ५२ प्रतिशत बिक्रेताहरू पहिलो पटक सहभागी भएका थिए । त्यसैगरी ४१ वटा प्रमुख स्रोत बजारका २१८ संस्थाहरुबाट २२५ क्रेताहरु उपस्थित भएका थिए, जसमा ६५ प्रतिशतले पहिलो पटक सहभागिता जनाएका पाटा नेपालले जनाएको छ ।

बिबिध नेपाली पर्यटकीय उपजहरु सहित स्तूपा–थिममा सुसज्जित ‘नेपाल पाभेलियन’ सम्पूर्ण प्रदर्शनीबीच अत्यन्तै आकर्षक र मनमोहक बनेको पाटा नेपालले दाबी गरेको छ । यसले अन्तर्राष्ट्रिय खरिदकर्ता र प्रदर्शकहरूको ध्यान खिच्दै प्रशंसा प्राप्त गरेको भनाइ छ।

पर्वतारोहण, पदयात्रा,अध्यात्म, वेलनेस, लक्जरी ट्राभल, समुदाय–आधारित पर्यटन र अन्य जीवन परिवर्तनकारी अनुभवहरू लगायत नेपालका विविध पर्यटन आयामहरूको प्रश्तुतीकरणले नेपाल पभेलियन एक जीवन्त मन्च बन्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सार्वजनिक–निजी साझेदारीको सफल र सशक्त मोडललाई अन्तर्राष्ट्रिय स्तरमा उजागर समेत गरेको पाटा नेपालको दाबी छ।

पाटा ट्राभल मार्ट मार्फत आगामी वर्ष २०२६ जुन २ देखि ४ सम्म काठमाडौँमा आयोजना हुने नेपालकै प्रमुख अन्तर्राष्ट्रिय यात्रा तथा व्यापार प्रदर्शनी मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्टको छैटौँ संस्करणको पनि प्रवर्द्धन गरिएको छ।

उद्घाटन समारोहमा पाटा अन्तर्राष्ट्रिय अध्यक्ष पिटर सेमोनले भने, “थाइल्यान्डको जीवन्त सहर बैंककमा आयोजित पाटा ट्राभल मार्ट २०२५ मा तपाईँहरूलाई स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ। यस हप्ता हामी सबै एशिया–प्रशान्त क्षेत्रमा यात्रा र पर्यटनको भविष्यलाई जोड्न, सहकार्य गर्न, र सामूहिक रूपमा आकार दिन एकत्रित भएका छौँ।

नेपालको सहभागिताबारे प्रतिक्रिया दिँदै पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले भने, “हामीले  यो वर्ष पाटा नेपाल च्याप्टर स्थापना ९१९७५० देखि नेपालमा सार्वजनिक–निजी साझेदारीको ५० औँ  वर्ष बिबिध नबीन एवं रचनात्मक कार्यक्रमसहित मनाईरहेको परिवेशमा छ वर्षपछि पर्यटन बोर्डसँगै पाटा ट्राभल मार्टमा हाम्रो सहभागिता अत्यन्तै प्रभावकारी र सार्थक बनेको छ । यस पटक, प्रकृति, संस्कृति र साहसिक पर्यटन संगसंगै, वेलनेस, लक्जरी, र समुदाय–आधारित पर्यटन का लागि नेपाललाई प्रमुख गन्तव्यका रूपमा प्रवर्धन गर्नेमा हाम्रो ध्यान केन्द्रित रहेको छ।”

मार्टमा नेपालको सफल सहभागितालाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले भने, “पाटा ट्राभल मार्ट २०२५  मा नेपालको सामूहिक उपस्थिति अत्यन्तै प्रभावकारी र फलदायी रह्यो।  मार्टमा नेपाल पर्यटन बोर्ड , पाटा नेपाल च्याप्टर, नेपाल एयरलाइन्स र निजी क्षेत्रका सहकार्यकारी साझेदारहरूको संयुक्त सहभागिता  एवं एकीकृत स्वरले विश्व पर्यटन बजारमा नेपाललाई एक आकर्षक जीवन्त अनुभुतीहरु प्रदान गराउने गन्तव्य तथा वर्षभरिनै  भ्रमण गर्न सकिने एक अद्वितीय हिमाली गन्तव्यका रूपमा शशक्त उपस्थित गरेको छ।

सहकार्यको प्रशंसा गर्दै, स्काल इन्टरनेशनल नेपालका अध्यक्ष रमेश लुइँटेलले नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टर बीचको उत्कृष्ट समन्वयले नेपाललाई अत्यन्तै आकर्षक र प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए । ​​​

मार्टको सफल समापनसँगै आगामी वर्ष पाटा ट्राभल मार्ट मलेसियाको सरावाकस्थित बोर्नियो कन्वेन्सन सेन्टर कुचिङमा २०२६ अगस्ट १८ देखि २० सम्म आयोजना हुने भएको छ।