शीर्षकहरू

क्रान्ति भएर नयाँ प्रणाली बन्दा संक्रमण र नयाँ रुपान्तरणको व्यवस्थापन कसरी गर्ने ?

क्रान्ति भएर नयाँ प्रणाली बन्दा संक्रमण र नयाँ रुपान्तरणको व्यवस्थापन कसरी गर्ने ?

क्रान्ति भएर नयाँ प्रणाली बन्दा कसरी संक्रमण व्यवस्थापन र नयाँ रुपान्तरण हुन्छ भन्ने बारे विधिशास्त्री केल्सन र जोसेफ राजको मत महत्वपूर्ण छन्। केल्सनले कुनै पनि कानूनी प्रणालीले आधारभूत मानक Grundnorm बाटै वैधता प्राप्त गर्ने विश्वास व्यक्त गर्दछन्। अर्थात् संविधान राज्यको कानून प्रणालीको वैधता दिने आधार मानक बनेर बसिरहेको हुन्छ।

जब क्रान्ति र सैनिक कब्जा हुन्छ, पुरानो कानूनी प्रणालीको प्रभावकारिता टुट्छ र नयाँ व्यवस्था लागू हुन्छ। अहिले नेपालमा अवस्था भनेको क्रान्ति भएको र सेनालाई अन्तरिम ढंगले जिम्मा लगाइएको अवस्था छ। तर सेनाले कू गरेको वा संवैधानिक रुपमा सेनालाई जिम्मा दिइएको अवस्था भने होइन।  यदि नयाँ व्यवस्था सफलतापूर्वक कार्यान्वित हुन्छ र प्रभावकारी हुन्छ, भने पुरानो संविधान हराएर नयाँआधार मानक वा Grundnorm स्थापित हुन्छ।

त्यसैले, क्रान्तिको सफलता र प्रभावकारिताले मात्र कानूनी प्रणाली परिवर्तन हुने कि नहुने भन्ने मापदण्डका रुपमा भूमिका खेल्छ भन्ने केल्सनको मत हो।  क्रान्ति सफल भए नयाँ कानूनी प्रणाली वैध हुन्छ असफल भए पुरानै कानूनी प्रणाली वैध रहन्छ।

यस्तै विधिशास्त्री जोसेफ राजले चाहिँ क्रान्ति हुनासाथै स्वत  व्यवस्था र कानून प्रणाली परिवर्तन हुँदैन भन्ने मान्यता प्रस्तुत गर्छन्। कानूनी प्रणालीलाई उनले प्राधिकार बगतजयचष्तथ र त्यो देशका कानूनका स्रोतहरू sources of Law को आधारमा हेर्नुपर्ने दृष्टिकोण राख्छन्। 

एउटा कानूनी प्रणालीमा मान्य कानुन के हो भन्ने कुरा तय गर्ने पहिचान वा मान्यता दिने नियम rule of recognition  त्यहाँको संविधानका अतिरिक्त अन्य मूल्य मान्यता पनि हुन्छन्। 

क्रान्ति हुँदा यदि नयाँ व्यवस्थाले पुराना कानुन र संस्थागत स्रोतलाई अझै पनि मान्यता दिन्छ भने, त्यो उही कानूनी प्रणालीको निरन्तरता हो र त्यस्तो अवस्थामा फगत केही कानुन परिवर्तन मात्र भएको मानिन्छ तर पूरै कानून प्रणाली परिवर्तन हुँदैन। 

तर यदि नयाँ शासनले पुराना स्रोतलाई अस्वीकार गरेर नयाँ आधार र मान्यताका नियम स्थापना गर्छ भने, त्यो नयाँ कानूनी प्रणाली हो। कानूनको स्रोत नै नयाँ लिएर नयाँ प्राधिकारलाई मान्न थालेपछि मात्र नयाँ प्रणालीमा रुपान्तरण हुन्छ।

त्यसैले जोसेफ राजका लागि कानूनी प्रणाली परिवर्तनको आधार भनेको कानूनलाई मान्यता र अधिकार दिने संस्थागत संरचना र मान्यता दिने नियम समेतको परिवर्तन हो।

त्यसैले क्रान्ति गरेपछि कसरी परिवर्तन गर्ने हो, के गर्न खोजेको होरु कुन तरिकाबाट दिगो ढंगले परिवर्तन व्यवस्थापन र व्यवस्थित गर्ने हो भन्ने पनि क्रान्तिकारीहरूसित योजना, भिजन, सुझबुझ, सैद्धान्तिक र व्यवहारिक स्पष्टता पनि जरुरी हुन्छ।

नत्र भने अर्को चरणको प्रयोगशाला मात्र बनिरहने छ देश। त्यसैले आन्दोलनकारी, सेना लगायत सबै पक्षले सबै क्षेत्रका विज्ञहरू संग सर्वपक्षीय छलफल गरी कसरी परिवर्तन र निकास दिने हो तय गर्नु जरुरी छ।

देशभरि कर्फ्यु लाएर आम नागरिकलाई थुनेर पाँच हजार दश हजार नागरिकलाई खुलमखुला कानून हातमा लिन दिई छोडेर आक्रमण र आगजनी गराई अहिले पनि कर्फ्यु नै लगाई तिनै पाँच दश हजार नागरिकको मत मात्र प्रतिनिधित्व गरी देशको समग्र शासकीय, स्वरूप र व्यवस्थाबारे निर्णय गर्दा बाँकी जनमतको प्रतिनिधित्व कसरी होला कि नहोला र दीर्घकालीन रुपमा शान्ति र समाधान होला कि नहोला भन्ने गम्भीर प्रश्न छ।

क्रान्तिमा विनाश गर्न क्षणभरमा हुन्छ, रचना गर्न दशकौं लाग्छ। त्यसैले ठन्डा दिमागले सोचेर अघि बढौं। नत्र अब पान्डोराज बक्स खुल्दै जाँदा अनेक खालका विषालु कीरा, सर्प, भाइरसको संक्रमणमा देश जाने खतरा छ।

नयाँ नेतृत्व कसको भनेर देशलाई भाँडाकुटी खेल चाहिँ नबनाऔं। देशका स्थायी संरचना जिरोमा पुर्याएपछि जो आएपनि अहिले पाउने त्यसले अपजस मात्र हो।

शिवजीले कालकुट हलाहल पिएजस्तो विष पिउन तयार नेतृत्व चाहिन्छ अहिले। त्यो गम्भीर विवेचना विना लहडमा चयन गरेर पछि पछुताउने ठाउँ बाँकी रहने छैन। (लेखक खरेल कानुन व्यवसायी हुन्)