काठमाडौं । जेनजीका आन्दोलनकारीहरुले शोरुम जलाएर ध्वस्त पारिदिएपछि सिप्रदी ट्रेडिङले टेन्ट टाँगेर सेवा सुचारु गरेको छ । भदौ २४ गते जेनजीहरुले थापाथलिस्थित सबैजसो गाडीका शोरुमहरु जलाएका थिए ।
जहाँ टाटा ब्राण्डको आधिकारिक बिक्रेता कम्पनी सिप्रदीको पनि सबै अफिस जलेर ध्वस्त भएको थियो । कम्पनीले शोरुम जलेपनि सेवा पुन सुचारु गरेको छ । शोरुमा भएको सबै ७ वटा गाडी र अफिसका सामानहरु जलेर पूर्णरुपमा ध्वस्त भएको सिप्रदीले टेन्ट टाँगेर सेवा पुन सुचारु गरेको हो ।
कम्पनीकी बजार प्रबन्धक अभिरुचि गिरिका अनुसार शनिबारदेखि सेवा पुनः सूचारु गरिएको हो । शोरुम सँगै पार्किङ एरियामा टेन्ट टाँगेर सेवा पुन सुरु गरिएको उनले जानकारी दिइन् । उनले भनिन्, 'शोरुम जलेर ध्वस्त भएको छ, शोरुम सँगै खालि स्थानमा टेन्ट टाँगेर शनिबारदेखि सेवा पुनः सुचारु गरेका छौँ ।’
ग्राहकहरूको आवश्यकता र सहजतालाई ध्यानमा राखेर टेन्ट टाँगेर भएपनि सेवा दिएको उनको भनाई छ । ग्राहकको सहजता र सेवा गर्नु नै आफुहरुको धर्म भएकाले टेम्पोरेरी रुपमा टेन्ट टाँगेर सेवा दिइएको उनको भनाई छ ।
उनले भनिन्, 'हामीले आफ्नो अवस्था भन्दा पनि ग्राहकको सेवा र सुविधा हेर्नु पर्दछ । त्यसकारण हामीले टेन्ट टाँगेर भएपनि सेवा दिएका हौँ ।’
शोरुमसँग टाटाको ४ वटा ईभी र ३ वटा आईस भेहिकल जलेर ध्वस्त भएको बजार प्रबन्धक गिरिले जानकारी दिइन् । उनका अनुसार ३० लाख रुपैयाँ पर्ने टियागोदेखि १ करोड ३० लाख रुपैयाँ पर्नै सफारी गाडीसम्म जलेर ध्वस्त भएको छ । औसतमा प्रति गाडी ६० लाख रुपैयाँ पर्न आउँछ ।

उक्त ७ वटा गाडीको ध्वस्त हुँदा मोटामोटी ४ करोड २० लाख रुपैयाँ क्षति भएको उनले बताइन । उक्त गाडीहरूको बीमा पनि गरिएको छ । मोटर बाहेक अन्य के कति क्षति भयो भन्नेबारे यकिन तथ्यांक आउन बाँकी रहेको उनको भनाई छ । 'शोरुमको सबै उपकरण लगायत सम्पत्तिहरु ध्वस्त भएको छ । कति क्षति भयो भनेर अहिले यकिन रुपमा भन्न सक्ने अवस्था छैन । बीमा सर्भेयरहरु आएर मूल्यांकन गर्दै हुनुहुन्छ,’उनले भनिन्, 'दुई चार दिनभित्र क्षतिको यकिन विवरण आउँछ ।’



आर्थिकन्यूज