काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको निर्जीवन बीमा कम्पनीमा ठूलो दाबी पर्ने आकलन गरिएको छ । नेपालको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो दाबी पर्ने बीमकहरुले अनुमान गरेका छन् । प्रदर्शनका क्रममा व्यवसायीक भवन, निजी घर, सरकारी सवारी साधन, निजी सवारी साधन र गोदाममा क्षति पुगेको छ ।
क्षतिग्रस्त भएका सम्पतिमध्ये भाटभटेनी स्टोर र हिल्टन होटलको सबैभन्दा ठूलो दाबी पर्ने नेपाल बीमक संघका अध्यक्ष एवम् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदावर क्षेत्रीले बताए । भाटभटेनीको २१ वटा स्टोरमा क्षति पुगेको छ । जसमध्ये १२ वटा पूर्ण रुपमा नष्ट भएको छ । यस्तै, हिल्टन होटलमा मात्रै आठ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।
भाटभटेनी स्टोरको आइजीई प्रुण्डेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा सबैभन्दा धेरै रकमको बीमा भएको छ । अन्य केही कम्पनीमा थोरै रकमको बीमा भएको संघले जनाएको छ । हिल्टन होटलको भने दि ओरियण्टल इन्स्योरेन्समा इन्स्योरेन्स भएको छ । भाटभटेनीको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा भए पनि हिल्टन होटलको भने तीन अर्बको मात्रै पुनर्बीमा भएको कम्पनीले जनाएको छ ।
कम्पनीहरूमा परेको दाबीको प्रारम्भिक अनुमान अर्को साता मात्रै गर्न सकिने बीमक संघका अध्यक्ष एवम् सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वैदावरले बताए । ‘हामीले सबै बीमितलाई क्षति भएको सम्पतिको बीमा दाबी गर्न आउन भनेका छौ । आइतबार सोमबार देखि दाबीको विवरण आउन सक्छ,’ उनले भने । तर, नेपालको इतिहासमा हालसम्मकै ठूलो बीमा दाबी पर्ने अनुमान गरिएको उनले बताए । बीमा कम्पनीहरूले क्षतिको मूल्यांकनका लागि सर्भेयरहरु परिचालन गरेको संघले जनाएको छ । संघका अध्यक्ष वैदावरका अनुसार काठमाडौं भित्रको भएको क्षतिको मूल्यांकनका लागि सर्भेयरहरु परिचालन गरिएको छ ।
जेनजी प्रदर्शनका क्रममा भएका क्षतिको ठूलो दाबी पर्ने नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष प्रा.डा.फत्त बहादुर केसीले बताए । ‘२०७२ सालको भुकम्पको भन्दा पनि ठूलो दाबी पर्न सक्छ । अहिले धेरै ठूला संरचनामा क्षति पुगेको छ । मुलुक भर नै क्षति भएको कारण बीमा कम्पनीहरूमा ठूलो दाबी पर्न सक्छ,’ उनले भने ।
कस्तो क्षतिको बीमा दाबी भुक्तानी हुन्छ ?
