काठमाडौं । जेनजीको आन्दोलन पश्चात देशले नयाँ प्रधानमन्त्री सँगै नयाँ अर्थमन्त्री समेत पाइसकेको छ । जब आन्दोलन हुँदै थियो र आन्दोलनको पहिलो दिन नै गोली चल्यो भोलिपल्टबाट यसले धितोपत्र बजारलाई असर गर्न सक्छ र बन्द गरिनुपर्छ भन्नेमा सरोकारवाला सबैको एकमत भयो र बजार बन्द गरियो । अहिले आएर हेर्दा सो निर्णय सही समयमा सही निर्णय गरेको देखियो ।
दुई दिनको लागि बन्द गरिएको बजार खोल्न सक्ने अवस्था नदेखिए पछि नेप्सेले असोज २ गतेसम्म बजार बन्द रहने सूचना जारी गर्यो । यो बीचमा सरकार नयाँ आइसक्यो, अन्य कुराहरु लगभग खुलिसक्यो तर अझै पनि दोस्रो बजार खुल्ने कि नखुल्ने भन्नेमा दुविधा छ । यस सम्बन्धमा दुई थरी धारणा देखिएको छ । एउटा पक्ष, बजार खुल्नु पर्छ र यसलाई आफ्नो लयमा चल्न दिनुपर्छ र अर्को पक्ष केही समयका लागि बजार बन्द गरिनुपर्छ र पोलिसिमा केही परिवर्तन ल्याइसकेपछि बजार खोल्नुपर्छ भन्ने देखिएको छ । नेप्सले पहिलेको अवस्थामा निकालेको नोटिसलाई नै कार्यान्वयन गर्ने अथवा त्योभन्दा अगावै बजार खोल्ने भन्ने विषयमा सरोकारवालाहरुसँग छलफल गरिरहेको भन्ने समाचारहरु आएका छन ।
बजार सधैँ बन्द गर्ने भन्ने हुँदैन, बजार खोल्नुपर्छ । वास्तवमा, धितोपत्रको दोस्रो बजार भनेको सकेसम्म बन्द नगर्ने बजार बनाउनुपर्छ । कोभिडको बेला अहिलेको भन्दा नाजुक समय थियो र अहिलेको जस्तो पूर्ण रुपमा अनलाईनबाट कारोबार गर्न सक्ने अवस्था पनि थिएन । शेयर खरिद बिक्री बापतको रकम अनलाईनबाट ट्रान्सफर हुँदैनथ्यो । त्यतिबेला पनि कोभिड सुरु हुन थालेपछि सरोकारवाला पक्षहरु जस्तोः ब्रोकर, इन्भेस्टर, नेप्सेका प्रतिनिधि, सिडिएसका प्रतिनिधि र सेबोनको प्रतिनिधि बसेर गरिएको छलफलपछि अनिश्चितकालका लागि धितोपत्रको दोस्रो बजारलाई बन्द गरियो ।
तर, लामो समयसम्म बजार बन्द गर्दा के समस्या देखियो भने जसले सेयर बेचेको छ, उसले पैसा माग्ने र जसले सेयर किनेको छ, उसले कोभिडले निम्त्याएको स्थितिले गर्दा ब्रोकरहरुलाई पैसा बुझाउन नसक्ने अवस्था सिर्जना भयो । त्यतिबेला पनि बजार खोल्नुपर्छ भन्ने एक पक्ष र बन्दनै गरिनुपर्छ भन्ने दुई प्रकारका धारणाहरु थिए बजारको आफ्नो लय आफैनै नै तय गर्ने हो तर लिनुपर्ने र दिनुपर्ने पैसाका लागि पनि बजार सुचारु गर्नुपर्छ भन्नेमा हामी ब्रोकरहरु थियौँ । लामो समय भइसकेपछि अब बजार खोल्नुपर्छ भनेर लगानीकर्ताहरुले पनि साथ दिएपछि धितोपत्र बोर्ड बजार खोल्ने निर्णयमा पुग्यो ।
