काठमाडौं । धनुषा जिल्लाका १७ वर्षीय सामाजिक अभियन्ता तथा सामग्री निर्माता कृष यादवलाई गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को उपाधि प्रदान गरिएको छ। यादवलाई ललितपुरको 'द प्लाजा' मा आयोजित विशेष समारोहमा ग्लोकल प्रा।लि।ले सम्मान गरेको हो। विगत एक दशकदेखि ग्लोकल टिन हिरोले शैक्षिक क्षेत्रबाहिर उत्कृष्ट योगदान दिने किशोर९किशोरीहरूलाई पहिचान गर्दै उनीहरूको प्रतिभा उजागर गर्दै आएको छ।
यस वर्षको प्रतियोगितामा कृष यादवलाई अन्तिम ६ प्रतिस्पर्धीहरूबाट छनोट गरिएको हो। अन्य प्रतिस्पर्धीहरूमा स्याङ्जाकी यौन तथा प्रजनन स्वास्थ्य अधिकार अभियन्ता मानुषी न्यौपाने, कपिलवस्तुका जलवायु न्याय अभियन्ता निश्चल ढुङ्गाना, जुम्लाका नीति अभियन्ता अक्सफोर्ड आचार्य, सर्लाहीकी कृषि उद्यमी रेनुका सिंह, र रूपन्देहीका कृत्रिम बुद्धिमत्ता विकासकर्ता सफल पौडेल रहेका थिए।
कृष यादव सामाजिक विज्ञानमा गहिरो चासो राख्ने, सामाजिक अनुसन्धान, कथावाचन र युवाका मुद्दामा क्रियाशील एक प्रभावशाली किशोर हुन्। उनले सार्वजनिक बहस सञ्चालन, राष्ट्रिय मुद्दामा वृत्तचित्र निर्माण, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व, स्थानीय सरकारहरूसँग सहकार्य, र युवाको क्षमता विकासका क्षेत्रमा उल्लेखनीय कार्य गरेका छन्।
उनी 'टीएनसी अनस्क्रिप्टेड' नामक युट्युब च्यानलमा देखिने 'टीएनसी डिबेट' कार्यक्रमका निर्माता तथा होस्ट हुन्, जसमा उनले १५ हजारभन्दा बढी दर्शकहरूको साथमा लोकतान्त्रिक संवादलाई प्रवर्द्धन गरेका छन्। उनी ‘द नेपाली कमेन्ट’ च्यानलका सह–रचनात्मक प्रमुख पनि हुन्, जहाँ उनले सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयमा वृत्तचित्रहरू निर्माण गरेका छन्। यस च्यानलमा करिब ४ लाख ५ हजारभन्दा बढी सदस्य छन्।
कृष हिमालयन भाषाविज्ञान ओलम्पियाड नेपालका राष्ट्रिय संयोजक समेत हुन्। भाषाविज्ञान र कृत्रिम बुद्धिमत्तासम्बन्धी राष्ट्रिय कार्यक्रम सञ्चालन गर्दै उनले युवाहरूलाई समस्या समाधान क्षमतामा प्रशिक्षण दिएका छन्। ‘प्रोजेक्ट विवेक’ अन्तर्गत उनले काठमाडौँ उपत्यकाका ११ विद्यालयका ४८० भन्दा बढी विद्यार्थीहरूसँग शिक्षा प्रणालीबारे गहन सर्वेक्षण गरेका छन्। अहिले उनी समाजशास्त्रीको सल्लाहमा यसै विषयमा अनुसन्धान लेख निर्माण गरिरहेका छन्।
उनी 'प्रोजेक्ट स्टिच' का सह–संस्थापक पनि हुन्। यो परियोजनाले आदिवासी समुदायबाट नैतिक रूपमा संकलन गरिएका कपडाहरू प्रयोग गरेर आधुनिक झोला निर्माण गरी सांस्कृतिक र समसामयिक महत्व जोड्ने काम गर्छ। ‘टीएनसी डिबेट’ मा उनले विद्यार्थीहरूलाई सहभागी गराउँदै समावेशी संवादको अभ्यास गराएका छन्। उनले सह९नेतृत्व गरेका भिडियो कार्यक्रमहरू हाल कक्षाकोठा र सार्वजनिक बहसहरूमा पनि प्रयोग भइरहेका छन्।
ग्लोकल टिन हिरोको अन्तिम प्रतिस्पर्धी चयन उनीहरूको योगदान, सिर्जनात्मकता, प्रभाव, कार्यको दिगोपनाको आधारमा गरिएको थियो। प्रतिस्पर्धीहरूलाई विभिन्न आत्म-सम्बन्धी कार्यशालामा सहभागी गराइएको थियो जहाँ उनीहरूले उद्योग, शिक्षाविद् र अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँग अन्तरक्रिया गर्न पाए।
निर्णायक मण्डलमा कोका-कोला नेपालकी चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका डा। घनश्याम गुरुङ, गोल्छा ग्रुपकी सीमा गोल्छा, भ्वाइथका अध्यक्ष सुरज वैद्य, र युरोपेली सङ्घका चार्ज डी’अफेयर्स थोमस मिलर थिए। प्रतियोगीहरूको आवेदन, जीवनवृत्त, सिफारिसपत्र र निबन्धको आधारमा मुल्याङ्कन गरिएको थियो।
सेप्टेम्बर १, २०२५ मा सम्पन्न उक्त समारोहमा विभिन्न क्षेत्रका कूटनीतिज्ञ, राजनीतिज्ञ, उद्यमी, शिक्षाविद्, सेलिब्रेटी, युवा नेताहरूको उपस्थिति थियो।
आर्थिकन्यूज