काठमाडौं । बीमा कम्पनीहरुले सहायक कम्पनीमा लगानी गर्नका लागि अव विभिन्न मापदण्ड पुरा गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले बीमकको लगानी सम्बन्धी निर्देशिका २०८२ जारी गर्दै विभिन्न मापण्डहरु लागु गरेको हो ।
सहायक कम्पनीमा लागनी गर्ने बीमकले न्यूनतम चुक्ता पूँजी पुरा गर्नुपर्ने पहिलो मापदण्ड रहेको छ । यसैगरी, न्युनतम जोखिममा आधारित पुँजी तथा सोल्भेन्सी मार्जिन १३० प्रतिशत कायम हुनुपर्ने छ भने बीमक पछिल्लो ३ वर्षदेखि नाफामा रहेको तथा लगानी गर्नुपूर्व संचित नोक्सानीमा नरहेको हुनुपर्ने छ ।
यसैगरी, बीमकको नेटवर्थ धनात्मक रहेको हुनुपर्ने र बीमकको संञ्चालक समितिका अध्यक्ष वा सदस्य वा निजका एकाघर परिवारका सदस्य सहायक कम्पनीको सञ्चालक समितिको अध्यक्ष वा सदस्य वा व्यवस्थापकीय जिम्मेवारीमा नरहेको हुनुपर्ने छ ।
सहायक कम्पनीले निष्कासन गर्ने कुनै पनि सुरक्षणपत्रहरू तथा उपकरणमा बीमकले लगानी गर्न पाउने छैन । बीमकले जारी गर्ने शेयर तथा अन्य उपकरणमा सहायक कम्पनीले लगानी गर्न नपाउने निर्देशिकामा उल्लेख छ।
स्वीकृति सम्वन्धी व्यवस्था
बीमक आफैले संस्थापना गर्ने सहायक कम्पनीमा लगानी गर्नुपूर्व देहाय बमोजिमको कागजात सहित प्राधिकरणमा सैद्धान्तिक स्वीकृतिका लागि निवेदन दिनु पर्नेछ :
(क) लगानी गर्ने सम्बन्धमा बीमकको संचालक समितिको निर्णयको प्रतिलिपि,
(ख) कम्पनीको प्रस्तावित प्रबन्धपत्र र नियमावली,
(ग) कम्पनी स्थापना सम्वन्धमा कुनै समझदारीपत्र भएको भए त्यस्तो समझदारीपत्र,
(घ) प्रचलित कानून बमोजिम नियमन हुने व्यवसाय वा कारोबार सञ्चालन गर्ने कम्पनीमा लगानी हुने भएमा त्यस्तो संस्थाको नियमनकारी निकायबाट दिएको सहमतिपत्र वा अनुमतिपत्र,
(ङ) लगानी गर्न लागेको कम्पनीको कम्तिमा दश वर्षको व्यवसायिक योजना सहितको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन,
(च) सहायक कम्पनीमा लगानी गरे पश्चात बीमित तथा साहुको दायित्व भुक्तानी गर्न बीमक सक्षम रहेको तथा बीमकले तरलता व्यवस्थापन गर्न सक्ने प्रमाण,
(छ) लगानी पश्चात बीमकको सोल्भेन्सी मार्जिन अनुपात कायम रहने सम्बन्धमा गरेको विश्लेषण ।
निम्न क्षेत्रहरूमा व्यवसाय गर्नका लागि सहायक कम्पनीमा लगानी गर्न सक्ने :
(क) धितोपत्र सम्बन्धी कानून बमोजिम नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त पब्लिक कम्पनी,
(ख) कृषि उत्पादन, भण्डारण तथा वितरण,
(ग) भण्डारण गृह तथा शीत भण्डार गृह,
(घ) उर्जा उत्पादन, प्रसारण र वितरण,
(ङ) शिक्षा र स्वास्थ्य,
(च) लगानी कम्पनी ।
धितोपत्र सम्बन्धी कानून बमोजिम नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त पब्लिक कम्पनीमा कुल लगानीको बढीमा पाँच प्रतिशत रकमसम्म लगानी गर्न सक्ने सीमा पनि ताेकिएकाे छ । बीमकले सहायक कम्पनीमा गरेको लगानी रकमलाई क्षेत्रगत लगानीको सीमा गणना गर्दा समावेश गर्नुपर्ने हुन्छ ।
निर्देशिका अनुसार बीमकले कुनै सहायक कम्पनीको बहुमत स्वामित्व खरिद गर्नु अघि कागजात तथा विवरणका अतिरिक्त खरिद गर्न लागेको कम्पनीको प्रति शेयर मुल्य गणना गरेको विस्तृत लेखा परीक्षण प्रतिवेदन निवेदन साथ प्राधिकरणमा पेश गर्नुपर्ने हुन्छ।
आर्थिकन्यूज