तर, त्यो समयमा एउटा गल्ती के भयो भने बजार सामान्य रुपमा नखोलि घट्दा पनि थोरै घटोस् र पेनिक नहोस् भन्ने हिसाबले कारोबार समय पनि घटाईयो र सर्किट ब्रेकर पनि घटाईयोे । जसले गर्दा बजार थोरै अंक मात्र घट्दा पनि बन्द हुन पुग्यो र बजार खुलेको दुई÷तीन दिन नहुँदै पुनः बन्द गर्नुपर्ने अवस्था आयो ।
त्यसपछि लगभग दुई महिना बजार बन्द नै रह्यो । लामो समय बजार बन्द रहेको र विश्वका धेरै बजारहरु बन्द नभएका तथा बन्द भएका बजारहरु पनि खुलिसकेपछि हाम्रो बजार खोल्नका लागि धितोपत्र बोर्डले एउटा कमिटी गठन गरेको थियो । ब्रोकर एसोशियसनको अध्यक्षको हिसाबले म त्यो कमिटीमा सदस्यको रुपमा थिएँ । नेप्सेको प्रतिनिधि, सिडिएससिका प्रतिनिधि, ब्रोकर एसोशियसनको प्रतिनिधि र धितोपत्र बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा कमिटी बनाएको थियो । उक्त कमिटीले बजार खुलाउनका लागि केके गर्न सकिन्छ र बजार खुलाउँदा अपनाउनुपर्ने सावधानीहरु केके हुन् भन्ने विषयमा बृहत छलफल गरिएको थियो । जसमा दीर्घकालिन रुपमा गर्नुपर्ने कामहरु र तत्काल गर्नुपर्ने केही कामहरु थिए । तत्काल गर्नुपर्ने काममा अनलाइनलाई ब्यवस्थित गर्न शेयर खरिद बिक्रीको भुक्तानी पनि अनलाइनबाटै लिने र दिने गरा,ैँ लगानीकर्तालाई अनलाइनबाट कारोबार गर्न लगाऔँ । यति गर्यौैँ भने बजार कमसेकम सुरु हुन्छ र यसले विस्तारै आफ्नो ट्रेण्ड पक्रिन्छ भन्नेमा थियौँ ।
अन्ततः २०७६ असार १५ गते बजार पुनः खुल्यो । खुलेको पहिलो दिन शुरुको समय धेरै घटेको बजार सम्हालिदैं बन्द हुँदा बजार थोरै मात्राले घटेर बन्द भयो । हामीले बजारलाई आफैँ स्वतस्फूर्त रुपमा चल्न दिनुपर्छ र हाम्रो आजको दिनमा विद्यमान जे नियम छ, ट्रेडिङ टाइम चार घण्टा र सर्किट बे्रकरहरुको नियम जे छ, त्यसलाई यथास्थितिमा राख्नुपर्छ जसले लगानीकर्तालाई सामान्य रुपमा बजार खुल्यो र यसले आफ्नो लय आफैँ समात्छ भन्ने सन्देश जाओस् भन्ने उद्देश्यले त्यो निर्णय गरेका थियौँ । वास्तवमा यो निर्णयले लगानीकर्तालाई बजार सामान्य रुपमा खुल्यो भन्ने सन्देश दियो भने बजार पनि खुलेको दिन शुरुको समयमा धेरै घट्दै अन्तमा सम्हालिएर थोरै मात्रै अंक घटेर बन्द भयो । भोलिपल्टदेखि बजारले आफ्नो लय समाति बढेर इतिहास रचेको थियो ।
