शीर्षकहरू

साउनमा मात्रै भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स

साउनमा मात्रै भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा मात्रै १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँको रेमिट्यान्स आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको साउन महिनाको नेपालको वित्तीय अवस्थामा यस्तो देखिएको हो ।

आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई  १ खर्ब ३६ अर्ब ६० करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब  ४८ अर्ब ८ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सब्ख्या ४४ हजार  ४६६ र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सब्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार  ६४७ रहेको थियो ।