काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ भने हालसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो ।
समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरुले गरेको प्रदर्शनमा सरकारी दमन हुँदा सोमबार १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ४ सय २२ जना घाइते उपचाररत छन् ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौै बाहिर सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनको मृत्यु भएको छ ।
अन्यको भने पहिचान नखुलेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डण्ट डा बद्री रिजालले जानकारी दिए । उनका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन् ।
काठमाडौँको सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, केएमसीमा दुई, त्रिवी शिक्षण अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको थियो ।
सरकारले जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध गर्ने निर्णय गरिसकेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
आर्थिकन्यूज