शीर्षकहरू

दुई वाणिज्य बैंकले घोषणा गरे लाभांश, एघार बैंकले दिन सक्छन् दोहोरो अंकको लाभांश, ४ बैंकको भने ऋणात्मक

दुई वाणिज्य बैंकले घोषणा गरे लाभांश, एघार बैंकले दिन सक्छन् दोहोरो अंकको लाभांश, ४ बैंकको भने ऋणात्मक

काठमाडौं । नेप्सेमा सूचीकृत रहेका वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गर्न थालेका छन् । हालसम्म दुई वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । केहि वाणिज्य बैंक लगायतका आधादर्जन बढी कम्पनी दशैं अघि नै लाभांश बाड्ने तयारीमा रहेका छन् ।

आर्थिक वर्ष सकिएको ३ महिनाभित्र वाह्य लेखापरीक्षण गर्नुपर्ने व्यवस्था छ । वित्तीय विवरणको वाह्य लेखापरीक्षण गरिसकेपछि अपरिस्कृत अहिलेको नाफा, लाभांश क्षमता लगायत धेरै सूचक हेरफेर हुन सक्नेछन् । वास्तविक लेखापरीक्षण सकिएपछि बैंकका सञ्चालक समितिले औपचारिक बैठकमार्फत शेयरधनीलाई क्षमताका आधारमा धमाधम लाभांश घोषणा गर्नेछन् ।

वाणिज्य बैंकहरुले पुस मसान्तभित्र साधारणसभा गरी घोषित लाभांश पारित गर्दछन्। आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने व्यवस्था छ । साधारणसभाबाट लाभांश पारित गरेपछि मात्रै लगानीकर्ताले बोनस शेयर डिम्याट खातामा र नगद लाभांश बैंक खातामा पाउने छन् । 

दुई वाणिज्य बैंकले घोषणा गरे लाभांश

गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा पहिला लाभांश घोषणा गर्नेमा माछापुच्छ्रे सबैभन्दा पहिलो वाणिज्य बैंक बनेको छ । जसले लाभांश पारित गर्न असोज १० गते साधारण सभा बोलाएको छ । बैकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । माछापुच्छ्े बैंकको लाभांश क्षमता ९.२३ प्रतिशत रहेको थियो ।

यस्तै एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।  बैंकले १४ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस शेयर दिने भएको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भइ वार्षिक साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

बैंकले गत वर्ष ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्ष बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ थियो । यस आधारमा बैंकले ३८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । तर, बैंकले केही रकम जगेडामा राखेर २० प्रतिशत मात्रै वितरण गर्ने निर्णय गरेको हो । बैंकले साधारण सभाको सूचना प्रकाशित गरेको छैन् । एभरेष्ट बैंक पनि दशैं अघि नै साधारणसभा गर्ने तयारीमा छ । 

एघार बैंकले दिन सक्छन् दोहोरो अंकको लाभांश, ४ बैंकको भने ऋणात्मक

वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा चार बैंकको लाभांश क्षमता नकारात्मक रहेको छ । २० वाणिज्य बैंकहरुमा १६ वटा बैंकहरुको लाभांश क्षमता धनात्मक देखिन्छ । अघिल्लो वर्ष लाभांश दिन नसकेका ५ वाणिज्य बैंक यसवर्ष लाभांश दिनसक्ने अवस्थामा पुगेका छन् ।

२० वटा वाणिज्य बैंकहरुमध्ये कुमारी बैंक, हिमालयन, नेपाल बैंक र एनआइसी एसिया बैंकको लाभांश वितरण क्षमता ऋणात्मक रहेको छ । यी चार बैंकले अघिल्लो वर्ष पनि लाभांश दिन सकेका थिएनन् । अघिल्लो वर्ष लाभांश दिन नसकेका एनएमबि, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यो वर्ष लाभांश वितरण क्षमता धनात्मक भएको छ ।

प्रकाशित विवरण अनुसार एभरेष्ट बैंकको लाभांश वितरण क्षमता सबैभन्दा धेरै देखिएको छ । गत वर्षको नाफाबाट एभरेष्टले ३८.२७ प्रतिशतसम्म लाभांश दिनमिल्नेमा २० प्रतिशत मात्र प्रस्ताव गरेको छ ।  सानिमा बैंकले पनि लाभांश क्षमता दोब्बर बनाएको छ । दोस्रोमा रहेको सानिमा बैंकको लाभांश वितरण क्षमता २०.४७ प्रतिशत छ ।  गत वर्ष २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड छ । 

