काठमाडौं। नेपालको जलविद्युत क्षेत्रमा ‘हाइड्रो बाजे’ को उपनामले चर्चित गुरु प्रसाद न्यौपाने र उनको समूहले प्राथमिक तथा हकप्रद शेयरमार्फत सर्वसाधारणबाट अर्बौं रुपैयाँ संकलन गरिरहेका छन्। जलविद्युत क्षेत्रमा विवादास्पद पात्रका रुपमा चिनिने न्यौपाने र उनको समूहले अरुण काबेली पावर कम्पनी लिमिटेडमा आर्थिक अनियमितता र मनपरी गरेको आरोप लागेको छ ।
पछिल्लो समय अरुण काबेली पावर कम्पनी लिमिटेडले हाल कायमा चुक्तापुँजीको ५० प्रतिशत अर्थात २ : १ अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । जसले लगानीकर्ताहरुमाझ जोखिम, पारदर्शिता र पुँजीको सदुपयोगबारे गम्भीर प्रश्न खडा गरेको छ।
न्यौपाने समूहका कम्पनीहरुमा पारिवारिक नियन्त्रण, इनसाइडर ट्रेडिङका पुराना काण्ड र लगानीको पारदर्शितामाथि उठेका प्रश्नहरुले यो मुद्दालाई थप जटिल बनाएको छ । ठेक्कामा मिलेमतो, आर्थिक अनुशासन उल्लंघन र जथाभावी लगानीका कारण बदनाम न्यौपाने समूहले सर्वसाधारणबाट प्राथमिक तथा हकप्रद शेयरमार्फत अर्बौं रुपैयाँ संकलन गर्दै आएको छ ।
अरुण काबेलीले हालै दुई बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो चुक्ता पुँजी ३ अर्ब ८९ अर्ब रुपैयाँको पचास प्रतिशत १ अर्ब ९४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । यसका लागि असोज ३ गते साधारण सभा बोलाएको छ । यसअघि २०८० भदौमा पनि अरुण काबेलीले १ बराबर १ अनुपातमा १ अर्ब ६५ करोड रुपैयाँ संकलन गरेको थियो।
कम्पनीमा अरुण भ्यालीको संस्थागत लगानीसहित न्यौपाने समूहको १४ प्रतिशत शेयर हिस्सा छ । जबकि बाँकी लगनाीकर्ताको शेयर हिस्सा ८६ प्रतिशत रहेको छ । यो पटकको साधारण सभामा ८६ प्रतिशत शेयरधनीहरू एकजुट भएर न्यौपाने समूहको मनपरीविरुद्ध उभिने तयारीमा छन्। १४ प्रतिशत शेयरको आधारमा कम्पनीमा रजाइँ गर्दै आएको न्यौपाने समूहलाई कडा चुनौती सामना गर्नुपर्ने देखिन्छ । कम्पनीमा ३० प्रतिशत शेयर सर्वसाधारण तथा ७० प्रतिशत शेयर संस्थागत लगानीकर्ताहरुको रहेको छ ।
शेयरधनीहरुले नयाँ सञ्चालक समिति चयन गर्नेसहित कम्पनीको सम्पूर्ण हिसाबको स्वतन्त्र लेखापरीक्षणको माग गर्ने तयारीमा रहेको एक लगानीकर्ताले आर्थिक न्युजलाई बताए।
गुरुप्रसाद न्यौपानेले कार्यकारी अध्यक्षको रुपमा कम्पनीमा मनपरी गर्दै आएको बेलामा शेयर बिक्रीमा भित्री कारोबारको कसुरमा धितोपत्र बोर्डको कारबाहीपछि उनले राजीनामा दिएका थिए । तर, नेप्सेको वेभसाइटमा भने कार्यकारी अध्यक्षमा गुरुप्रसाद न्यौपाने नै रहेको देखिन्छ ।
