भैरहवा । जेन्जी पुस्ताले गरेको आन्दोलनले देशभरका सरकारी कार्यालयहरूलाई ठूलो क्षति पु¥याएको छ । विकासे कार्यालयदेखि राजस्व संकलन गर्ने कार्यालय तथा स्थानीय तहका भवनहरू क्षतिग्रस्त भएका छन् । भैरहवा भन्सार कार्यालयमा त अझ ठूलो क्षति पुगेको छ, जहाँ मुलुककै दोस्रो ठूलो भन्सार नाका सञ्चालन हुँदै आएको थियो ।
भैरहवा भन्सार कार्यालय भवनमा भएको क्षति देख्दा जो कोही पनि अचम्ममा पर्छ । झ्याल–ढोका भाँचिएका छन्, भित्तामा कालो धुवाँको दाग छ, भित्र राखिएका कागजात र फर्निचरहरू बिग्रिएका छन् । तर, सेवाग्राहीलाई असहज नहोस् भन्ने भावना राख्दै भन्सारका कर्मचारीहरूले कार्यालय अगाडि नै त्रिपाल टाँगेर ल्यापटप राखेर काम सुरु गरेका छन् । कर्मचारीहरू कागजात मिलाउँदै व्यस्त देखिन्छन् । सेवाग्राहीहरू पनि त्यही त्रिपालमुनि लाइनमा उभिएका छन् ।
नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु पन्थीले भन्सारमा ठुलो क्षति भएपनि भन्सार एजेन्ट संघले भन्सारका कर्मचारीहरुलाई सहयोग गर्ने गरी सामानहरु पस गराउन सहजिकरण गरेको बताए । उद्योग व्यवसायीहरू पनि भन्सार खुलाउनको लागि सहजिकरण गरि रहेका छन् । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले चाडपर्व नजिकिँदै जाँदा भन्सारमा आएर सामान रोकिँदा उद्योगी व्यवसायीले समस्या भोग्न नपरोस् भनेर सहजताका लागि पहल गरि रहेको बताए ।
नेपाल भन्सार एजेन्ट महासङ्घका अध्यक्ष प्राचीन थैवले पनि अहिलेको कठिन अवस्थामा सहजीकरण नै पहिलो प्राथमिकता भएको बताउँदै क्षतिग्रस्त ठाउँबाट सेवा दिन थालेको बताए । भन्सार प्रमुख शिवलाल न्यौपानेले भने सेवाग्राहीलाई सहज बनाउनसबैभन्दा बढी ध्यान दिइएको बताए । उनले त्रिपाल टाँगेर भए पनि काम अघि बढाएको बताए ।
यस्ता दृश्यले एकैसाथ दुःख र आशा दुवै देखाउँछ । एकातिर भन्सार भवन क्षतिग्रस्त छ, अर्कोतिर त्रिपालमुनि सेवाग्राहीहरूलाई सेवा दिन व्यस्त कर्मचारीहरूको अनुहारमा जिम्मेवारीको चमक झल्किन्छ । यो विपद्को घडीमा सरकारी कर्मचारी, व्यवसायी र एजेन्टहरू एकै स्थानमा भेला भएर काम गरिरहेको दृश्य देशभरका लागि प्रेरणादायी बनेको छ ।
पुनहरि बेल्बासे