शीर्षकहरू

ऋण तिर्न सिटि होटलको हकप्रद शेयर, १ अर्ब ३४ करोड ९२ लाखको बिक्रीमा

ऋण तिर्न सिटि होटलको हकप्रद शेयर, १ अर्ब ३४ करोड ९२ लाखको बिक्रीमा

काठमडौं । सिटि होटल लिमिटेडले आज (भदौ २३ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो।

कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकम कम्पनीले ऋण भुक्तानी गर्न प्रयोग गर्नेछ।

नेपाल धितोपत्र बोर्डले गत साउन ४ गते कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको थियो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।