शीर्षकहरू

कामना सेवाले १५.७८ प्रतिशत लाभांश बाड्ने, अन्य विकास बैंकको के छ क्षमता ?

कामना सेवाले १५.७८ प्रतिशत लाभांश बाड्ने, अन्य विकास बैंकको के छ क्षमता ?

काठमाडौं । संचालनमा रहेका राष्ट्रियस्तरका विकासहरुमध्येमा गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने कामना सेवा विकास बैंक पहिलो बनेको छ । कामना सेवाले १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (करसमेत) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

आइतबार ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समिति बैठकबाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए । बैंकले गत आर्थिक वर्ष २०८१-८२ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत वर्ष बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी १९औं वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन् ।

राष्ट्रियस्तरका अन्य विकास बैंकहरुको के छ क्षमता ? 

आर्थिक वर्ष सकिएको ३ महिनाभित्र वाह्य लेखापरीक्षण गर्नुपर्ने व्यवस्था छ ।लेखापरीक्षण सकिएपछि कम्पनीका सञ्चालक समितिले औपचारिक बैठकमार्फत शेयरधनीलाई क्षमताका आधारमा धमाधम लाभांश घोषणा गर्नेछन् ।

विकास बैंकहरूले पुस मसान्तभित्र साधारणसभा गरी घोषित लाभांश पारित गर्दछन्। आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने व्यवस्था छ । साधारणसभाबाट लाभांश पारित गरेपछि मात्रै लगानीकर्ताले बोनस शेयर डिम्याट खातामा र नगद लाभांश बैंक खातामा पाउने छन् ।

गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार राष्ट्रियस्तरका ८ विकास बैंकमध्ये ज्योति विकास बैंक मात्र लाभांश दिन नसक्ने स्थितिमा रहेको छ । ज्योति विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । बाँकी ७ वटा विकास बैंक भने लाभांश दिन सक्ने अवस्थामा रहेका छन् ।

बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार राष्ट्रियस्तरका विकास बैंकहरुले यो पटक २० प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता बनाएका छन् । विकास बैंकहरुले पनि कर्जा असुलीमा सुधार गरेकाले यो पटक लाभांश क्षमता बढेको हो । कतिपय विकास बैंकको नाफा उच्च देखिए पनि लाभांश क्षमता कमजोर छ । प्राप्त भइनसकेको आम्दानी पनि नाफामा देखिने तर वितरणयोग्य नहुने भएकाले नाफा उच्च भए पनि लाभांश क्षमता कमजोर रहेको हो ।

राष्ट्रियस्तरका विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै २०.७५ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ । दोस्रो धेरै लाभांश क्षमता कामना सेवाको देखिएको छ । यो बैंकले १७.३० प्रतिशत लाभांश दिन सक्ने रहेकोमा बैंकले १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । 

यसैगरी समीक्षा वर्षका लागि शाइन रेसुंगाले १३.९६ प्रतिशत, गरिमाले १२.५९ प्रतिशत, सांग्रिलाले ११.६४ प्रतिशत, महालक्ष्मीले ११.५१ प्रतिशत र लुम्बिनीले ८.१३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएका छन्। ज्योति विकास बैंकले भने लाभांश दिन नसक्ने देखिएको छ । यो बैंकको वितरणयोग्य मुनाफा ७८ करोड ४ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

राष्ट्रियस्तरका विकास बैंकहरुले गत आर्थिक वर्ष २०८१।८२ मा ५ अर्ब ६० करोड ७७ लाख रुपैयाँ नाफा कमाएका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुको नाफा २२.०१ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष २०८०।८१ मा यी विकास बैंकहरुले ४ अर्ब ५९ करोड ६२ लाख रुपैयाँ नाफा कमाएका थिए । 

राष्ट्रियस्तरका विकास बैंकमध्ये ६ वटाको नाफा बढेको छ भने २ वटाको घटेको छ । सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ रहेको छ भने वृद्धिदरका हिसाबले गरिमा अग्रपंक्तिमा छ । मुक्तिनाथले १ अर्ब ५३ करोड ७४ लाख नाफा कमाएको छ ।  गरिमाको नाफा २०१.९७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको तुलनामा मुक्तिनाथको ३०.७० प्रतिशत, कामना सेवाको नाफा ९.१९ प्रतिशत, सांग्रिलाको ६.५१ प्रतिशत र महालक्ष्मीको १.२६ प्रतिशत, शाइन रेसुंगाको ०.४८ प्रतिशतले नाफा बढेको छ । तर, लुम्बिनीको ३०.१३ र ज्योतिको ९२.१४ प्रतिशतले घटेको छ ।

कसको लाभांश क्षमता कति ?

मुक्तिनाथ                      २०.७५ प्रतिशत 
कामना सेवा                    १७.३० प्रतिशत 
शाइन रेसुंगा                   १३.९६ प्रतिशत
गरिमा                        १२.५९ प्रतिशत
सांग्रिला                      ११.६४ प्रतिशत
महालक्ष्मी                     ११.५१ प्रतिशत 
लुम्बिनी                       ८.१३ प्रतिशत 
ज्योति विकास                  नसक्ने