शीर्षकहरू

भैरहवामा उद्योगी व्यवसायीको संयुक्त शान्ति सद्भाव र्‍याली

भैरहवामा उद्योगी व्यवसायीको संयुक्त शान्ति सद्भाव र्‍याली

 भैरहवा । देशभर जेन्जी समूहको आन्दोलनका कारण तन्किएको अशान्ति र अव्यवस्थाबीच शुक्रबार भैरहवामा एक भिन्न दृश्य देखियो। भारतीय सीमावर्ती क्षेत्र बेलहियाबाट विभिन्न संघसंस्थाका प्रतिनिधिहरू शान्ति सन्देशका लागि पैदल यात्रामा निस्किए। र्‍यालीमा सहभागीहरुको अनुहारमा आन्दोलनका हिंसात्मक गतिविधिप्रति असन्तोष र शान्तिपूर्ण निकासप्रति विश्वास झल्कन्थ्यो।

बेलहियाबाट सुरु भएको र्‍याली सडकभरि शान्तिको नारा लगाउँदै भैरहवाको देवकोटा चोकमा पुगेर रोकियो। “मुलुकलाई निकास दिन हुलदङ्गा होइन, वार्ता र सहमति चाहिन्छ” भन्ने भावनाले सम्पूर्ण यात्रालाई आत्मसात गरेका थिए। लुम्बिनी प्रेस क्लबको नेतृत्वमा आयोजित र्‍यालीमा सिद्धार्थ  उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्स, सिद्धार्थ सञ्जाल, सिद्धार्थ सार्वजनिक यातायात प्रालि, नेपाल भन्सार एजेन्टसँग सिद्धार्थनगर लगायतका विभिन्न सामाजिक संघसंस्थाहरूको प्रतिनिधित्व रहेको थियो।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाजीले लुम्बिनीको ऐतिहासिक सन्देश स्मरण गर्दै भने, “विश्वमा जस्तै देशभित्र पनि शान्ति फैलियोस् भन्ने उद्देश्यले यो र्‍याली आयोजना गरिएको हो।”

 सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले  सहभागी विभिन्न संघसंस्था एकताबद्ध भएर समाजमा भाइचारा, सद्भाव र सहकार्य कायम गर्न यो पहल गरिएको बताए ।

र्‍यालीमा सहभागीहरूमा उत्साह झल्कन्थ्यो। उनीहरू सडकमा हिँडिरहेका मात्र थिएनन् । शान्तिपूर्ण समाजको आकांक्षा बोकेर नागरिकको साझा आवाज पनि मुखरित गरिरहेका थिए।