- नेपाल सरकार र राष्ट्र बैंकको बचतपत्र र ऋणपत्र गरिने लगानीको सीमा १० प्रतिशत बढ्यो
- विकास बैंकको मुद्दती निक्षेपमा गरिने लगानीको सीमा पाँच प्रतिशतले बढ्यो
- वित्त कम्पनीको मुद्दती निक्षेपमा गरिने लगानीको सीमा दुई प्रतिशतले बढ्यो
- बीमा कम्पनीले सहायक कम्पनीमा पाँच प्रतिशतसम्म लगानी गर्न सक्ने
- निर्जीवन बीमा कम्पनीले दाबी भुक्तानी गर्न बाँकी रकम बराबरको रकम एक वर्ष वा सो भन्दा कम अवधिको मुद्दती लगानी गर्नुपर्ने
- लगानी व्यवस्थापन इकाई गठन पर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानीको सीमा बढाएको छ भने लगानीको क्षेत्र फेरबदल गरेको छ । बीमकको लगानी सम्बन्धी निर्देशन २०८२ जारी गर्दै प्राधिकरणले लगानीको प्रक्रिया पनि परिवर्तन गरेको हाे ।
यस अघि प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, लघु जीवन, लघु निर्जीवन र पुनर्बीमा कम्पनीको लागि छुट्टा छुट्टै लगानी निर्देशन जारी गरेको थियो । अहिले सबै निर्देशनलाई एकीकृत गरी नयाँ निर्देशन जारी गरिएको बीमा प्राधिकरणका निर्देशक शाम्बराज लामिछानेले बताए । उनका अनुसार लगानीको नियम पनि परिवर्तन गरिएको छ । ‘पहिला कम्पनीहरुले प्राधिकरणबाट स्वीकृति लिएर मात्रै लगानी गर्नुपर्ने व्यवस्था थियो भने अब देखि कम्पनी भित्र रहेको लगानी कमिटीले पारित गरेपछि लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । सहायक कम्पनीको हकमा भने प्राधिकरणबाट अनुमति लिनुपर्नेछ,’ उनले भने । कम्पनीहरुले गरेको लगानीको विषयमा प्राधिकरणले अनुगमन मात्रै गर्नेछ ।
कम्पनीहरुको लगानी पारदर्शी बनाउन नयाँ निर्देशन जारी गरिएको प्राधिकरणका अध्यक्ष सेवन्तक प्रोख्रेलले बताए । ‘नयाँ निर्देशनले कम्पनीहरुलाई लगानीमा सहज र व्यवस्थित गर्न खोजिएको हो,’ उनले भने ।
नयाँ निर्देशन अनुसार बीमकले लगानी गर्दा बीमा सम्बन्धी दायित्वको अवधिलाई ख्याल गरी लगानी गर्नुपर्नेछ । निर्जीवन तथा लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको हकमा भुक्तानी गर्न बाँकी दाबी बराबरको रकम एक वर्ष वो सो भन्दा कम अवधिको मुद्दती निक्षेपमा लगानी रहेको हुनुपर्नेछ ।
जीवन बीमा व्यवसाय तथा लघुजीवन बीमा व्यवसाय गर्ने बीमकले प्रत्येक पोर्टफोलियोको जीवन बीमा कोष, उक्त पोर्टफोलियो अन्तर्गत प्राप्त प्रिमियम लगायतका अन्य आम्दानीबाट प्राप्त रकमको लगानी तथा सम्पतिको अलग अलग व्यवस्थापन गर्नुपर्नेछ । बीमकले प्रत्येक पोर्टफोलियो तथा शेयरधनीकोषबाट हुने लगानी तथा खरिद भएका सम्पतिको लेखाङ्कन अलग अलग गर्नुपर्नेछ ।
बीमकले एक भन्दा बढी पोर्टफोलियोबाट एकै सम्पति खरिद गरेको वा लगानी गरेको अवस्थामा प्रत्येक पोर्टफोलियोबाट भएको खरिद रकम वा लगानी रकम खुल्ने गरी सम्पति वा लगानीको हिसाब किताब राख्नुपर्ने व्यवस्था गरिएको छ ।
सरकारको बचतपत्र र ऋणपत्र गरिने लगानीको सीमा बढाइयो
नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको लगानी सम्बन्धी निर्देशन जारी गर्दै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको बचतपत्र र ऋणपत्रमा गरिने लगानीको सीमा बढाएको छ । नयाँ निर्देशन अनुसार जीवन बीमा कम्पनीले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्रमा कुल लगानीको कम्तीमा ३५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । प्राधिकरणले तोके अनुसार लगानी गर्न नसक्ने अवस्था आइ परेमा नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका बाणिज्य बैंक र पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न सकिनेछ । यस अघि भने सो क्षेत्रमा कम्पनीहरुलाई आफ्नो कुल लगानीको न्यूनतम् २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको थियो । यसैगरी नयाँ निर्देशनमा प्रदेश सरकार र स्थानीय सरकारको बचतपत्र र ऋणपत्रमा लगानी गर्नुपर्ने व्यवस्था भने हटाइएको छ ।
विकास बैंकको मुद्दती निक्षेप गरिने लगानीको सीमा बढाएर १५ प्रतिशत बनाइएको छ । यसअघि १० प्रतिशत सीमा तोकिएको थियो । वित्त कम्पनीको मुद्दती निक्षेपमा पनि बढीमा सात प्रतिशत लगानी गर्न सकिने व्यवस्था गरिएको छ । यस अघि पाँच प्रतिशतको सीमा तोकिएको थियो ।
यस्तै, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा गरिने लगानीको सीमा भने बढाएर १५ प्रतिशत पुराइएको छ । यसअघि यस क्षेत्रमा कम्पनीहरुले १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो । सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको शेयर र अन्य लगानी भन्ने क्षेत्र भने हटाइएको छ ।
तर, धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डमा कुल लगानीको बडीमा १.५ प्रतिशत लगानी गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । एकै फण्डमा कुल लगानीको बढीमा एक प्रतिशतसम्म लगानी गर्न सकिनेछ । प्राधिकरणले यस अघि लगानीको विभिन्न १३ क्षेत्र तोकेको थियो । अहिले १२ वटा मात्रै तोकेको छ ।
निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीको हकमा भने नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा कुल लगानीको कम्तीमा ३० प्रतिशत लगानी गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ । यस अघि भने सो क्षेत्रमा कम्पनीहरुलाई आफ्नो कुल लगानीको न्यूनतम् २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
लघु जीवन बीमकको हकमा नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा कुल लगानीको कम्तीमा ३५ प्रतिशत लगानी गर्नुपर्नेछ । यस अघि भने सो क्षेत्रमा कम्पनीहरुलाई आफ्नो कुल लगानीको न्यूनतम् २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
बाणिज्य बैंक र पूर्वाधार विकास बैंकमा भने कम्पनीहरुले अब देखि कुल लगानीको ३५ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । यसअघि यस्तो सीमा ३० प्रतिशत थियो ।
लघु निर्जीवन बीमा कम्पनीलाई भने नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा कुल लगानीको कम्तीमा ३० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । यस अघि भने सो क्षेत्रमा कम्पनीहरुलाई आफ्नो कुल लगानीको न्यूनतम् २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
लगानी व्यवस्थापन इकाई गठन गर्नुपर्ने
