काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरूले विभिन्न कम्पनीको सेयरमा एक खर्ब ५४ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा, निर्जीवन बीमा, लघु जीवन बीमा, लघु निर्जीवन बीमा र पुनर्बीमा कम्पनीले कम्पनीको साधारण सेयर, अग्राधिकार सेयर र संस्थापक सेयरमा लगानी गरेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमा कम्पनीले विभिन्न कम्पनीका सेयरमा एक खर्ब २९ अर्ब १० करोड रुपैयाँ लगानी गरेका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीले १४ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेका छन् ।
लघु जीवन बीमा कम्पनीले ३२ करोड रुपैयाँ लगानी गरेका छन् भने लघु निर्जीवन बीमा कम्पनीले ३२ करोड ३६ लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै, पुनर्बीमा कम्पनीहरुले १० अर्ब १५ करोड रुपैयाँ लगानी गरेका छन् ।
कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको सेयरमा ४० अर्ब ८२ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन् । वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा ६४ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ लगानी गरेका छन् । सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्रमा २१ अर्ब २४ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन । इन्भेष्टमेन्ट कम्पनीको सेयरमा ६ अर्ब ३९ करोड ५८ लाख रुपैयाँ लगानी गरेका छन् भने अन्य संस्थापक सेयरमा १८ अर्ब ८८ करोड ४७ लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै, कम्पनीहरुले सूचीकृत नभएको पब्लिक कम्पनीको सेयरमा दुई अर्ब १७ करोड २६ लाख रुपैयाँ लगानी गरेका छन् ।
पब्लिक कम्पनीको सेयरमा तोकिएको सीमा भन्दा बढी लगानी गर्दै लघु र पुनर्बीमा कम्पनी
लघु बीमा कम्पनी र पुनर्बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा तोकिएको सीमा भन्दा बढी लगानी गरेको पाइएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार लघु जीवन बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा २८ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम कुल लगानी रकमको १२.३४ प्रतिशत हो । लघु जीवन बीमा कम्पनीले गत वर्ष विभिन्न क्षेत्रमा दुई अर्ब ६ करोड रुपैयाँ लगानी गरेका छन् ।
लघु निर्जीवन बीमा कम्पनीले भने सूचीकृत पब्लिक कम्पनीको सेयरमा ३१ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम कुल लगानी रकमको दुई अर्ब ५० करोड ९१ लाख रुपैयाँ लगानी गरेका छन् । गत वर्ष लघु निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा दुई अर्ब ५० करोड ९१ लाख रुपैयाँ लगानी गरेका थिए ।
पुनर्बीमा कम्पनीले भने गत वर्ष सूचीकृत पब्लिक कम्पनीको सेयरमा पाँच अर्ब २८ करोड ४० लाख रुपैयाँ लगानी गरेको थियो । यो रकम कुल लगानी रकमको १२.८७ प्रतिशत हो । गत वर्ष कम्पनीले विभिन्न क्षेत्रमा ४१ अर्ब २ करोड ६५ लाख रुपैयाँ लगानी गरेका थिए ।
तर, प्राधिकरणले बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा आफनो कुल लगानी बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था गरेको छ । सो क्षेत्रमा जीवन बीमा कम्पनीले भने कुल लगानीको चार प्रतिशत र निर्जीवन बीमा कम्पनीले भने ६ प्रतिशत मात्रै लगानी गरेका छन् ।
गत वर्ष जीवन बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३० अर्ब ५२ करोड २८ लाख र निर्जीवन बीमा कम्पनीको सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा चार अर्ब ४२ करोड १८ लाख रुपैयाँ लगानी गरेका छन् ।
वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा भने जीवन बीमा कम्पनीले ७.८४ प्रतिशत, निर्जीवन बीमा कम्पनीले ४.३१ प्रतिशत, लघु जीवन बीमा कम्पनीले १.१६, लघु निर्जीवन बीमा कम्पनीले ०.२९ र पुनर्बीमा कम्पनीले ६.०७ प्रतिशत लगानी गरेका छन् ।
यस्तो क्षेत्रमा जीवन बीमा कम्पनीले कुल लगानीको बढीमा ३० प्रतिशत लगानी गर्न पाउने प्राधिकरणको व्यवस्था छ भने निर्जीवन बीमा कम्पनीले बढीमा २० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । यस्तै, लघु बीमक ३० र पुनर्बीमा कम्पनीले २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्रमा जीवन बीमा कम्पनीले २.५५ प्रतिशत, निर्जीवन बीमा कम्पनीको २.८० प्रतिशत र लघु जीवन बीमा कम्पनीले ०.४ प्रतिशतल लगानी गरेका छन् । अन्य कम्पनीले भने लगानी गरेका छैनन् । प्राधिकरणले गरेको व्यवस्था अनुसार सो क्षेत्रमा कम्पनीले आफनो लगानीको बढीमा २० प्रतिशतसम्म लगानी गर्न पाउँने व्यवस्था छ ।
इन्भेष्टमेन्ट कम्पनीको सेयरमा जीवन बीमा कम्पनीले ०.३६ प्रतिशत, निर्जीवन बीमा कम्पनीले ३.८८ प्रतिशत र पुनर्बीमा कम्पनीले २.५५ प्रतिशत लगानी गरेका छन् । लघुबीमकले भने लगानी गरेका छैनन् । प्राधिकरणले बीमा कम्पनीहरुले इन्भेष्टमेन्ट कम्पनीको साधारण सेयरमा बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेका छन् ।
संस्थापक शेयरमा जीवन बीमा कम्पनीले दुई प्रतिशत, निर्जीवन बीमा कम्पनीले ३.८८ र पुनर्बीमा कम्पनीले दुई प्रतिशत लगानी गरेका छन् । यस्तै, सूचीकृत नभएको पब्लिक कम्पनीको सेयरमा जीवन बीमा कम्पनीले आफनो कुल लगानीको ०.२१ प्रतिशत लगानी गरेको छ । निर्जीवन बीमा कम्पनीले ०.०२ र पुनर्बीमा कम्पनीले १.२३ प्रतिशत लगानी गरेका छन् ।
पब्लिक कम्पनीको साधारण सेयरमा गर्ने लगानीको सीमा बढायो प्राधिकरणले
नेपाल बीमा प्राधिकरणले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा गरिने लगानीको सीमा भने बढाएर १५ प्रतिशत पुराएको छ । यसअघि यस क्षेत्रमा कम्पनीहरुले १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो । प्राधिकरणले गत साता बीमकको लगानी सम्बन्धी निर्देशन २०८२ जारी गर्दै लगानीको प्रक्रिया र सीमा फेरबदल गरेको छ ।
यस्तै, प्राधिकरणले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको बचतपत्र र ऋणपत्रमा गरिने लगानीको सीमा पनि बढाएको छ । नयाँ निर्देशन अनुसार जीवन बीमा कम्पनीले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्रमा कुल लगानीको कम्तीमा ३५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । प्राधिकरणले तोके अनुसार लगानी गर्न नसक्ने अवस्था आइपरेमा नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका बाणिज्य बैंक र पूर्वाधार विकास बैंकको मुद्धती निक्षेपमा लगानी गर्न सकिनेछ । यस अघि भने सो क्षेत्रमा कम्पनीहरुलाई आफनो कुल लगानीको न्यूनतम २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको थियो । यसैगरी नयाँ निर्देशनमा प्रदेश सरकार र स्थानीय सरकारको बचतपत्र र ऋणपत्रमा लगानी गर्नुपर्ने व्यवस्था भने हटाइएको छ ।
विकास बैंकको मुद्धती निक्षेप गरिने लगानीको सीमा बढाएर १५ प्रतिशत बनाइएको छ । यसअघि १० प्रतिशत सीमा तोकिएको थियो । वित्त कम्पनीको मुद्धती निक्षेपमा पनि बढीमा सात प्रतिशत लगानी गर्न सकिने व्यवस्था गरिएको छ । यस अघि पाँच प्रतिशतको सीमा तोकिएको थियो ।
मुना कुँवर