कम्पनीको वेभसाइटका अनुसार भने रमेशप्रसाद न्यौपाने कार्यकारी अध्यक्ष रहेका छन् । न्यौपानेले राजिनामा दिए पश्चात उनका भतिज रमेशप्रसाद न्यौपानेलाई कार्यकारी अध्यक्ष बनाए पनि पर्दा पछाडिबाट आफैंले नियन्त्रण कायम राख्ने गरेका छन। कम्पनीको वार्षिक प्रतिवेदनमा वित्तीय स्वास्थ्य राम्रो देखाइए पनि पुँजीको दुरुपयोग, हचुवामा लगानी र कागजी घोटाला गरेको आरोप शेयरधनीहरुले लगाएका छन्।
न्यौपाने समूहले जलविद्युत कम्पनीहरूमा भित्री कारोबार र भ्रष्टाचार गरेको आरोप प्रमाणित पनि भइसकेको छ । यस पटकको साधारणसभामा शेयरधनीहरुले कम्पनीको पारदर्शिताका लागि हिसाब किताबको स्वतन्त्र लेखापरीक्षण र कडा कारबाहीको माग गर्दैछन्। यो साधारण सभाले अरुण काबेलीको भविष्य र न्यौपाने समूहको प्रभावलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।
सञ्चालक समितिमा नातागोता भर्ती गर्न माहिर न्यौपानेले
न्यौपाने समूहको हालीमुहाली रहेको अरुण भ्याली, अरुण काबेली, रिदी हाइड्रोपावर र अपी पावर जस्ता कम्पनीका लगानीकर्ताहरु उच्च जोखिममा पर्न सक्ने देखिन्छ । यी कम्पनीहरु न्यौपानेका नातागोता र आसेपासेले भरिएका छन् । जलविद्युत कम्पनीहरूमा भित्री कारोबार र भ्रष्टाचार गरेको आरोप प्रमाणित भइसकेपछि उनले यस्तै नातागोता र आसेपासे मार्फत कम्पनीको गतिविधि आफ्नो नियन्त्रणमा राख्दै आएका छन् ।
हाल अरुण काबेलीको सञ्चालक समितिमा भतिज रमेशप्रसाद न्यौपाने कार्यकारी अध्यक्ष छन् । जो अरुण भ्यालीको प्रबन्ध निर्देशक पनि हुन्। सञ्चालकहरुमा न्यौपानेका साला सुशील तिमिल्सिना, जीवनराज शाक्य, सलिन नेपाल र शाश्वत चालिसे छन्। थानेश्वर भट्टराई कम्पनी सचिव र दिव्या कोइराला फाइनान्स म्यानेजर छन्। कोइरालालाई न्यौपाने समूहको अर्को कम्पनी रिदी पावरको स्वतन्त्र सञ्चालक बनाइएको छ । जसले आर्थिक अनियमितताको आशंका झनै बलियो बनाएको छ ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको सञ्चालक समितिमा पनि गुरु प्रसाद न्यौपानेका निकट व्यक्तिहरु छन्। अपी पावरमा अध्यक्ष गुरु न्यौपानेकी बुहारी शृजना खड्का अध्यक्ष र प्रबन्ध निर्देशकमा छोरा सञ्जीव न्यौपाने छन्। अन्य सञ्चालकहरुमा दिवाकर प्रसाद न्यौपाने, मधुसूदन कोइराला र मिलन खड्का जस्ता नातेदार छन्।
रिदि पावरमा न्यौपानेले भान्जा कुबेरमणि नेपाललाई पहिला प्रबन्ध निर्देशक हाल अध्यक्ष बनाएका छ्न । एउटै व्यक्ति विभिन्न कम्पनीमा फरक-फरक पदमा रहने र सञ्चालक समितिमा नातेदारहरुको बहुमत राख्ने शैलीले पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ ।
