काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आजदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएकोछ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँबराबरको ३४.७८३ प्रतिशत हकप्रद शेयर ल्याएको थियो । त्यस रकमबराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले १०: ३.४७८३ को अनुपातमा ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गरेको थियो ।
उक्त हकप्रदमा आवेदन नपरेको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो । जसमा संस्थापक समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता र सर्वसाधारणतर्फको ४ हजार ४६८.७६ कित्ता गरी कुल १ लाख ९७ हजार ४२.७६ कित्ता रहेको छ ।
बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता माग गर्दै आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । सोभन्दा बढीका कित्ताका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले एनआईएमबि एस क्यापिटलको केन्द्रीय कार्यालय, लाजिम्पाटका साथै पोखरा, बुटवल, वीरगंज र विराटनगर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न सक्नेछन् भने सोही स्थानमा बोलपत्र आवेदन बुझाउन पनि सकिनेछ ।
आर्थिकन्यूज