काठमाडौं । भष्ट्राचार विरुद्ध मुलुक भर सुरु भएको जेनजी आन्दोलनले बैंक तथा वित्तीय संस्थामा मानवीय तथा भौतिक क्षति भएको छ । आन्दोलनले बैंकका कर्मचारीको घाइते हुनुका साथै बैंकका शाखा कार्यालय र एटिएम मेसिन तोडफोड भएका छन् ।
आन्दोलनकारीले नियतबस बैंक माथि आक्रमण भने नगरेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए । ‘मुलुकमा अन्य भौतिक सम्पतिको जति क्षति भएको छ । त्यति बैंकिङ क्षेत्रको भएको छैन,’ उनले भने । जेनजीले बैंक भनेको आम सर्वसाधारण कै हो भन्ने कुरा बुझेको उनले बताए ।
तर, केही गलत नियत भएका व्यक्तिले एटिएम मेसिनबाट रकम निकाल्ने मनसायले तोडफोड गरेको र सरकारी कार्यालयमा तोडफोड हुँदा केही बैंकहरुमा क्षति पुगेको उनले बताए ।
गत भदौ २४ गते कृषि विकास बैंकको कर्मचारीलाई गोली लागेको बैंकका प्रवक्ता हिमालाल पौडेलले बताए । ‘कार्यालय सहयोगी अशोक श्रेष्ठको टाउकोमा गोली लागेको छ । उनको थापाथली स्थित न्यूरो अस्पतालमा बुधबार नै अपरेसन भएको छ,’ उनले भने । अपरेसन सफल भएको र अहिले उनी होसमा आएका छन् ।
अन्य भौतिक क्षतिको भने बैंकले विवरण संकलन गरी रहेको उनले बताए । हालसम्म बैंकमा प्राप्त भएको विवरण अनुसार कीर्तिपुरमा रहेको एटिएम मेसिन पूर्ण रुपमा तोडफोड भएको छ । एटिएम मेसिन बैंकको नियन्त्रणमा भए पछि मेसिनबाट कति रकम चोरी भयो भन्ने निर्क्यौल नभएको उनले बताए । यसैगरी अन्य स्थानमा भएका केही एटिएम मेसिन र एक्सटेन्सन काउन्टरमा पनि क्षति भएको छ । साथै सरकारी कार्यालयमा भएका काउन्टरहरुमा पनि क्षति पुगेको उनले बताए ।
एभरेष्ट्र बैंकको दुई वटा एटिएम मेसिन तोडफोड भएको बैंकको प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए । उनका अनुसार बैंकको टेकु र नक्साल स्थित भाटभटेनी नजिक रहेको एटिएम मेसिनमा तोडफोड भएको छ । त्यस्तै, सिंहदरबार भित्र रहेको बैंकको एउटा ईभी पनि जलेको छ ।
ग्लोबल आइएमई बैंकको पाँच वटा एटिएम मेसिन, कार्यालय, केही यातायात र मालपोत कार्यालयमा भएका काउन्टर पनि क्षतिग्रस्त भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले बताए । उनका अनुसार बैंकको थापाथली स्थित कान्तिपुर पब्लिकेशन बिल्डिङमा भएको कार्यालय क्षतिग्रस्त भएको छ । सो बिल्डिङमा बैंकको पहिलो र छैठौ तलामा कार्यालयमा थियो । पहिलो तलामा बैंकको शाखा कार्यालय थियो । शाखा कार्यालय आंशिक क्षति भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए । तर, छैठौं तलामा भएको इन्टरनल अडिट र टेड फाइनान्स शाखा पूर्ण रुपमा क्षतिग्रस्त भएको उनले जानकारी दिए । यि दुवै तल बैंकका आफ्नै हुन् ।
बैंकको थानकोट, थापाथली, सर्वोच्च अदालत, विराटनगर भाटभटेनीमा र गैडाकोटको एटिएम मेसिन तोडफोड भएको छ । यस्तै, पोखरा, घोराही, तुल्ससीपुर, इटहरी, जनकपुर र नारायणघाटको मालपोत र यातायात कार्यालयमा भएको काउन्टर पनि क्षतिग्रस्त भएको छ ।
एटिएम मेसिन तोडफोड भए पनि पैसा भने चोरी नभएको उनले बताए । मेसिन अति सुरक्षित तवरले बनाइने भएकाले पैसा निकाल्न सहज नभएको उनीहरुको भनाई छ ।
यस्तै, कान्तिपुर पब्लिकेसनको तेस्रो तलामा भएको बैंकर एसोसिएसनको कार्यालयमा पनि केही क्षति पुगेको छ ।
नबिल बैंकको सात वटा एटिएम र दुई वटा एक्सटेन्सन काउन्टरमा क्षति पुगेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए । उनका अनुसार काठमाडौं, विरगन्ज लगायतका स्थानमा भएका एटिएम मेसिनमा क्षति पुगेको छ । यस्तै, सरकारी कार्यालयमा भएका काउण्टर क्षतिग्रस्त भएका छन् ।
प्रभु बैंकको चार वटा एटिएम र सात वटा एक्सटेन्सन काउन्टर क्षतिग्रस्त भएका छन् । बैंकका अनुसार धरान, नारायणघाट, लैनचौर र महाराजगन्जमा एटिएम मेसिन क्षतिग्रस्त भएको छ । धरान, नारायणघाट र महाराजगन्जमा क्षतिग्रस्त भएको एटिएम मेसिन भाटभटेनी भित्र रहेको बैंकले जनाएको छ । यसैगरी सिन्धुली, दमक, भद्रपुर, विराटनगर लगायतका स्थानमा भएको एक्सटेन्सन काउन्टर क्षतिग्रस्त भएको बैंकले जनाएको छ ।
यस्तै, आन्दोलनमा एनआईसी एसिया बैंकका १४ वटा एटीएम मेसिन, पाँच शाखा कार्यालय, ६ वटा काउण्टर तोडफोड भएको छ । कुमारी बैंकको दुलेगौंडा शाखा कार्यालयमा क्षति पुगेको छ । हिमालयन बैंकको बत्तीसपुतली शाखा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । भैरहवा एयरपोर्ट, आईटी प्लाजा कमलादी, हिल्टन होटल परिसर, विराटनगरको भाटभटेनीको र बुटवलको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको छ । राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखा, दुहबी शाखा, भैरहवा शाखा र केही एटीएम मेसिन तोडफोड भएका छ ।
नेपाल बैंकको काँकडभिट्टा, गौरादह, ताप्लेजुङमा गरी तीन वटा काउण्टर र एउटा एटिएम मेसिनमा क्षति पुगेको छ । माछापुच्छ्रे बैंकको भरतपुर मालपोत, सिंहदरबार परिसर, अख्तियार दुरूपयोग अनुसन्धान आयोग परिसर गरी तीन वटा एटीएम मेसिनमा क्षति पुगेको छ । सिटिजन्स बैंकको नक्सालस्थित भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको जनाएको छ ।
गत भदौ २३ गते देखि मुलुकभर जेनजी आन्दोलन सुरु भएको छ । आन्दोलनमा ३४ जनाको मृत्यु भएको छ । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका सरकारी कार्यालय क्षतिग्रस्त भएका छन् ।
मुना कुँवर