जेनजी प्रदर्शनका क्रममा मानवीय तथा भौतिक क्षति भएको छ । प्रदर्शनका क्रममा ५१ जनाको मृत्यु भएको छ भने सबै खालको भौतिक संरचनामा क्षति पुगेको छ । कतिपय संरचना पूर्ण रुपमा नष्ट भएका छन् । तर, क्षतिग्रस्त भएका सबै संरचनाको बीमा दाबी भुक्तानी नहुने बीमकहरु बताउँछन् ।
प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचनाको बीमा दाबी भुक्तानी नहुने बीमकहरु बताउँछन् । अधिकांश सरकारी संरचनाको बीमा नै नभएको संघका अध्यक्ष वैदावरले बताए । ‘केही नयाँ सरकारी भवनको बीमा भएको हुनसक्छ । अन्यथा अधिकांश भवनको बीमा नै भएको छैन,’ उनले भने ।
यस्तै, क्षतिग्रस्त भएका अधिकांश निजी घरको पनि बीमा नभएको बीमकहरुको अनुमान छ । प्रदर्शनका क्रममा विभिन्न राजनीतिक दलका पार्टी कार्यालय पूर्ण रुपमा नष्ट भएका छन् । राजनीतिक दलका नेता र केही व्यवसायीको पनि निजी घर नष्ट भएको छ । तर, सरकारले निजी घरको बीमा अनिवार्य गरेको छैन । त्यसैले अधिकांश घरको पनि दाबी नपर्ने बीमकहरुको आकलन छ ।
निजी घरको हकमा बैंकबाट कर्जा लिएर खरिद वा निर्माण गरिएको घरको मात्रै बीमा हुन सक्ने अनुमान छ । तर, यस्तो घरको पनि अण्डर इन्स्योरेन्स भएको बीमकहरु बताउँछन् । बीमितहरुले घरको मूल्य अनुसार भन्दा पनि बैंकबाट लिइएको कर्जाको मात्रै बीमा गर्छन् । यस्तो अवस्थामा क्षति भएको मूल्य बराबरको दाबी रकम पाइदैन । क्षति भएको प्रतिशत र कर्जा रकममा तुलना गरी बीमा दाबी भुक्तानी गरिन्छ ।
सवारी साधनको पनि क्षति भए अनुसार बीमा दाबी नपर्ने बीमक संघको अनुमान छ । मोटर बीमामा हुलदंगा तथा आतंकबाद जोखिम समूह बीमालाई अनिवार्य गरिएको छैन । अर्कोतर्फ मोटर बीमामा तेस्रो पक्ष मोटर बीमा मात्रै गर्ने चलन छ । त्यसैले मोटरको ठूलो क्षति नपर्ने संघको अनुमान छ । यी बाहेक व्यवसायीक भवन र गोदामको दाबी पर्न सक्ने अनुमान गरिएको छ । सम्पति बीमा अनुसांगिक बीमाको दाबी पनि पर्ने सक्ने अनुमान गरिएको छ । अधिकांश उद्योगहरूले अनुसांगिक बीमा गरेका हुन्छन् । अनुसांगिक बीमा भनेको कुनै क्षति भएपछि कम्पनीले सञ्चालन नआउँदासम्म उद्योगले व्यहोर्नुपर्ने घाटाको बीमा हो । उद्योगहरूले तीन देखि ६ महिनासम्मको अनुसांगिक बीमा गर्ने प्राधिकरणका उप निर्देशक राम कोजुले बताए ।
दाबीको ६५ प्रतिशत पुनर्बीमा कम्पनीले व्यहोर्ने
जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको दाबी रकममध्ये ६५ प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्नेछ । बाँकी ३५ प्रतिशत भने सम्बन्धित बीमा कम्पनीले नै व्यहोर्नुपर्नेछ । यो सीमा १० करोड रुपैयाँसम्मको हकमा मात्रै लागू हुने नेपाल पुनर्बीमा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले बताए । उनका अनुसार हुलदंगा तथा आतंकबाद जोखिम समूहको बीमा अन्तर्गत प्रति जोखिममा १० करोड रुपैयाँसम्मको दाबीमा ३५ प्रतिशत बीमा कम्पनी र ६५ प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्नुपर्नेछ । १० करोड देखि ६ अर्ब रुपैयाँसम्मको प्रति दाबीमा भने सतप्रतिशत पुनर्बीमा कम्पनीले व्यहोनुपर्नेछ ।