हकप्रद शेयर उठाउदै, अन्धाधुन्ध लगानी गर्दै
न्यौपाने समूहले अरुण काबेलीमा मात्र होइन अन्य कम्पनीमा पनि हकप्रद पश्चात हकप्रद बिक्री गर्ने गरेको पाइएको छ । केहि समय अघि मात्र न्यौपाने समूहको ट्रेड टावरको प्राथमिक शेयरबाट ३५ करोड रुपैयाँ संकलन गरेको थियो। ट्रेड टावरले चुहिएको छानो टाल्ने लगायतका उदेश्य राखेर आईपीओ जारी गरेको थियो ।
यस्तै, अपी पावर कम्पनीले सुरुको १ अर्ब चुक्ता पुँजीबाट पटक–पटक हकप्रद शेयर जारी गरी हाल ६ अर्ब ७५ करोड रुपैयाँ पु¥याएको छ । जसमा सर्वधारण लगानीकर्ताको ४२ प्रतिशत तथा संस्थापक शेयरधनीहरुको लगानी ५८ प्रतिशत रहेको छ ।
अपीले हालै ५० मेगावाटको दिव्यज्योति हाइड्रोपावर खरिद गरेको छ भने इङ्वा हाइड्रोपावर, अपी हाइड्रो मेकानिकल, सूर्यकुण्ड हाइड्रो, दार्चुला पावर, अपी चमेलिया पावर, लत्तीनाथ पावर, अपी इन्फ्रा, अपी स्प्रिङ र अपी होल्डिङ्स जस्ता कम्पनीहरूमा करोडौं लगानी गरेको छ ।
यी कम्पनीहरूले नयाँ जलविद्युत आयोजनामा लगानी बढाउने नाममा बारम्बार पुँजी संकलन गरिरहेका छन्। तर, पारिवारिक नियन्त्रणमा रहेका यी कम्पनीहरूले उठाएको रकमको सदुपयोग भएमा सर्वसाधारण लगानीकर्ताको पुँजी जोखिममा पर्ने खतरा विज्ञहरुले औंल्याएका छन्।
इनसाइडर ट्रेडिङ र कानुनी कारबाही
गुरु प्रसाद न्यौपाने शेयर बजारका विभिन्न काण्डमा मुछिएका छन्। उनलाई इनसाइडर ट्रेडिङको आरोपमा पटक–पटक कारबाही भएको छ । विशेष अदालतले उनलाई इनसाइडर ट्रेडिङमा दोषी ठहर गर्दै १ वर्ष कैद, १ अर्ब ९९ करोड जरिवाना र ३.९८ करोड बराबरको सम्पत्ति जफत गर्ने फैसला सुनाएको थियो ।नेपाल धितोपत्र बोर्डले उनलाई १० वर्षसम्म कुनै पनि सार्वजनिक कम्पनीको सञ्चालक बन्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । साथै ७५ हजार जरिवाना तोकेको थियो।
यी घटनाले न्यौपानेलाई शेयर बजार र जलविद्युत क्षेत्रमा ठगीको नजिरका रुपमा स्थापित गरेको छ । लगानीकर्ताले आशा र भविष्यको प्रतीक मानेर खरिद गरेका शेयरहरु आज घाटामा डुबेका वा धितोमा परेका छन्। तर, अझै पनि न्यौपाने समूहले नयाँ आयोजनाको नाममा तथा हकप्रदको माध्यमबाट सर्वसाधारणबाट अर्बौं रुपैयाँ संकलन गरिरहेको छ ।
न्यौपाने समूहले उठाएको पुँजीको सदुपयोग हुने ग्यारेन्टी कसले लिन्छ ? भन्ने प्रश्न अझै अनुत्तरित छ । लगानीकर्ताहरूले यस्ता कम्पनीमा पैसा हाल्नुअघि गम्भीर विश्लेषण र सावधानी अपनाउनु जरुरी छ । साथै धितोपत्र बोर्डले न्यौपाने समुहको प्राथमिक शेयर, हकप्रद शेयर जारी गर्ने प्रस्ताव उपर गम्भीर ढंगले अध्ययन गर्नु पर्ने देखिन्छ ।
आर्थिकन्यूज