बैंकहरुको विवरण हेर्दा ११ बैंकले दोहोरो अंकमा लाभांश दिन सक्ने अवस्था छ । ५ बैंकले एकल अंकमा लाभांश दिनसक्ने क्षमता राख्दा ४ बैंक लाभांश दिन नसक्ने अवस्थामा रहेका छन् । दोहोरो अंकमा लाभांश बाड्ने क्षमता राख्नेमा स्टान्डर्ड चार्टर्ड बैंकको १९.८५ प्रतिशत, कृषि विकास बैंकको १८.४२ प्रतिशत, नबिलको १७.६४ प्रतिशत लाभांश वितरण क्षमता छ ।

यसैगरी, प्राइम कमर्सियल बैंकको १४.३३, ग्लोबल आइएमईको १४.११, सिद्धार्थ बैंकको १३.२२ प्रतिशत, माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत, लक्ष्मी सनराइजको १२.३४, नेपाल एसबीआइको ११.२९, एनएमबिको १०.४० प्रतिशत लाभांश वितरण क्षमता छ । यस्तै, माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत र सिटिजन्स बैंकको लाभांश वितरण क्षमता ५.२५ प्रतिशत छ । त्यसैगरी, प्रभु बैंकको ४.४४ प्रतिशत लाभांश क्षमता देखिएको छ ।

औसतमा सूचीकृत १९ वाणिज्य बैंकले दिन सक्ने लाभांश क्षमता ११ प्रतिशत छ । ११ बैंकले यो पटक दोहोरो अंकको लाभांश दिने क्षमता बनाएका छन् । कर्जा असुुलीमा बैंकहरु सफल भएसँगै यो पटक लाभांश क्षमता बढेको छ । कतिपय बैंकको नाफा उच्च देखिए पनि लाभांश क्षमता कमजोर छ । 

अघिकांश बैंकहरुको ब्याज आम्दानी बढेको छ । साथै, केहीको इम्पेयरमेन्ट चार्ज घटेको छ । जसकारण नाफामा सुधार देखिएको हो । नाफासँगै लाभांश वितरण क्षमतामा पनि सुधार आएको हो । तर कतिपय बैंकको खराब कर्जा बढेको छ । कतिपय पुँजीकोषको दबाबमा रहेका छन् । जसले गर्दा केही बैंकहरुले लाभांश क्षमता अनुरुपको लाभांश वितरण गर्न नसक्ने अवस्था पनि रहन्छ । गतवर्ष पनि अधिकांश बैंकले आफ्नो लाभांश क्षमता भन्दा कम मात्र लाभांश वितरण गरेका थिए । 

आधादर्जनले दशैं अघि नै लाभांश दिने तयारीमा 

यस्तै नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले पनि लाभांश घोषणा गरेको छ । बैंकको भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१-८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। 

बैंकका अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रहेको छ। नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

माछापुच्छ्रे, एभरेष्ट, सानिमा, सिटिजन्स, निफ्रा र कामना सेवा विकास बैंकसँगै मञ्जु श्री फाइनान्सले पनि लगानीकर्तालाई दशैंअघि गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गर्न आवश्यक प्रक्रिया सुरु गरेका हुन् ।

शेयरधनीलाई दशैंअघि प्रतिफल घोषणा गर्न बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरणको अन्तिम लेखापरीक्षण गराई नेपाल राष्ट्र बैंकमा वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति (प्रिलिमनरी अप्रुभल) का लागि जानुपर्ने हुन्छ। हाल बैंक घोषित लाभांशमा राष्ट्र बैंकको अन्तिम स्वीकृति लिने प्रकृयामा छ ।

अन्तिम स्वीकृति लिएर पछि बैंकले वार्षिक साधारण सभाको मिति तय गर्ने छ। बाँकीमध्ये निफ्रा, कामना सेवा विकास बैंक र मञ्जुश्री फाइनान्सले गत आवको सम्बन्धित सुपरिवेक्षण विभागमा प्रिलिमनरी अप्रुभलको लागि पुगेका छन्। सानिमा र सिटिजन्स बैंकले पनि अन्तिम लेखापरीक्षण समाप्त गरी त्यसमा थप रिभ्यु गरिरहेका छन्।

कुन बैंकले कति दिन सक्छ लाभांश ?

null