शीर्षकहरू

बीमा फ्रड : नक्कली कागजपत्र पेश गरी नेपाल माइक्रोबाट ६० लाख भुक्तानी लिने गिरोह पक्राउ

बीमा फ्रड : नक्कली कागजपत्र पेश गरी नेपाल माइक्रोबाट ६० लाख भुक्तानी लिने गिरोह पक्राउ

काठमाडौं । मोटर दुर्घटना भएको भन्दै नक्कली कागजपत्र पेश गरी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट करिब ६० लाख रुपैयाँ भुक्तानी लिने गिरोह पक्राउ परेका छन् । वि एण्ड वि अस्पतालको नक्कली कागजपत्र बनाई तेस्रोपक्ष बीमाको दाबी लिने ६ जनालाई प्रहरी कार्यालय तिनकुनेले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको निजगढ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरामा बस्दै आएका ४५ वर्षिय मनोज कुमार आचार्य, काभ्रेको पाँचखालका हरि प्रसाद गौतम, सर्लाही घर भई हाल काठमाडौंमा बस्दै आएका सुनिल सापकोटा, काठमाडौंका विनोद डंगोल, गोदावरीका ३६ वर्षिय सुनिल महर्जन र ३३ बर्षिय विकेश कुँवर रहेको प्रहरीले जनाएको छ । यी मध्ये एक जना कम्पनीका कर्मचारी हुन् । 

सो गिरोहले विभिन्न नामका व्यक्ति तथा आफन्तको मोटर तेस्रो पक्ष बीमा गराउने र दुर्घटना भएको नक्कल कागजपत्र पेश गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले कम्पनीमा १५ वटा भन्दा धेरै दाबी पेश गरेका थिए । कम्पनीले १३ वटा दाबीको भुक्तानी गरी सकेको नेपाल माइक्रो इन्स्योरेन्सका सूचना अधिकारी सुशान्त थापाले बताए । दुई वटाको भने दाबी भुक्तानी हुन पाएको थिएन । 

बीमा दाबीका नाममा ठगी गर्ने सो गिरोहसँग कम्पनी कै कर्मचारीको पनि मिलेमतो रहेको प्रहरीको दाबी छ । ‘ठगी गिरोहले दुर्घटनाको दाबी पेश गरेपछि घटनाबारे बुझन जाने कर्मचारीले कम्पनीलाई झुठ्ठा विवरण दिएर ठगी गर्न सघाएको पाइएको छ । ती कर्मचारीले प्रत्यक्ष निरीक्षण गर्न जाँदा कुनै पनि त्रुटि नभेटिएको विवरण बुझाए पछि कम्पनीलाई शंका लागेको रहेछ,’ प्रहरीले जनाएको छ । 

कर्मचारी प्रति शंका लागेपछि कम्पनीले कानूनी सल्लाहकारलाई घटनाबारे बुझन पठाएको थियो । कानूनी सल्लाहकारले दाबीमा नक्कली विवरण पेश भएको कम्पनीलाई जानकारी गराएका थिए । त्यसपछि कम्पनीले प्रहरीलाई उजुरी गरेको थियो । 

दुर्घटना बीमाको दाबी पेश गर्दा ठगी गिरोहले ललितपुरको ग्वार्काेमा रहेको वि एण्ड वि अस्पतालबाट नक्कली कागजात बनाएका थिए । यसैगरी, उनीहरुले सरकारको विभिन्न निकायहरुको फेक स्ट्याम्प तथा फेक लेटर प्याड पनि बनाएर दुरुपयोग गरेको प्रहरीले जनाएको छ । 

बीमा कम्पनीमा हुने नक्कली दाबीको यो पहिलो घटना भने होइन । बीमाका नाममा साना ठुला धेरै ठगी हुने गरेको प्रहरीको भनाई छ । तर, कम्पनीहरुले भने ब्राण्ड जोगाउन मौन बस्ने गरेको प्रहरीले जानएको छ। नेपाल माइक्रोले भने आफ्ना गोप्य सूचनाहरू प्रहरीलाई उपलब्ध गराएर साहसिक काम गरेको प्रहरीको भनाई छ ।

यता कम्पनीले भने यस साहसिक कदमले सम्पूर्ण बीमा उद्योगमा जनताको विश्वासलाई समेत मजबुत बनाएको दाबी गरेको छ।