शीर्षकहरू

बीमा दाबी रकमका आधारमा श्रेणी अनुसारका बीमा सर्भेयर परिचालन गर्न संघको आग्रह

बीमा दाबी रकमका आधारमा श्रेणी अनुसारका बीमा सर्भेयर परिचालन गर्न संघको आग्रह

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक पूर्वाधारको बीमा सर्भे गर्दा बीमा दाबी रकमको आधारमा सर्भेयर नियुक्त गर्न बीमा सर्भेयर संघ, नेपालले सुझाव दिएको छ । संघले नेपाल बीमा प्राधिकरणलाई मंगलबार पाँच बुँदे सुझाव बुझाउँदै बीमा दाबी रकमको आधारमा श्रेणी अनुसारका सर्भेयर नियुक्त गर्न सुझाव दिएको हो ।

प्राधिकरणले सर्भेयरलाई चार श्रेणी विभाजन गरेको छ । १५ वर्षभन्दा बढी अनुभव भएका सर्भेयरलाई ‘क’ वर्गको सर्भेयरमा राखेको छ ।  १० वर्ष भन्दा बढी अनुभव भएका सर्भेयरलाई ‘ख’ वर्ग, पाँच वर्ष भन्दा बढी अनुभव भएका सर्भेयरलाई ‘ग’ वर्ग र सो भन्दा मुनिकालाई ‘घ’ वर्गमा राखेको छ । सर्भेयरको अनुभवको आधारमा श्रेणी तोकिएको हुँदा बीमा दाबी रकमको आधारमा श्रेणी अनुसारका सर्भेयर खटाइनु पर्ने संघका अध्यक्ष मोहन पुरुष ढकालले बताए । ‘ठुलो दाबी हुने घटनामा अनुभवी सर्भेयर खटाइनु राम्रो हुन्छ । त्यसैले दाबी रकमको आधारमा श्रेणी अनुसारका सर्भेयर परिचालन गर्न आग्रह गरेका हौ,’ उनले भने । 

यस्तै, संघले न्यूनतम कागजातको आधारमा प्रतिवेदन बुझाउन सक्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ । अहिलेको संकटकालीन अवस्थालाई मध्यनजर गरी न्यूनतम कागजपत्रको आधारमा पनि सर्भे प्रतिवेदन बुझाउन मिल्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । बीमा कम्पनीले सोही सर्भेयरको प्रतिवेदनलाई आधारमा मानी दाबी भुक्तानी गर्नु पर्ने संघको माग छ । ‘कुनै सरकारी कागजातको आधारमा सर्भे गर्न सकिने व्यवस्था गर्नुपर्छ । यतिबेला सबै अस्तव्यस्त छ । सामान्य अवस्थामा जस्तो सबै कागजपत्र पुराउन नससिकने हुन सक्छ । त्यसैले कुनै पनि सरकारी निकायले दिएको कागजपत्रको आधारमा सर्भे गर्न अनुमति दिनुपर्छ,’ उनले भने । 

बीमा कम्पनीरुले समानुपातिक रुपमा सर्भेयर खटाउनु पर्ने संघले माग गरेको छ । प्राधिकरणबाट लाईसेन्स प्राप्त गरेका दुई हजार २०० सर्भेयर छन् भने करिब एक हजार जना सर्भेयरको लाइलेन्स लिनको लागि पाइपलाइनमा छन् । अर्थात् अहिले भएको घटनाको बीमा सर्भेको लागि पर्याप्त सर्भेयर छन् । त्यसैले कम्पनीले समानुपातिक रुपमा सर्भेयर परिचालन गर्नुुपर्ने संघका अध्यक्ष ढकालले बताए । ‘यस अघिको घटनामा कम्पनीहरुले निश्चित सर्भेयरलाई धेरै वटा घटनाको सर्भेको लागि परिचालित गर्ने र कुनै सर्भेयरले भने कुनै पनि सर्भेको काम नपाउने गरेको देखिएको छ । यसो गर्दा एउटालाई धेरै कामको चाप हुँदा निश्चित समयमा नै प्रतिवेदन नआउने गरेको पाइएको छ । तसर्थ कामको समानुपातिक वितरणले समयमा नै प्रतिवेदन आउने र अर्कोतिर सबैले सर्भेयरले काम गर्ने मौका पाउँछन्,’ उनले भने  । 

यसको लागि प्राधिकरणले प्रत्येक हप्ता कम्पनीसँग सर्भेयरको परिचालन गरिएको विवरण पनि माग्नुपर्नेछ । कम्पनीले बुझाएको सूचीको प्राधिकरणले विश्लेषण गर्नुपर्ने उनले बताए । यसो गरेमा कामको समान वितरण हुने उनले बताए । 

त्यस्तै, संघले इनहाउस बीमा सर्भेलाई हटाउनु पर्ने सुझाव दिएको छ । हालको व्यवस्था अनुसार निश्चित रकमको बीमा सर्भे बीमा कम्पनीकै दाबी विभागका कर्मचारीले गर्ने गरेका छन् । तर, जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको बीमा दाबीको सर्भे गर्दा भने इनहाउसको अभ्यासलाई पूर्ण रुपमा हटाएर बीमा सर्भेयरबाट नै सर्भे गराउनु पर्ने सुझाव दिएका छन् । सर्भेयरको प्रतिवेदन बीमा दाबी भुक्तानी नगर्न पनि संघले सुझाव दिएको छ ।

साथै विदेशी सर्भेयरबाट बीमा दाबी सर्भे गर्दा नेपाली सर्भेयरलाई पनि सहभागी गराउनु पर्ने संघले माग गरेको छ । बीमा कम्पनी र पुनर्बीमा कम्पनी बीचको सम्झौता अनुसार निश्चित रकमको सर्भे गर्दा पुनर्बीमा कम्पनीले ले पनि सर्भेयर परिचालन गर्ने प्रावधान छ । तर, जेनजी प्रदर्शनबाट सृजित दाबीको पुनर्बीमा भने नेपाल पुनर्बीमा कम्पनीमा नै भएकोले नेपाल पुनर्बीमा कम्पनीले पनि सर्भेयर परिचालन गर्न सक्नेछ । तर, नेपाल पुनर्बीमा कम्पनीले पनि रेट्रोशेसन गरेको विदेशी पुनर्बीमा कम्पनीले पनि चाहेमा आफना सर्भेयर पठाउन सक्नेछन् ।