काठमाडौं । गत भदौ २३ र २४ गते काठमाडौं भएको जेन जी प्रदर्शनका क्रममा दुई दर्जन भन्दा बढी होटलहरूमा २५ अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको छ । होटल एसोसियसन अफ नेपाल (हान) का अनुसार हिल्टन होटलको मात्रै ८ अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको छ । क्षतिग्रस्त भएका होटलहरुमध्ये सबैभन्दा बढी काठमाडौंको नक्साल स्थित हिल्टन होटलको भएको हो ।
तर, हिल्टनले पाँच अर्ब रुपैयाँ बराबरको मात्रै बीमा गरेको पाइएको छ । होटलको दि ओरियण्टल इन्स्योरेन्स कम्पनीमा पाँच अर्ब बीमांक बराबरको बीमा गरेको कम्पनीका सूचना अधिकारी मान बहादुर ढकालले बताए । होटलको क्षति मूल्यांकनका लागि कम्पनीले सर्भेयर पठाउने तयारी गरेको उनले बताए । सर्भेयरले दिएको क्षतिको मुल्याङ्कन अनुसार कम्पनीले दाबी भुक्तानी गर्नेछ ।
हानले दिएको क्षतिको विवरण अनुसार हिल्टनको अण्डर इन्स्योरेन्स भएको छ । दि ओरियण्टल इन्स्योरेन्स कम्पनीले भने अण्डर इन्स्योरेन्स अनुसार गणना गरी दाबी भुक्तानी गर्नेछ । तर, होटलको क्षतिको मूल्याङकन अहिले गर्न नसकिने कम्पनीका सूचना अधिकारी ढकालले बताए । ‘सर्भेयरले गएर मूल्याङ्कन गरेपछि मात्रै हामीले क्षतिको बारेमा भन्न सकिन्छ । अहिले हामीले क्षतिबारे बोल्न मिल्दैन,’ उनले भने । यदि पाँच अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएमा अण्डर इन्स्योरेन्स भएको मानी दाबी भुक्तानीको गणना गरिने उनले बताए ।
बीमाको सिद्धान्त अनुसार सम्पतिको तत्कालीन समयमा मूल्य बराबरको बीमा गर्नुपर्ने प्रावधान छ । तर, सम्पतिको मूल्य भन्दा कम बीमांक बराबरको बीमा गरेमा त्यसलाई अण्डर इन्स्योरेन्स भएको भनिन्छ । अण्डर इन्स्योरेन्स भएमा बीमितले पाउने दाबी भुक्तानी रकम पनि कम हुन्छ ।
यदि हिल्टन होटल आठ अर्बको क्षति भएको छ । तर, पाँच अर्ब बीमांक रकम बराबरको मात्रै बीमा भएको छ भने त्यसलाई अण्डर इन्स्योरेन्स भएको मानिन्छ । अब कम्पनीले दाबी भुक्तानी गर्दा क्षति भएको आठ अर्ब र बीमा भएको पाँच अर्बको गणना गर्छ । आठ अर्बको पाँच अर्ब करिब ६२ प्रतिशत हुन आउँछ । यदि होटलमा सतप्रतिशत क्षतिग्रस्त भएको हो भने ६२ प्रतिशत दाबी भुक्तानी हुन्छ । तर, धेरै जस्तो अवस्थामा सतप्रतिशत क्षति भएको हुँदैन ।
अर्थात् यदि होटलमा ७५ प्रतिशत क्षति भएको छ भने कम्पनीले ६२ प्रतिशतलाई सतप्रतिशत मानी त्यसको ७५ प्रतिशत मात्रै होटललाई भुक्तानी गर्ने कम्पनीका सूचना अधिकारी ढकालले बताए ।
तर, दाबी भुक्तानीमा भने दि ओरियण्टल इन्स्योरेन्सले सबै भुक्तानी गर्नु नपर्ने भएको छ । कम्पनीले बीमांक रकम बराबरको हुलदंगा तथा आतंकबाद जोखिम समूह बीमा पुलमा पुनर्बीमा गरेको दाबी गरेको छ । त्यसैले होटलमा भएको दाबीको सबै भुक्तानी नेपाल पुनर्बीमा कम्पनीले गर्ने भएको छ । नेपाल पुनर्बीमा कम्पनीले पनि विदेशी कम्पनीसँग पुनर्बीमा गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीले जारी गर्ने हुलदंगा तथा आतंकवाद जोखिम समूह बीमा अनुसार भने प्रति घटना १० करोड रुपैयाँ बीमा दाबीमा पुनर्बीमा कम्पनीले ६५ प्रतिशत पुनर्बीमा कम्पनीले व्यहोर्ने र ३५ प्रतिशत बीमा कम्पनीले भुक्तानी गर्नुपर्ने हुन्छ । तर, १० करोड रुपैयाँ भन्दा माथि ६ अर्ब रुपैयाँसम्मको प्रति घटनाको दाबीमा भने सतप्रतिशत नै नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्नुपर्नेछ । एक करोड रुपैयाँ भन्दा माथिको दाबीमा नेपाल पुनर्बीमा कम्पनीले भने सर्भेयर परिचालन गर्ने प्रावधान छ ।
मुना कुँवर