अहिले बजार दुई घण्टामात्र खोल्ने, सर्किट ब्रेकर घटाउने कुराहरु पनि सुन्नमा आएका छन । मेरो बुझाईमा यो गलत हुनसक्छ । किनभने, हामीले बजार सामान्य रुपमा खुल्न दिएनौँ भने यसले बजारमा नकारात्मक सन्देश जान्छ । दोस्रो भनेको सर्किट बे्रकर घटाउँदै गर्दा केही स्टक आजको दिनमा १० प्रतिशतसम्म घटेर वा त्यो भन्दा पहिले नै खरिद कर्ता आई बजार फर्किन पनि सक्छ । तर हामीले सर्किट ब्रेकरको नियम परिवर्तन गरिदियौं भने त्यही १० प्रतिशत भेटाउन केहि दिन लाग्ने भयोे ।
मिडियामा पनि दैनिक बजार घटेका समाचार आउन सक्छ । त्यसकारण यथास्थितिमा बजार खुलाउनु पर्छ भन्ने मेरो सुझाव हो । बजारलाई जोगाउनका लागि हामीले योभन्दा पहिले प्राकृतिक विपत्ति भूकम्प र कोभिडमा भोगेका पाठहरुबाट सिक्नुपर्छ । यी दुवै विपत्ति भोगेर आइयो र त्योभन्दा पछाडिका बजार अलटाइम हाई बनाएको छ । अलटाइम हाई बनाउनमा धेरै कुराहरु जोडिएका हुन्छन् । जस्तोः भूकम्पको बेला जति पैसाहरु बाहिरबाट आयो, तरलता बजारमा फालाफाल भयो, तत्काल ठूलो रकम अन्य क्षेत्रमा लगानी गर्ने अवस्था नभएकाले त्यो पैसा पनि डाइभर्ट भएर बजारमा आइदियो । र, कोभिडमा पनि स्थिति यस्तै नै थियो । त्यो बेला अनलाइनमार्फत विदेशमा रहेका नेपालीहरु जोडिन सके, जसले गर्दा बजारमा धेरै पैसा आइदियो, बजारलाई एकदमै सपोर्ट पनि भयो र बजार अल टाइम हाइ भई ३१ सय ९८ सम्म पुग्यो । त्यो बजारको अहिलेसम्मको इतिहासमा यो नै अल टाइम हाई हो ।
अहिलेको सन्दर्भमा स्थिति त्योभन्दा अलिकति फरक त हो तर बजारलाई यथास्थितिमा चल्न दिईएन भने यसले झनै नकारात्मक स्थिति सिर्जना गर्छ । बजारमा ब्रोकर, नियामक र लगानीकर्ताले गर्न सक्ने कुराहरु गर्न तर्फ लाउने र डिमान्ड साईडलार्ई बलियो बनाउन पोलिसिका कुराहरुमा जोड दिनु जरुरी हुन्छ । अहिले अन्धाधुन्ध रुपमा जुन आइपिओहरु आउन खोजेका छन्, त्यसलाई पनि नियम बनाएर अलि व्यवस्थित गर्ने र लगानीकर्तालाई पनि आउने आइपिओले बजारलाई बिगार्दैन, ती कम्पनीहरु राम्रा हुन्छन् भनेर विश्वस्त गराउनको लागि यो राम्रो मौका हुन सक्छ । राष्ट्र बैंक सँग बैंक तथा फाईनान्स कम्पनीहरुले सजिलो सँग दोस्रो बजारमा खरिद बिक्री गर्न सक्ने नियम बनाईदिन अनुरोध गर्न सकिन्छ । लामो समय सम्म कार्यान्वयनमा आउन समस्या देखिएको ब्रोकर मार्जिन लेन्डिङ्गलाई तुरुन्तै कार्यान्वयनमा ल्याउने गरि ब्यवस्था गर्न सकिन्छ ।
अहिले हामीले अर्थमन्त्रीको रुपमा जसलाई पाएका छौँ, वहाँ यो बजारलाई नजिकबाट बुझेको पोसिलिगत कुराहरु बुझाउनै नपर्ने ब्यक्ति हो । त्यसैले यो अवस्थामा सकारात्मक कुराहरु पनि धेरै छन् । यसलाई हामीले नकारात्मक दृष्टिकोणले मात्र नभई सकारात्मक दृष्टिले पनि हेर्नुपर्छ भन्ने तर्फ जानुपर्छ ।
आर्थिकन्यूज