शीर्षकहरू

नेपाली दूतावास भन्छ : युएईले भिजिट र श्रमिक भिसा रोकिएको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन

नेपाली दूतावास भन्छ : युएईले भिजिट र श्रमिक भिसा रोकिएको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन

काठमाडौं । जेनजी प्रदर्शनको पछि संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालीको लागि भिजिट र श्रमिक भिसा बन्द गरेको समाचारहरू प्रकाशित भएपनि भिसा रोकेको सम्बन्धमा कुनै आधिकारिक जानकारी प्राप्त नभएको नेपाली दूतावासले जनाएको छ ।

युएई स्थित नेपाली दूतावासका श्रम काउन्सलर दिपेन्द्र पौडेलका अनुसार भिसा रोकिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको बताए । तर, दूतावासलाई कुनै पनि आधिकारिक जानकारी नआएको उनले स्पष्ट पारे । 

गत २३ र २४ गते नेपालमा भएको जेनजी प्रदर्शन पछि युएईमा भिजिट भिसा जाने नेपाली युवाको संख्या बढ्न सक्ने भन्दै युएई सरकारले भिजिट भिसा रोकेको समाचार सञ्चारमाध्यममा प्रकाशित भएका छन् । 

सोमबार युएईले नेपालीको लागि भिजिट भिसा रोकेको भन्ने सूचना सञ्चारमाध्यमबाट नै थाहा पाएको वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराईले बताए । तर, आधिकारिक जानकारी भने नपाएको उनले बताए । 

युएई नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य मुलुक पर्छ । युएईका विभिन्न राज्यमा करिब चार लाख नेपाली कार्यरत छन् ।