तर, क्षति भएका सबै सम्पतिको हुलदंगा तथा आतंकबाद जोखिम समूहको बीमा नभएको पुनर्बीमा कम्पनीको आकलन छ । बीमा कम्पनीहरुले सम्पतिको पुनर्बीमा गर्दा हुलदंगा तथा आतंकबाद जोखिम समूहको सुरक्षणका लागि थप बीमाशुल्क भुक्तानी गर्नुपर्छ । सम्पति बीमामा यसलाई अनिवार्य गरे पनि मोटर बीमामा भने यसलाई अनिवार्य गरिएको छैन । तसर्थ बीमा मोटर बीमा दाबीको हकमा सबैको हुलदंगा तथा आतंकबाद जोखिम समूह बीमा नभएको हुन सक्ने कम्पनीको दाबी छ । यस्तै, सम्पति बीमामा प्राधिकरणले यसलाई अनिवार्य गरे पनि पछिल्लो समय बीमा कम्पनीहरुले नेपालमा यस्तो जोखिम नभएको भन्दै यस्तो खालको पुनर्बीमा गर्न छोडेका छन् । तसर्थ जोखिम समूहको पुनर्बीमा नभएको खण्डमा नेपाल पुनर्बीमा कम्पनीले दाबी भुक्तानी गर्न जिम्मेवार हुनेछैन । यदी कम्पनीले बीमितले जोखिम समूह बापत बीमाशुल्क लिएको खण्डमा बीमा कम्पनीले नै त्यसको जिम्मेवार रहने नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
भष्ट्राचार विरुद्ध मुलुकभर भएको जेनजीको प्रदर्शनका क्रममा ठूलो क्षति भएको छ । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका सरकारी भवनहरु क्षतिग्रस्त भएका छन् । यस्तै, राजनीतिक पार्टी कार्यालय देखि निजी भवन, व्यवसायीक स्टोर, शोरुम पनि नष्ट भएका छन् ।
होटल संघ नेपाल (हान) का अनुसार दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको छ । हानले संकलन गरेको प्रारम्भिक विवरण अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड होटलहरू क्षतिग्रस्त भएका छन् । होटलहरूमा भएको तोडफोडले करिब २५ अर्ब भन्दा बढी आर्थिक क्षति भएको अनुमान गरिएको छ ।
यसबाट प्रभावित सदस्य होटलहरू मर्मत संभार, पुनर्निर्माण नगरी संचालनमा आउन नसक्ने हुँदा करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजीरोटीमा समेत प्रत्यक्ष प्रभाव परेको हानले जनाएको छ ।
यस्तै, भाटभटेनीका २१ वटा स्टोरमा क्षतिग्रस्त भएको छ । जसमध्ये १२ वटामा आगजनी गरेका छन् भने ९ वटामा तोडफोड तथा लुटपाट गरेका छन् । आगजनी भएका स्टोरहरुमा रहेको सम्पूर्ण सामानहरु, नगद र भवन पूर्णरुपमा क्षति भएको छ । काठमाडौंको नक्सालमा रहेको स्टोर र गोदाम पूर्णरुपमा नष्ट भएका छन् । त्यस स्टोरको भवनसमेत ध्वस्त भएको छ । यसैगरी, चुच्चेपाटीमा रहेको भाटभटेनीको स्टोर पनि पूर्ण रुपमा जलेर नष्ट भएको छ । महाराजगंज र कोटेश्वरको स्टोरपनि पूर्णरुपमा ध्वस्त भएका छन् । काठमाडौं उपत्यका बाहिर रहेका स्टोरहरुमा पनि पूर्णरुपमा क्षति पुगेको छ । धरान, विराटनगर, दमक, बिर्तामोड, हेटौडा, भरतपुर र पोखरामा रहेका भाटभटेनीमा पनि क्षति भएको हो । जसमध्ये धरान, विराटनगर, बिर्तामोड, दमकमा रहेका भाटभटेनीका स्टोरहरु जलेर खरानी बनेका छन् ।
त्यसैगरी, कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, विराटजंग, धनगढी, इटहरी र भैरहवामा रहेको भाटभटेनीको स्टोरहरूमा तोडफोड तथा लुटपाट भएको छ । उक्त स्टोरको भवनका सिसाहरू फुटेका छन् भने सामानहरू छिरलिएका छन् । भाटभटेनीका कुल २८ वटा स्टोरहरू रहेका छन् । जसमध्ये ७ वटा भने सुरक्षित रहेका छन् ।
मुना कुँवर