अब देखि बीमा कम्पनीले लगानी व्यवस्थापन गर्न लगानी सम्बन्धी कार्यको अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी एक लगानी व्यवस्थापन इकाई स्थापना गर्नुपर्नेछ । लगानी व्यवस्थापन इकाईमा बीमकले आवश्यक कर्मचारीको व्यवस्थापन गर्नुपर्नेछ ।
इकाईले बीमकले लगानी गर्नु पूर्व उक्त लगानी सुरक्षित भए नभएको यकिन गर्नेछ । बीमकको लगानी सम्बन्धमा रिस्क एपिटाइट, रिस्क टोलोरेन्स तथा रिस्क क्यापासिटीको सीमा उपयुक्त भए नभएको सम्बन्धमा राय दिनुपर्नेछ ।
बीमकलाई लगानी सम्बन्धी निर्णय गर्न आवश्यक कागजात तथा विवरण तयार गरिदिनु पर्नेछ । बीमकले लगानी सम्बन्धमा बाह्य स्वतन्त्र परामर्शदाताबाट प्राप्त प्रतिवेदन अध्ययन गरी सोमा समावेश भएका विषयहरु ठीक, दुरुस्त र यथार्थपरक रहेको यकिन गर्नुपर्नेछ । बीमकलाई प्राप्त भएका लगानीको अध्ययन विश्लेषण गरी लगानीको प्रतिफल तथा जोखिम सम्बन्धमा प्रतिवेदन गर्नुपर्नेछ । बीमकको लगानीको निर्णयको लागि प्रस्ताव तयार गर्नुपर्नेछ ।
यस्तै, बीमकको तरलता व्यवस्थापन हुने गरी लगानी भएको यकिन गर्नुपर्नेछ । बीमकले लगानी गर्नु पूर्व सोल्भेन्सी तथा जोखिममा आधारित पुँजी कायम हुने यकिन गर्नुपर्नेछ । बीमकको लगानी विविधीकरण भएको यकिन गर्नुपर्नेछ । बीमकले लगानी गरेका परियोजनाको त्रैमासिक प्रगति प्रतिवेदन तयार गर्ने र सो को सञ्चालक समितिबाट प्रमाणित एक प्रति प्राधिकरणमा पेश गर्नुपर्नेछ ।
बीमकले आफनो कोषमा रहेको रकमहरुमध्ये नेपाल राष्ट्र बैंकबाट इजाजत प्रत्र पाप्त बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्नेछ ।
साथै बीमा कम्पनीले सञ्चालक समितिबाट स्वीकृत लगाएर लगानीको नीति लागू गर्नुपर्नेछ । नीतिमा बीमकको लगानीमा रहन सक्ने अन्तर्निहित जोखिम र सोको व्यवस्थापन, सम्पति दायित्व तथा तरलता व्यवस्थापन, लगानी गर्ने सम्बन्धी प्रक्रियागत व्यवस्था र लगानी गर्ने विषयको अख्तियार प्रत्यायोजन सम्बन्धी विषय समेटिएको हुनुपर्नेछ ।
यस्तै, बीमकलाई सरकारी सुरक्षणपत्र र नेपाल राष्ट्र बैंक ऋणपत्रमा लगानी गर्न कुनै प्रकारको बन्देज र सीमा लागू हुने छैन ।
बीमा कम्पनीले प्राधिकरणको पूर्व स्वीकृति लिई सहायक कम्पनीमा लगानी गर्न सक्नेछन् । पब्लिक कम्पनी, कृषि उत्पादन, भण्डारण तथा वितरण, भण्डारण गृह तथा शीत भण्डार गृह, उर्जा उत्पादन, प्रसारण र वितरण, शिक्षा र स्वास्थ्य र लगानी कम्पनीमा लगानी गर्न पाउनेछन् ।
सो क्षेत्रमा कुल लगानीको बढीमा पाँच प्रतिशत रकमसम्म सहायक कम्पनीमा लगानी गर्न सकिनेछ । बीमकले सहायक कम्पनीमा गरेको लगानी रकमलाई क्षेत्रगत लगानीको सीमा गणना गर्दा समावेश गर्नुपर्नेछ ।
सहायक कम्पनीले लगानी गर्नै बीमकले प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गरेको हुनुपर्नेछ । प्राधिकरणले तोकेको न्यूनतम जोखिममा आधारित पुँजी तथा सोल्भेन्सी मार्जिन कायम गरेको हुनुपर्नेछ ।
बीमक पछिल्लो तीन वर्ष देखि नाफा रहेको तथा लगानी गर्नु पूर्व संचित नोक्सानीमा नरहेको हुनु पर्नेछ । बीमकको नेटवर्थ धनात्मक रहेको हुनुपर्नेछ ।
बीमकको सञ्चालक समितिका अध्यक्ष, सदस्य, एकाघरपरिवारका सदस्य सहायक कम्पनीको सञ्चालक समितिको अध्यक्ष वा सदस्य वा व्यवस्थापकीय जिम्मेवारीमा नरहेको हुनुपर्नेछ ।
मुना कुँवर