काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको विशेष साधारणसभा पूर्व निर्धारित मिति (भदौ २४) गते नै हुनेब भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लगाएको रोक फुकुवा भएसँगै विशेष साधारणसभा भदौ २४ गतेनै हुने भएको हो ।
नाडाले भदौ २४ गतेका लागि विशेष साधारणसभा बोलाएको थियो । उक्त निर्णय विरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सोमबार उजुरी परेपछि प्रशासनले हाललाई स्थागित गर्न निर्देशन दिएको थियो । यसका साथै ७ दिनभित्र उपस्थिति हुन पनि प्रशासनले भनेको थियो ।
मंगलबार दुवै पक्षसँग छलफल गरी नाडाबाट आवश्यक कागजात र स्पष्टीकरण प्राप्त गरेपछि प्रशासनले उक्त स्थगन आदेश फुकुवा गरेको नाडाले जानकारी दिएको छ । 'सो पत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि प्रचलित कानुन, संस्थाको विधान र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संस्थाले वार्षिक साधारण सभा, विशेष साधारण सभा वा अन्य आवश्यक निर्णय गर्न सक्ने अधिकार राख्दछ । यससँगै नाडाको विशेष साधारण सभा तोकिएकै मितिमा निर्वाध रुपमा सम्पन्न हुने मार्ग प्रशस्त भएको छ ।’ प्रशासनले दिएको पत्रमा भनिएको छ ।
यता नाडाले भने पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने जस्ता आरोपहरू पूर्ण रूपमा गलत भएको जनाएको छ। 'नाडाले कहिल्यै व्यक्तिगत स्वार्थ वा मनपरीका आधारमा निर्णय गरेको छैन। नेतृत्व चयन र पद हस्तान्तरण, सदस्यहरूको प्रत्यक्ष सहभागिता र मताधिकार मार्फत निर्वाचन सहितको साधारण सभाबाटै हुनेछ भन्नेमा संस्था अडिग छ ।’ नाडाको भनाई छ ।
यसै सन्दर्भमा, नाडाको अध्यक्ष करणकुमार चौधरीले यस संस्थामाथि उठाइएका सबै भ्रामक दाबीहरूको खण्डन गर्दै भनेका छन् । 'म पदमा बसिरहन कुनै व्यक्तिगत स्वार्थ राखेको छैन। यदि सबै सरोकारवालाले सहमति जनाउनु भयो भने, म तुरुन्तै निर्वाचन सहितको वार्षिक साधारण सभा बोलाएर पद हस्तान्तरण गर्न तयार छु। संस्थाको नेतृत्व सदस्यहरूको मताधिकार र लोकतान्त्रिक प्रक्रियाबाट नै तय हुन्छ भन्नेमा म दृढ छु ।’
नाडा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूको साझा संस्था हो, कुनै व्यक्तिको स्वार्थका लागि प्रयोग गरिने संगठन होइन। संस्थागत सुधार र भविष्यका योजनाहरू पारदर्शि, निष्पक्ष र सदस्यहरूको सामूहिक निर्णयका आधारमा मात्र अघि बढाउने उनको भनाई छ ।
भदाै २४ गते हुने विशेष साधारणसभा संघलाई महासंघमा रुपान्तरण गर्ने एजेन्डा पेश हुनेछ।
आर्थिकन्यूज