शीर्षकहरू

बीमा कम्पनीलाई विदेशी मुद्रा सटही सिफारिसमा कडाई, प्रारम्भिक परीक्षण प्राधिकरणले नै गर्ने

बीमा कम्पनीलाई विदेशी मुद्रा सटही सिफारिसमा कडाई, प्रारम्भिक परीक्षण प्राधिकरणले नै गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई विदेशी मुद्रा सटहीको लागि गर्ने सिफारिसमा कडाई गर्ने भएको छ । बीमा कम्पनीलाई मुद्रा सटहीको लागि दिइने अनुमतिको प्रारम्भिक परीक्षण प्राधिकरणले नै गर्ने भएको छ । यसका लागि प्राधिकरणले ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन २०८२’ जारी गरेको छ । 

नेपाली बीमा कम्पनीले विदेशी ब्रोकर वा बीमा कम्पनीसँग पुनर्बीमा गर्दा वा दाबी भुक्तानी विदेशी मुद्रामा नै गर्नुपर्ने प्रावधान छ । यस्तो प्रायोजनका लागि कम्पनीले विदेशी मुद्रा सटही गर्दा नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने व्यवस्था छ । प्राधिकरणको सिफारिस पछि बीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएर विदेशी मुद्रा सटही गर्दै आएका छन् । यसरी बीमा कम्पनीलाई विदेशी मुद्रा सटहीको स्वीकृति दिँदा केन्द्रीय बैंकले आफ्नै निर्देशिका बमोजिम दिँदै आएको छ । 

तर, अहिले केन्द्रीय बैंकले बीमा कम्पनीको मुद्रा सटहीको प्रारम्भिक परीक्षण प्राधिकरणले नै गर्न आग्रह गरेपछि प्राधिकरणले निर्देशन नै निर्माण गरेको प्राधिकरणका निर्देशक शाम्बराज लामिछानेले बताए । उनका अनुसार यस अघि प्राधिकरणले सिफारिस गर्ने राष्ट्र बैंकले आफ्नै निर्देशिका बमोजिम परीक्षण गरी अन्तिम स्वीकृति दिने प्रावधान थियो । अब देखि प्राधिकरणले नै विस्तृत परीक्षण गर्नेछ,’ उनले भने । 

निर्देशन अनुसार बीमकले विदेशी बीमक वा पुनर्बीमक वा नेपालमा रहेका बीमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बीमकलाई सेवा प्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सिधै वा बीमा दलालको संलग्नतामा गरिएको पुनर्बीमासँग सम्बन्धित पुनर्बीमा शुल्क तथा बीमा दाबी रकम, लाभांश फिर्ता, परामर्श सेवा लिए बापतको रकम भुक्तानी गर्न प्राधिकरणको सिफारिस लिएर मात्र गर्नुपर्नेछ । 

बीमकले अतिरिक्त विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानून र नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धमा जारी गरेको निर्देशनको समेत पालना गर्नुपर्नेछ । सिफारिस माग गर्दा बीमकले धारण गरेको जोखिमको हिस्सा बाहेकको बाँकी जोखिम शत प्रतिशत हस्तान्तरण गरेको विवरण तथा स्वघोषणा सहित सारांश पेश गर्नुपर्नेछ । 

सटही सिफारिस माग गर्दा प्रचलित कर, सेवा शुल्क, पुनर्बीमा कमिशन वा त्यस्तै कुनै छुटहरु पाउने भएमा सो समेत कट्टा गरी खुद रकमको भुक्तानीका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था मार्फत विप्रेषण हुने गरी सिफारिस माग गर्नुपर्नेछ । 

प्राधिकरणले विदेशी मुद्रा सटही सिफारिस गर्दा डेबिट नोट र बीजक जारी गर्ने सम्बन्धित पुनर्बीमक वा पुनर्बीमा दलाल वा विदेशी सेवाप्रदायक संस्थाको नाममा मात्र गर्नुपर्नेछ ।सटही सिफारिसका लागि प्राधिकरणमा पेश हुने निवेदनमा बीमकका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गर्नुपर्नेछ । सटहीको लागि पेश हुने सबै संलग्न कागजातको प्रतिलिपिमा बीमक वा पुनर्बीमकको छाप सहित सम्बन्धित कर्मचारीले हस्ताक्षर गर्नुपर्नेछ ।

बीमकले प्राधिकरणबाट सटही सिफारिस प्राप्त मितिले बाणिज्य बैंकको हकमा १५ दिन र नेपाल राष्ट्र बैंकको हकमा ३० दिन भित्र भुक्तानी गरी सोको निस्सा तीन दिन भित्र प्राधिकरणमा पेस गर्नुपर्नेछ । 

सिफारिस माग गर्दा भुक्तानी गर्नुपर्ने अन्तिम मिति उल्लेख भएकोमा सो मितिको कम्तीमा १५ दिन अगावै विदेशी मुद्रा सटही सिफारिसका लागि प्राधिकरणमा पेस गर्नुपर्नेछ । पुनर्बीमा शुल्क किस्ताबन्दीमा भुक्तानी गर्नुपर्ने भएमा पहिलो भुक्तानी गरी सकेको रकमको विवरण तथा निस्सा सहित विदेशी मुद्रा सटही सिफारिस लागि प्राधिकरणमा पेस गर्नुपर्नेछ ।

पुनर्बीमा वा रेट्रोसेशन बापत विदेशी मुद्रा सटही माग गर्दा प्राधिकरणले जारी गरेको बीमकको पुनर्बीमा निर्देशिका बमोजिम सूचीकरण भएका विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलाल र सोही निर्देशिका बमोजिमको रेटिङ्ग प्राप्त पुनर्बीमकको लागि मात्र सिफारिस गरिनेछ ।

तर, बीमकको पुनर्बीमा निर्देशिका २०८० लागू हुनु पूर्व गरिएका बीमा वा पुनर्बीमा सम्झौतासँग सम्बन्धित रकमको भुक्तानीका लागि विदेशी मुद्रा सटही सिफारिस माग गर्न वा प्रदान यस निर्देशनले बन्देज गर्ने छैन ।